२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपाली टिमको संरचना फेरिँदै

एसियन कप २०१९ छनोट
सुबास हुमागार्इं

काठमाडौं — सुरुआती तीन खेलमा २ हार र १ बराबरी । एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको नेपाल अहिले एक अंक बोकेर तालिकाको पुछारमा छ । नेपालले हालसम्मका तीनै खेलमा ४–४–२ को संरचना अपनाएको थियो ।

 नेपाली टिमको संरचना फेरिँदै

दोस्रो चरणमा घरेलु मैदानमा यमनसँग खेलेको गोलरहित बराबरी नेपालको एकमात्र अंक हो । त्यसबाहेक फिलिपिन्ससँग ४–१ र ताजकिस्तानसँग २–१ को पराजयसँगै नेपालको छनोट हुने सम्भावना पातलिंदै गएको छ ।

फिलिपिन्सविरुद्ध पहिलो खेलमा चोट लागेका लेफ्ट–ब्याक रविन श्रेष्ठ लामो समयका लागि बाहिरिएपछि दोस्रो खेलमा विराज महर्जनले उनको स्थान लिएका थिए । त्यसै खेलमा विक्रम लामाले सुरुआतमै रातो कार्ड बेहोरेपछि उनले दोस्रो खेल गुमाए । तर, प्रशिक्षक ग्योतोकु कोजीले त्यसका बावजुद पनि सोही संरचनामा रहेर खेलाइरहे ।

ताजकिस्तानविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलका लागि भने प्रशिक्षक कोजीले नयाँ संरचना अपनाउने जमर्को गरेका छन् । नेपाली टोली सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियमित प्रशिक्षणमा व्यस्त छ । कोजीले यसपटक ३–४–३ को संरचनामा टोलीलाई उतार्ने तयारी गरेका छन् । कोजीले प्रशिक्षणको सुरुआतबाटै नयाँ संरचनामा खेलाडीहरूलाई अभ्यस्त पार्न पोजिसनअनुसारको विशेष प्रशिक्षण दिइरहेका छन् । यस परिवर्तनले टोलीमा विगतको तुलनामा धेरै सन्तुलन ल्याउने उनको विश्वास छ ।

‘हामी नयाँ संरचनामा खेल्दैछौं । यसमा टिमले सन्तुलन पाउने अपेक्षा गरेको छु । यसैअनुसार हामीले प्रशिक्षण पनि गरिरहेका छौं,’ उनले भने । कोजीको आगमनपछि ४–४–२ खेल्न सुरु गरेको नेपालले त्यसअघि ४–३–३ को संरचनामा खेलेको थियो ।

सन् २०१५ को डिसेम्बरमा साफ च्याम्पियनसिप खेल्दाका बेल्जियन प्रशिक्षक प्याट्रिक अजेम्सले ४–३–३ संरचनामा टोली तयार पारेका थिए । अहिले राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी उनकै पालादेखि नियमित सदस्य रहँदै आएका छन् । उनले मिडफिल्डमा विक्रम लामा र रोहित चन्दका साथमा हेमन गुरुङ/विशाल राईलाई प्रयोग गरेका थिए । 

यस्तै उनकै पालामा नवयुग श्रेष्ठले आक्रमणको जिम्मेवारी सम्हाल्न सुरु गरे । विमल र अञ्जनलाई विङ्समा खेलाउँदै उनले नै नयाँ संरचनाको सुरुआत गरे । जुन नेपाललाई बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक दिलाउन मुख्य कारक बनेको थियो ।

कोजीको आगमनपछि पुन: ४–४–२ कै रणनीतिमा फर्कियो । उनले प्रशिक्षण दिएको सुरुआती पाँच खेलमा नेपाली टिम अपराजित रह्यो । इतिहासमै पहिलोपटक एएफसीको मान्यताप्राप्त प्रतियोगिता एएफसी सोलिडारिटी कप जित्दा टोलीले लगातार ८ खेलसम्म अपराजित रहेको कीर्तिमान पनि बनायो । एसियन कपको छनोटमा फिलिपिन्सविरुद्धको हार कोजीका लागि पहिलो असफलता थियो । त्यसयताका तीन खेलमा नेपाल जितविहिन छ । त्यसैले पनि नयाँ संरचना आवश्यक देखिएको हो ।

नयाँ संरचना वर्तमान नेपाली टोलीका लागि फलदायी हुने आकलन गर्न सकिन्छ । हाल साइड डिफेन्समा निकै समस्या आइरहेको छ । रविनको चोट र दायाँतर्फ खेल्ने डिफेन्स फर्ममा नहुनुले टोलीलाई कठिनाइ आइरहेको छ । सेन्टरब्याकका तीनै खेलाडी फर्ममा रहेकाले पनि ३–४–३ को संरचनामा सहज हुन सक्छ । नियमित डिफेन्डर अनन्त तामाङसँगै आदित्य चौधरी र देवेन्द्र तामाङ डिफेन्समा देखिने सम्भावना छ । चार सदस्यीय मिडफिल्डलाई रोहित चन्दको उपस्थितिले बलियो बनाउँछ ।

विङ्गरले डिफेन्समा पनि उत्तिकै मिहिनेत गर्नुपर्ने भएकोले सुजल श्रेष्ठ, भरत खवास, कमल श्रेष्ठलगायतका खेलाडी त्यस पोजिसनमा खेल्न सक्छन् । आपंक्तिमा भने विमल घर्तीमगर, अञ्जन विष्ट र नवयुग श्रेष्ठसँगै नयाँ फरवार्ड जर्जप्रिन्स कार्कीले जिम्मेवारी पाउन सक्छन् ।

प्रकाशित : आश्विन १८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?