ह्यान्डबलमा पश्चिमाञ्चल विजयी

लेखनाथ — राखेप च्याम्पियनसिप अन्तर्गत बुधबार पोखरा रंगशालामा सुरु १८ औं पुरुष तथा ९ औं महिला राष्टिय ह्यान्डबल प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल विजयी भएको छ ।

ह्यान्डबलमा पश्चिमाञ्चल विजयी

पश्चिमाञ्चलले विभागीय टोली एपीएफ क्लबलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै एपीएफका गोलरक्षक रामबाबु यादव रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । पुरुषतर्फ नेपाल आर्मीले दुई र मध्यमाञ्चलले एक खेलमा जित पाएका छन् । आर्मीले सुदूरपश्चिमलाई ३८–१२ ले पराजित गर्‍यो । मध्यमाञ्चलले मध्यपश्चिमविरुद्ध २६–१४ ले सफलता पायो । अर्को खेलमा आर्मीले मध्यमाञ्चललाई २८–७ को फराकिलो अन्तरमा पन्छायो ।

महिलातर्फ एपीएफ, पश्चिमाञ्चल र आर्मी विजयी भए भने मध्यमाञ्चल र सुदूरपश्चिमले ३–३ को बराबरीमा खेल टुंग्याए । एपीएफले सुदूरपश्चिमलाई ४३–३ को विशाल गोलअन्तरले हराएको हो । दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमलाई २१–३ ले हरायो । तेस्रो खेलमा आर्मीले पूर्वाञ्चलमाथि २१–३ को गोलले विजय नतिजा निकाल्यो ।

बिहीबार पनि लिग चरणका खेल हुने कास्की ह्यान्डबल संघका उपाध्यक्ष चित्र थापाले बताए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ दुई विभागीय र ५ विकास क्षेत्रका १–१ गरी ७–७ टिम सहभागी छन् । दुवैका विजेताले ३० र उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : पुस २०, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?