कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मनाङ उपाधि नजिक

वेदराज पौडेल

इटहरी — तीन वर्षपछि घरेलु फुटबलमा फर्केका सन्तोष साहुखलको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लब बिहीबार दोस्रो सेमिफाइनलमा गरिफा स्पोर्टिङ क्लब कोलकातालाई ३–० ले हराउँदै मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । 

उपाधिका लागि शनिबार मनाङले चिरप्रतिद्वन्द्वी थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली सर्वाधिक १२ लाख रुपैयाँ पुरस्कारका लागि दाबेदार बनेका छन् ।


मनाङले एक महिनाअघि दुहबीमा सम्पन्न मनमोहन स्मृति गोल्डकप फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जितेको थियो । यस प्रतियोगितामा आर्मीलाई रोक्दै मनाङ फाइनल पुगेको हो ।


इटहरी रंगशालामा बिहीबार गरिफा र मनाङले पहिलो हाफ गोलरहित बराबरी खेले मन्ध्यान्तर हुनैलाग्दा गरिफाका खेलाडीले रातो कार्ड पाएर मैदान छाडेका थिए । ४४ औं मिनेटमा गरिफाका अबु बोकाइले मनाङका सन्तोष साहुखललाई खतरनाक ट्याकल गर्दा रेफ्री कविन व्यञ्जनकारबाट रातो कार्ड पाएका थिए । कार्डपछि केहीबेर खेल तनावपूर्ण बन्यो । बोकाइ मैदानबाहिर निस्कन ढिला गर्दा खेल केहीबेर हुन सकेन ।


दोस्रो हाफमा १० खेलाडीसाथ मैदान उत्रेको गरिफाको बाँकी समय सुखद रहेन । दोस्रो मिनेटमै सन्तोषले गोल गर्दै मनाङलाई अगाडि बढाए । काउन्टर अट्याकमा मनाङका खेलाडीले हानेको बल गरिफाका डुम्बिआले नियन्त्रणमा लिन खोज्दा फितलो प्रहार गरे । त्यसमै नजिकै रहेका सन्तोषले प्रहार गर्दै गोलमा परिणत गरे । विदेशमा रहेकाले साहुखल ३–४ वर्ष नेपाली फुटबलभन्दा बाहिर थिए ।


दोस्रो हाफको २२ औं मिनेटमा पुन: सन्तोषले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्स अगाडि भिक्टरले मिलाइदिएको पासमा सन्तोषले गोल गरेका हुन् । मनाङका लागि तेस्रो गोल वैकल्पिक खेलाडी विमल रानाले गरे । उनले दोस्रो हाफको ३० औं मिनेटमा मध्यभागबाट अगाडि बढाउँदै लगेको बलमा गोल गरेका थिए । विमल कप्तान अनिल गुरुङको सट्टा मैदान छिरेका थिए ।


गरिफाले सुरुबाटै लय गुमाएपछि मनाङको दबाबमा पर्‍यो । पहिलो हाफमा टिमवर्कमा नदेखिँदा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले दोस्रो हाफमा रणनीति बदले । उनले टिमवर्कमा खेल्ने र स्कोर निकाल्ने गरी बनाएको रणनीतिले काम गर्‍यो । ५ नाइजेरियन खेलाडी उतारेको गरिफाले सर्टपास र लङ पाससमेत मिस गरेको थियो । राम्रो बल निकाले पनि पोस्टमा पुगेर फितलो प्रहार गर्दा उनीहरू चुकेका थिए ।


गरिफाका डीजीवी, डुम्बिया, मिथुन साह, सुमित मुखर्जीले पाएका सुन्दर अवसर सदुपयोग गर्न सकेनन् । मनाङका भिक्टर, अनिल गुरुङ, मुसा, सुवास गुरुङका प्रहार चुकेका थिए ।


म्यान अफ द म्याच मनाङका सन्तोष साहुखल भए । उनले १० हजार रुपैयाँ पाए ।

गरिफाका प्रशिक्षक प्रणव चक्रवर्ती पोस्टम्याच कन्फ्रेन्समा समेत उपस्थित भएनन् ।


मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पहिलो हाफमा टिम गेम देखाउन नसक्दा स्कोर निकाल्न नसकेको र दोस्रो हाफमा टिम गेम खेलेकाले स्कोर निस्किएको बताए । बक्सभित्र ब्याक टयाकलमा पेनाल्टी दिनुपर्नेमा फ्रिकिक मात्र दिइएकोबारे उनले रेफ्रीप्रति असन्तुष्टि पोखे ।

गरिफाका खेलाडीले खुलेआम रेफ्रीलाई गालीगलौच गर्दा पनि कार्ड नदिनु कमजोरी भएको लोप्साङको तर्क थियो ।


शनिबारको फाइनलमा मनाङविरुद्ध थ्रीस्टार खेल्नेछ ।


प्रकाशित : माघ ११, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?