२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रोनीको उपलब्धि, २०० गोल

एएफपी

म्यानचेस्टर — एभरटन स्टार वायन रोनीले सोमबार इङलिस प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रा खेलाडी भएकामा त्यो मीठो उपलब्धि भएको बताएका छन् । उनको गोलमा एभरटनले म्यानचेस्टर सिटीसँग १–१ को बराबरी खेलेको थियो ।

रोनीको उपलब्धि, २०० गोल

यससँगै ३१ वर्षीय रोनी इङल्यान्ड तथा न्युकासल युनाइटेडका पूर्व खेलाडी एलान सिएररको सूचीमा परेका छन् । रोनीले आफ्नो उपलब्धिमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड समर्थक पनि खुसी हुने बताए । 

म्यानचेस्टर छाडेर उनी यसै सिजन मात्र एभरटन आएका हुन् । एभरटनमा भने उनले किशोर उमेरमा खेलेका थिए । म्यानचेस्टरमा जोसे मोउरिन्हो व्यवस्थापक बनेयता रोनीले टिममा नियमित स्थान गुमाएका थिए । ‘दुई सय गोलको उपलब्धि वास्तवमै मीठो रह्यो,’ रोनीले भने । अब उनले सिएररको नाममा रहेको २ सय ६० प्रिमियर लिग गोलको कीर्तिमान भंग गर्ने प्रयास गर्नेछन् । रोनीले सिटीविरुद्धको महत्त्वपूर्ण खेलमा यो उपलब्धि हात पर्नु पनि ठूलो रहेको बताए । 

‘सिटीविरुद्धको खेल महत्त्वपूर्ण थियो नै, आउने केही सातामा उत्तिकै महत्त्वपूर्ण खेल पनि आउँछन् । त्यसैले यो उपलब्धि अझ सम्झनलायक बनेको हो । मलाई विश्वास छ, यो गोलमा म्यानचेस्टर सहरको अर्को आधा समर्थक पनि खुसी हुनेछन्,’ उनले थपे । सिजनको पहिलो खेलमा एभरटनले स्टोक सिटीलाई १–० हराउँदा पनि रोनीले नै निर्णायक गोल गरेका थिए । सिटीविरुद्ध एभरटनका लागि मैदानमा सबैभन्दा सक्रिय खेलाडी पनि रोनी नै रहे । 

बलका लागि जुध्दै एभरटनका वायन रोनी (कालो) र म्यानचेस्टर सिटीका भिन्सेन्ट कोम्पनी ।तस्बिर: रोयटर्स

यो तथ्यांकलाई लिएर रोनीको प्रतिक्रिया थियो, ‘कसैले मलाई लगाइएको पूर्णत: फिट नरहेको र मैदानमा ओर्लिन पनि सक्षम नरहेको आरोपका लागि राम्रो उत्तर पनि हो । मेरा लागि टिम नै सर्वाधिक महत्त्वको हो र आजको खेलमा पनि यही भावले खेलें ।’ म्यानचेस्टरका लागि पर्याप्त समय मैदानमा बिताउन नपाएपछि रोनीले इङल्यान्ड राष्ट्रिय टिममा पनि स्थान गुमाएका थिए । सिजनको सुरुआतमा उनले लय समात्न सकेपछि उनको फेरि इङलिस टिममा फर्कन सम्भावना बढेको छ । 

तर इङलिस टिममा सम्भावनाबारे उनले भने, ‘म अहिले एभरटन टिममै बढी केन्द्रित छु । आउने केही दिनमा इङलिस व्यवस्थापक गारेथ साउथगेटसँग कुराकानी भने गर्नेछु, हेरौं के हुनेछ ।’ एभरटनले नयाँ सिजनका लागि धेरै लगानी गरेको छ र क्लबका व्यवस्थापक रोनाल्ड कोमनले रोनी नयाँ सिजनमा लयमा देखिनु स्वाभाविक रहेको पनि दाबी गरे । ‘रोनी उत्कृष्ट लयमा रहनु मेरो लागि आश्चर्यको विषय होइन,’ कोमनले थपे, ‘उनको लयमा म खुसी छु ।’

 

प्रकाशित : भाद्र ७, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?