खेलाडी बने वडाध्यक्ष

कुम्भराज राई

ओखलढुंगा — चार महिना अघिसम्म यहाँको मानेभन्ज्याङ ५, उदैपुरका रामकुमार राई (३३ वर्ष) बिहान उठ्नेबित्तिकै ब्याडमिन्टनको र्‍याकेट भिरेर कोर्टमा पुग्थे । बिहानभरि खेल खेलेर अभ्यास गरिरहने उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दौडिरहनुपथ्र्यो ।

खेलाडी बने वडाध्यक्ष

तर अहिले उनको दैनिकी पूरै फेरिएको छ । राजधानीको ब्याडमिन्टन कोर्टमा भेटिने रामकुमार अहिले गाउँको वडा कार्यालयमा भेटिन्छन् । नागरिकताको सिफारिसदेखि गाउँको समस्यामा कचहरी बस्न पुग्छन् । खेलजीवन त्यागेर उनी एक्कासि वडाध्यक्ष निर्वाचित भए । 

‘सुरुमा त साह्रै गाह्रो लागेको थियो ।’ रामकुमारले भने, ‘खेल खेले जस्तो राजनीति गर्नु र निर्वाचित प्रतिनिधि बन्न सजिलो रहेनछ । अहिले अभ्यस्त हुन थालेको छु ।’ रामकुमार ब्याडमिन्टन जोडी (डबल्स) तर्फ नेपालको नम्बर १ खेलाडी हुन् । २०६४ सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा ललितपुर जिल्लाबाट सहभागी भई दोस्रो स्थान ल्याएपछि उनले एक दशक ब्याडमिन्टनमै बिताए ।

दर्जनांै राष्ट्रियस्तरका उपाधि जितेका उनले २०७० देखि त्रिभुवन आर्मी क्लबबाट ब्याडमिन्टन खेल्दै आएका थिए । ललितपुरबाट खेल्दा उनको जोडी भिमल श्रेष्ठ थिए । त्रिभुवन आर्मीबाट भने रत्नजित तामाङ । रत्नजित सिंगलतर्फको हाल पनि च्याम्पियन खेलाडी हुन् ।

रत्नजितसँगकै जोडीले पहिलोपटक ६ वर्षअघि भारतको हैदराबादमा नेपालको प्रतिनिधित्व गर्न पुग्यो । प्राय: सिंगल मात्र प्रतियोगिताका लागि देश बाहिर लाने चलन छ । सम्भवत: नेपाली ब्याडमिन्टन इतिहासमा पहिलो जोडीका रूपमा उनीहरू प्रतियोगितामा सहभागी हुन हैदराबाद गएका थिए । 

२०५८ सालमा गाउँमा माओवादी द्वन्द्वबाट प्रभावित भएपछि रामकुमार राजधानी छिरे । ‘गाउँमा स्कुले युवाहरू लिन माओवादी स्कुलमै आइपुग्थे ।’ उनले पुराना दिन सम्झँदै भने, ‘गाउँ बस्नै नसकिने भएपछि म राजधानी लागेँ ।’ खेलमा पहिलेदेखि रुचि थियो । गाउँमा बस्दा भलिबल खेल्थे । राजधानी गएपछि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा तीन महिनाको तालिम लिए । तर उचाइ नपुगेको भन्दै उनलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएन ।

त्यसपछि उनी आफन्तसँगै बिहान, बेलुका ब्याडमिन्टन कोर्टमा टाइमपास गर्न पुगे । त्यही टाइमपासले उनलाई राष्ट्रियस्तरको खेलाडी बनायो । तिनै रामकुमार गत असार १४ को स्थानीय तह निर्वाचनमा यहाँको मानेभन्ज्याङ गाउँपालिका ५ को वडाध्यक्ष निर्वाचित भए कांग्रेसबाट टिकट पाएका उनले ६ सय ७८ मत ल्याएका थिए । उनको प्रतिद्वन्द्वीले ठ्याक्कै उनको भन्दा आधा मत ३ सय ३९ मत ल्याए ।

रामकुमारलाई राजनीतिमा आइहाल्छु जस्तो लागेको थिएन । तर सामाजिक काममा रुचिचाहिँ थियो । वाम्बुले राई समाजको केन्द्रीय सचिव पदमा बसेर पनि उनले सामाजिक काम गरिरहेका थिए । जब चुनाव नजिकियो, उनलाई साथीभाइले हुट्हुटी लगाए । ‘तिमी जस्तो मान्छेले त राजनीति गर्नुपर्छ । पार्टीमा हामी कुरा गर्छौं । टिकट लिएर चुनाव लड ।’

अनि उनको पनि ध्यान मोडियो । अन्तत: टिकट पाए र चुनावमा विजयी भए । उनको चुनावी अनुभव गज्जबकै छ । ‘भोट माग्न त स्टेजमा चढेर भाषणमात्र गर्नुपर्छ होला भन्ने लागेको थियो ।’ उनी भन्छन्, ‘तर राति राति गाउँगाउँमा हिँड्नुपर्ने । मतदाता फकाउनुपर्ने । त्यसमाथि नेता भनेपछि मतदाताले वास्तासमेत नगर्ने देख्दा त घरिघरि बेकार रहेछ जस्तो लागेको थियो ।’

भोकभोकै भोट माग्न हिँड्नुपर्दा उनले गलत बाटो रोजियो कि भन्ने सोचेका थिए । तर अहिले त्यस्तो लागेको छैन उनलाई । वाणिज्य संकायमा स्नातकोत्तर गरेका राईले आफ्नो कार्यकालमा सके गाउँपालिका, नसके आफ्नो वडालाई खेलकुदमय बनाउने सोचेका छन् । उनकै परिकल्पनामा हालै वडास्तरीय फुटबल प्रतियोगिता आयोजना भयो । 

पूर्णकालीन राजनीति गरेपछि अरू पेसा गर्नुहुन्न भन्ने समाजमा भ्रम रहेको भन्दै त्यसलाई चिर्ने सोच उनको छ । ‘राजनीति गरेपछि अरू काम गर्नुहुन्न भन्छन्,’ रामकुमारले भने, ‘तर म राजनीतिलाई निरन्तरता दिनका लागि वैकल्पिक काम वा व्यवसाय गर्ने सोचमा छु । गरिखान सके पो इमानदार राजनीति गर्न सकिन्छ । नत्र कसरी असल नेता बन्नु ?’

प्रकाशित : आश्विन १७, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?