लापोर्ट सिटीमा- खेलकुद - कान्तिपुर समाचार

लापोर्ट सिटीमा

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले क्लब इतिहासकै सर्वाधिक बढी रकम खर्चंदै एथलेटिक बिल्बाओका डिफेन्डर एमेरिक लापोर्टलाई भित्र्याएको छ । प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार नयाँ डिफेन्डर लापोर्टको आगमनले क्लबको उपाधि जित्ने अभियान अझै बलियो हुने बताए ।

सिटीले लापोर्टलाई भित्र्याउन साढे ६ करोड युरो खर्चेको अनुमान गरिएको छ । २३ वर्षीय फ्रान्सेली खेलाडी जारी सिजनमा ग्वार्डिओलाले अनुबन्धन गरेका छैटौं खेलाडी हुन् । उनले सन् २०२३ सम्म सम्झौता गरेका छन् ।

क्लबसँग आबद्ध भएपछि लापोर्टले खुसी व्यक्त गरे । ‘म यहाँ आउन पाउँदा निकै खुसी छु । सिटी ठूलो लक्ष्य बोकेर अगाडि बढिरहेको युरोपको प्रतिष्ठित क्लब हो,’ उनले थपे, ‘म ग्वार्डिओलाको प्रशिक्षणमा खेल्दै क्लबलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु ।’ क्लबका निर्देशक सिकी बेगरस्टेनले प्रशिक्षकको रणनीतिमा भिज्नसक्ने लापोर्टलाई लामो समय पछयाएपछि भित्र्याउन सफल भएको बताए ।

प्रकाशित : माघ १७, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

न्यु डायमन्डको दोहोरो जित

महिला डबल लिग भलिबल
कान्तिपुर संवाददाता

काठमाडौँ — शिवम् न्यु डायमन्ड एकेडेमी १३ औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबलको दोस्रो चरणअन्तर्गत मंगलबार दोहोरो जित निकालेको छ । 

ढोरपाटन कप महिला भलिबलअन्तर्गत दोस्रो चरणको खेलमा मंगलबार पोखराको टप्स र आर्मी (सेतो) का खेलाडी भिड्दै ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गरेको थियो । पुलिसलाई २५–१८, १९–२५, २५–२२, २५–१२ को सेटमा हराएको पुलिसले मेघौली क्लबमाथि सजिलो जित हात पार्‍यो । न्यु डायमन्डले २५–७, २५–९, २५–९ को सोझो सेटमा दोस्रो खेल जितेको हो ।
मंगलबारै विभागीय टिम एपीएफ क्लबले पनि मेघौली क्लबलाई हराएको छ । एपीएफले मेघौलीलाई २५–८, २५–१८, २५–३ को सोझो सेटमा हरायो । नेपाल आर्मीले श्रीगाउँ खेविस दाङमाथि २५–१९, २५–११, २५–९ को सेटमा विजय पाएको हो ।
पोखरेली टोली टप्स उमाविले आर्मीलाई २५–१५, २५–१५, २५–१९ को सोझो सेटमा हरायो । दोस्रो चरण सुरु हँुदा न्यु डायमन्डले १३ खेलबाट ३७ अंक जोडेको छ । अपराजित एपीएफले ११ खेलबाट ३२ अंक जोड्न सफल भयो । तेस्रो स्थानमा रहेका पुलिस क्लब र टप्स उमाविले १२ खेलबाट समान २७ अंक जोडेका छन् ।

प्रकाशित : माघ १७, २०७४ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×