विश्वकप छनोटको उत्कर्ष-संकटमा अर्जेन्टिना

एएफपी

पेरिस — विश्वकप २०१८ को छनोट चरण अहिले उत्कर्षतर्फ छ । लियोनल मेसीको अर्जेन्टिना समस्यामा छ । सिरिया प्ले–अफ खेल्दैछ, उसको विश्वकप खेल्ने सपना अझै तुहिएको छैन ।

विश्वकप छनोटको उत्कर्ष-संकटमा अर्जेन्टिना

अनि युरोपेली च्याम्पियन पोर्चुगलले अझै धेरै गर्नुु छ । विश्वकप छनोट अन्त्यतर्फ पुग्दा कहाँ कस्तो छ त ? एएफपीले तयार पारेको रिपोर्ट :

संकटमा अर्जेन्टिना
ब्राजिलले अर्को वर्षको मार्चमा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ । तर दक्षिण अमेरिकाबाट स्वत: छनोट हुने तीन टिमको निर्णय हुन अझै बाँकी छ । र, यताको छनोटमा दुई चरणका खेल मात्र बाँकी छन् । दुईपल्टको विश्वकप च्याम्पियन अर्जेन्टिनाले सन् १९७० यता लगातार विश्वकपको अन्तिम चरण खेलेको छ । तर पाँचपल्ट बेलन डे’अर जितेका मेसी र उनका साथीहरूको टिम भने संकटमा छ । तीन वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा फाइनल खेलेको अर्जेन्टिना अहिले पाँचौं स्थानमा छ । अझ कोपा अमेरिका विजेता चिली त छैटौं स्थानमा छ । 

जर्मनी अगाडि बढ्दै, पोर्चुगल र फ्रान्सलाई गाह्रो
आउने विश्वकपको अन्तिम चरण खेल्ने ३२ टिममध्ये १४ टिम त युरोपकै हुनेछन् । तर अहिलेसम्म युरोपबाट बेल्जियमले मात्र रुसमा खेल्ने निधो भइसकेको छ । युरोपेली छनोटमा पनि दुई चरणका खेल बाँकी छन् । विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले बिहीबार उत्तरी आयरल्यान्डको सामना गर्नेछ र त्यसमा बराबरी निकाले, उसले पनि रुसको यात्रा तय गर्नेछ । युरोपमा रहेको छनोटका नौ समूह विजेताले विश्वकपमा स्वत: प्रवेश पाउनेछन् । उपविजेताबीच प्ले–अफ हुनेछ । पोर्चुगल र फ्रान्सलाई भने केही गाह्रो छ ।

नजिकको दूरीमा नाइजेरिया र ट्युनिसिया
अफ्रिकाबाट पाँच टिम रुस जानेछन् । तर यहाँ पनि अन्तिम चरण खेल्न कुनै टिमको निर्णय भइसकेको छैन । नाइजेरिया छैटौं विश्वकपको नजिक छ । यस्तै स्थिति अल्जेरियाको पनि छ । अफ्रिकी च्याम्पियन क्यामरुन पनि बलियो स्थितिमा छ भन्दा फरक पर्दैन ।

युद्धग्रस्त सिरिया प्ले–अफ खेल्दै
इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले अर्को वर्ष विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन्, यो तय भइसकेको छ । तर पाँचौं टिम कुन हुनेछ त ? सिरिया अथवा अस्ट्रेलिया । युद्धबाट गुज्रिरहेको सिरियाले अहिलेसम्म तय गरेको विश्वकप छनोट यात्रा अविश्वसनीय छ, परीको कथा जस्तो । यही टिमले प्ले–अफमा अस्ट्रेलियाको सामना गर्न लागेको हो । यसको विजेताले थप प्ले–अफ खेल्नेछ र यो रहनेछ, कन्काकेफको चौथो स्थानमा रहेको टिमविरुद्ध । 

मेक्सिको छनोटको बाटोमा
मेक्सिको लगातार सातौंपल्ट विश्वकप छनोटको संघारमा छ । यस्तै बलियो स्थिति कोस्टारिकाको पनि छ । स्वत: छनोट हुने तेस्रो टिमको निर्णय भने जटिल देखिन्छ । चौथोले भने प्ले–अफ खेल्नेछ । अहिले तत्काल पानामा तेस्रोमा छ, मेक्सिको र कोस्टारिका पछि ।

प्रकाशित : आश्विन १८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?