कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मलेसियामा हिमालयन गोल्डकप हुने

मलेसिया — मलेसियाको ऐतिहासिक राष्ट्रिय सम्पदा सूचीमा रहेको ‘स्टेडियम मर्डेका’ मा पहिलोपल्ट नेपाली फुटबल प्रतियोगिता हुने भएको छ । यसअघि दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलकुद एवं सांगीतिक कार्यक्रम हुने गरेको उक्त स्टेडियममा चिनियाँ नयाँ वर्षको 
अवसरमा ‘हिमालयन फुटबल गोल्डकप २०१८’ हुने भएको हो ।

मलेसियामा हिमालयन गोल्डकप हुने

मलेसियामा स्थापना भएको ‘हिमालयन फुटबल क्लब’ ले ‘एकता र मित्रताका लागि फुटबल’ नारासहित फेब्रुवरी १६ देखि १८ सम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताका क्रममा मलेसियाली प्रहरी फुटबल क्लबका खेलाडी र नेपाली खेलाडीबीच मैत्रीपूर्ण खेल गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीलाई क्रमश: २५ हजार, १० हजार र ५ हजार रिंगिटसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए । उनले भविष्यमा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गरेर मलेसियामा कार्यरत नेपालीको समस्या समाधानमा समेत ध्यान दिइने बताए ।


क्लबले मलेसियामा बर्सेनि फुटबल प्रतियोगिता गर्दै आएको छ । यसपालि गर्न लागिएको

यो तेस्रो प्रतियोगिता हो । तर नेपालीले ठूलो रकम करिब ३० लाख रुपैयाँ खर्चेर यस स्टेडियममा गर्न लागेको यो पहिलो फुटबल प्रतियोगिता हो ।


आयोजकका अनुसार फेब्रुअरी ३ सम्म हुने टिमका लागि १५ सय ५१ रिंगिट दर्ता शुल्क राखिएको छ । प्रतियोगितामा २० देखि २४ टोलीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।


सन् १९५७ अगस्टमा तत्कालीन बेलायती उपनिवेशबाट मलेसिया स्वतन्त्र हुँदा तत्कालीन प्रधानमन्त्रीले यसै स्टेडियमबाट मुलुक स्वतन्त्र भएको घोषणा गरेका थिए । करिब २० हजार सिट क्षमताको यस स्टेडियमलाई सन् २००७ मा राष्ट्रिय सम्पदा सूचीमा राखिएको थियो ।

प्रकाशित : माघ ८, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?