कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हँसिला रेफ्री

सधैं हँसिलो मुद्रामा मैदानमा देखिने लव खत्रीले गत साता आफ्नो रेफ्री करिअर टुंग्याएका छन् ।
सुबास हुमागाईं

काठमाडौँ — खेलाडी हुँदा सधैं खेल जित्नुपर्ने दबाब हुन्थ्यो, तर रेफ्रीको भूमिकामा मैले कहिल्यै दबाब महसुस गरिनँ ।’ डेढ दशक लामो रेफ्री करिअरमा गत सातामात्र पूर्णविराम लगाएका पूर्व–फिफा रेफ्री लव खत्रीले हाँस्दै सुनाए । रेफ्री भइकन पनि विवादलाई टाढै राख्न सफल उनी सामान्यत: हँसिलो मुद्रामा भेटिन्छन् ।

हँसिला रेफ्री

मैदानमा ड्युटीको समयमा खेलाडीलाई रातो कार्ड दिने बेला नै किन नहोस् उनको मुहारमा हाँसो भेटिएकै हुन्छ ।


आफ्नो सदाबहार हँसिलो मुद्राबारे लवको बेग्लै धारणा छ । ‘खेलाडीसँग रिसाएर कसैको फाइदा हुँदैन । हाम्रो काम खेललाई नियममा रहेर सञ्चालन गर्ने न हो । जे भएको छ त्यहीअनुसार निर्णय लिँदा खुसी भएर दिनुपर्छ । हामीले आफैं रिसाएर खेलायौं भने खेलाडी पनि उल्टै रिसाउने सम्भावना हुन्छ,’ उनले थपे, ‘तर हामीले हँसिलो मुद्राा खेलाडीलाई सम्झाउँदा खेलाडीले पनि राम्रो व्यवहार फर्काउँछन् । उनीहरूलाई गल्तीबारे ब्रिफिङ गर्न पनि सहज हुन्छ ।’


सन् २००८ मा फिफा रेफ्री ब्याच पाएका लवले फिफा रेफ्रीका रूपमा पहिलो खेल नै प्रतिष्ठित आहा गोल्डकपको उद्घाटन खेल पाए । फिफा रेफ्रीका रूपमा अन्तिम खेल गत साता फिदिममा सम्पन्न फाल्गुनन्द गोल्डकपको फाइनल खेलाएका लव आफ्नो रेफ्री करिअरदेखि निकै सन्तुष्ट छन् । त्यसअघि खेलाडीका रूपमा एक दशक बिताएका उनको खेलजीवन ललितपुरका क्लबमै बित्यो । खेलाडीमा उनको करिअर भने लामो समय अघि बढ्न सकेन ।


‘दुर्भाग्य भनौं वा सौभाग्य, सन् १९९७ मा सिलिगुढीमा खेल्दा मेरो देब्रे घुँडामा चोट लाग्यो । डाक्टरको सुझावअनुसार मैले बल हान्न नहुने भयो तर कुद्न भने सक्थें । खेलाडी हुँदै मैले स्थानीय क्लबका खेल बेला–बेलामा रेफ्री भएर खेलाएको थिएँ । त्यति बेला एन्फा विवाद चलिरहेको अवस्थामै मित्र सन्जिव पाण्डेको सल्लाहअनुसार रेफ्री कोर्स गरें,’ उनले सुनाए । त्यसपछि केही वर्ष रेफ्रीको भूमिकामा नदेखिए पनि एन्फा विवाद सुल्झिएपछि भने उनी सक्रिय रेफ्रीमा होमिए ।

पहिलो सिजनमै ‘सी’ डिभिजनका केही खेलमा जिम्मेवारी पाएका उनले केही महिनापछि ‘ए’ डिभिजन स्तरीय नकआउट प्रतियोगिता खेलाए । त्यसपछि लगातार रेफ्रीको भूमिकामा सक्रिय उनले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलाए । फिफा रेफ्रीका रूपमा उनले किंग्स कप, लुसोफोनी गेम्स, दक्षिण एसियाली खेलकुद (साग) लगायत अन्य फिफाका मैत्रीपूर्ण खेलहरू पनि खेलाएका छन् ।


लवले खेलाडीको भूमिकामा जावलाखेल, फ्रेन्ड्स, ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबको प्रतिनिधित्व गरे । तर उनलाई रेफ्रीको भूमिकामा हुँदा कहिल्यै आफ्नो पूर्व क्लब भनेर कुनै किसिमको दबाब परेन । उनका अनुसार यी क्लबविरुद्ध खेलाउँदा उनलाई झन् सहज महसुस हुने गथ्र्यो । लवले पछिल्लो पटक राष्ट्रिय लिगको अन्तिम खेलको सम्झना गरे । ‘मैले कहिल्यै पनि रेफ्रीको भूमिकामा बाहिरी दबाब खेप्नुपरेन ।


मानसिक रूपमा म सधैं कुनै पनि खेल खेलाउन तयार रहें । केही वर्षअघि थ्री स्टार र मनाङबीच १ करोड रुपैयाँको छिनोफानो हुने लिगको अन्तिम खेल थियो । लिगका दुई महारथी टोलीको खेलमा पराजित हुनेले २५ लाख पाउँथ्यो भने विजेताले १ करोड । त्यस्तो अवस्थामा मलाई केही दबाब भएको भए पछि हट्ने थिएँ, तर उक्त खेल सहजै सम्पन्न गर्न सकें ।’ भुटानमा भएको किंग्स कपमा पनि उनले घरेलु टोली यिद्जिन एफसी र नेपाली टोली मनाङ मस्र्याङ्दीको खेल खेलाए ।


अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन जाँदा अन्य रेफ्रीभन्दा तुलनात्मक रूपमा नेपाली रेफ्रीहरू नै प्राथमिकतामा पर्ने गरेको तथ्य उनले सुनाए । ‘हाम्रो देशमा रेफ्रीको स्तर राम्रो छैन भन्ने साँचो हैन । हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउँदा अन्य देशका धेरै खेलमा ड्युटी पाउने गरेका छौं । यदि राम्रो पहल हुने हो भने नेपाली रेफ्रीले धेरै अवसर पाउन सक्छन्,’ उनले भने । फिफाको एलिट प्यानलमा पर्न ३५ वर्ष नकाटेको नियम रहेका कारण आफ्नो उच्चतम फर्ममा रहेको समय पनि उनी प्यानलमा पर्न सकेनन् । तर ब आउने पिंढीले भने मिहिनेत गरे धेरै अवसर पाउने उनको बुझाइ छ ।

लवले जीवनको तीन दशक फुटबलमा बिताएका छन् । उनले फुटबलबाहेक बाहिर भविष्य परिकल्पनासमेत गरेका छैनन् । अब उनलाई प्रतीक्षा छ त केवल अवसरको ।


रेफ्री एसेसर वा रेफ्री इन्स्ट्रक्टर बनेर आउने दिनमा रेफ्रीको स्तरोन्नतिमा सहयोग गर्ने उनको योजना छ । हालसम्मको यात्रामा उनले फुटबलसँग सम्बन्धित सबै सरोकारवालाबाट राम्रो साथ र सहयोग पाएका छन् । आफ्नो अनुभव र लगावप्रति उनलाई यति विश्वास छ कि आउने दिनमा उनलाई फुटबल वरपर देख्न पाइने वातावरण सिर्जना हुनेछ ।

प्रकाशित : पुस २२, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?