१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कोहली वर्षका उत्कृष्ट क्रिकेटर

एएफपी

दिल्ली — विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले विराट कोहलीलाई वर्षका उत्कृष्ट क्रिकेटर चुनेको छ । क्रिकेटका सबै संरचनामा उस्तै प्रदर्शन गरेपछि भारतीय कप्तान उत्कृष्ट बनेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रदान गर्ने वार्षिकी अवार्डमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ वर्षका उत्कृष्ट टेस्ट खेलाडी बने । 

कोहली वर्षका उत्कृष्ट क्रिकेटर

कोहली सर ग्यारफिल्ड सोबर्स ट्रफी अवार्ड पाउने भारतका चौथो क्रिकेटर हुन् । यसअघि भारतीय खेलाडीमा राहुल द्रविडले सन् २००४, सचिन तेन्दुलकरले २०१० र रविचन्द्रन आश्विनले २०१६ मा यो अवार्ड पाएका थिए । ‘यो मेरा लागि ठूलो सम्मान हो,’ कोहलीले एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘सम्भवत: यो विश्व क्रिकेटको सबैभन्दा ठूलो अवार्ड हो । दुई भारतीय खेलाडीले लगातार यो अवार्ड पाउनुले यसलाई अझ विशेष बनाएको छ ।’


कोहली वर्षको उत्कृष्ट वान डे अन्तर्राष्ट्रिय ब्याट्सम्यानमा चुनिए । २०१२ पछि उनले दोस्रोपल्ट यो अवार्ड जितेका हुन् । मतदानको समयावधि २०१६ को सेप्टेम्बर २१ देखि २०१७ को अन्तसम्म कोहलीले ७७.८० को औसतमा ८ शतकसहित २ हजार २ सय ३ टेस्ट रन बनाएका थिए । उनले वान डेमा ७ शतकसहित १ हजार ८ सय १८ रन बनाएका थिए ।


सबै देशका उत्कृष्ट खेलाडीलाई समावेश गरेर बनाइएको आईसीसी टेस्ट र वान डे टिमको नेतृत्व पनि २९ वर्षे कोहलीलाई दिइएको छ । कोहलीको कप्तानीमा भारतले घरेलु टेस्ट शृंखलामा लगातार जित निकालेको थियो । तर, हाल दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत तीन टेस्ट शृंखलामा २–० ले पछि परिसकेको छ । खेलाडी छनोट र विदेशी भूमिमा कमजोर प्रदर्शनका कारण दक्षिण अफ्रिकासँगको पराजयपछि भारतीय टिमको आलोचना

भइरहेको छ ।


सन् २०१५ मा पनि यो पुरस्कार जितेका स्मिथले १५ महिनाको मनोनयन अवधिमा १६ टेस्टमा १ हजार ८ सय ७५ रन बनाएका थिए । ५ शतक प्रहार गर्दा उनको औसत ७८.१२ को थियो । पछिल्ला ५ वर्षमा अस्ट्रेलियाका खेलाडीले चारपल्ट यो अवार्ड जितिसकेका छन् । २०१३ मा माइकल क्लार्क र २०१४ मा मिचेल जोन्सन वर्षका टेस्ट खेलाडीमा चुनिएका थिए ।


भारतका लेग स्पिनर युजभेन्द्र चाहलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बने । उनले फेब्रुअरीमा इंग्ल्यान्डसँग २५ रन खर्चेर ६ विकेट लिएका थिए । पाकिस्तानका हसन अली इमर्जिङ खेलाडी र अफगानिस्तानका रशिद खान एसोसिएट वर्ष खेलाडीमा चुनिए ।

प्रकाशित : माघ ५, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?