अघिल्लो वैशाखमा निलम्बन गरेको क्यानलाई आईसीसीले अब के गर्ला?

क्यानको विशेष साधारणसभा
विनोद पाण्डे

काठमाडौं — निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले प्रस्तावित विधानलाई संशोधन गर्दै प्रक्रिया अगाडि बढाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक महिनाभित्र प्रस्तावित विधान निर्वाचित क्यानको साधारणसभाबाट पास गरिसक्नुपर्ने अन्यथा अन्य विकल्प हेर्ने भनेर गत महिना समयसीमा दिएको थियो ।

अघिल्लो वैशाखमा निलम्बन गरेको क्यानलाई आईसीसीले अब के गर्ला?

समयसीमाको मिति भदौ १० सम्म छ । 

त्यसैको निरन्तरतामा क्यानले मंगलबार राजधानीमा विशेष साधारणसभा बोलाएको हो । यसअघि राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबाट लखेटिँदै आएको निर्वाचित क्यान साधारणसभा र विधान संशोधन गर्न दुवै सरकारी निकायसँगै जोडिएको छ । 

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीले अघिल्लो वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । २०७२ मंसिरमा क्यानको निर्वाचन भएको थियो । तर आफ्नो स्वीकृतिबिनै गरेको भनी राखेपले त्यसलाई मान्यता दिएको थिएन । लगत्तै रमेश सिलवालको अध्यक्षतामा समानान्तर क्यान गठन गरेको थियो । त्यसविरुद्ध निर्वाचित क्यानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो, जसको फैसला अझै भएको छैन ।

क्यान निलम्बनपछि विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुर्‍याल, दीपक कोइराला, पवन अग्रवाल र रोहित दाहाललाई समेट्दै क्यानको विधान बनाउन सल्लाहकार समिति बनाइएको थियो । तीन महिनाअघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई बुझाएको थियो । 

अघिल्लो महिना आईसीसीका उपाध्यक्ष इमरान ख्वजासम्मिलित सल्लाहकार समिति बैठकले प्रस्तावित विधानलाई क्यानबाट स्वीकृत गर्न समयसीमा तोकेको थियो । त्यसमा वर्तमान कार्यसमितिले निर्वाचनमा भाग लिने गरी सहभागी हुन पाउनुपर्ने मागलाई आईसीसीले ठाडै अस्वीकार गरेको थियो । 

मंगलबारको साधारणसभा त्यही एजेन्डामा केन्द्रित रह्यो । निर्वाचित क्यानका महासचिव प्याकुर्‍यालले साधारणसभाले निर्वाचित क्यानका १७ जनाले केन्द्रको निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने गरी विधान संशोधन गरेको बताए । प्रस्तावित विधान पारित गर्न मात्र निर्वाचन समितिमा पठाइएकाले आईसीसीले संशोधित विधान स्वीकृति गर्ने सम्भावना निकै कम देखिन्छ । २९ सदस्यीय क्यानमा १७ जना निर्वाचित भएर आएका छन् । 

‘निर्वाचित पदाधिकारी केन्द्रको साधारणसभा चुनावमा मताधिकारविहीन भए पनि उम्मेदवार हुन पाउनुपर्छ । त्यसका साथै नेपाली क्रिकेटमा लामो समय योगदान दिएकाहरूलाई समेट्ने गरी खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा क्रिकेट संक्रमणकालमा रहेकाले एक पटकका लागि ७ जनालाई प्रतिनिधि बनाउने गरी विधान संशोधन भएको छ,’ निर्वाचित क्यानका महासचिव प्याकुर्‍यालले भने । 

राखेपका प्रेस सल्लाहकार दाहाल राखेप र कोइराला मन्त्रालयको सिफारिसमा सल्लाहकार समितिमा रहेका थिए । उनीहरू सम्मिलित सल्लाहकार समितिले नै क्रिकेट संघको प्रस्तावित विधान बनाएको हो । प्रस्तावित विधानमा राखेपबाट एक प्रतिनिधि साधारणसभामा रहने र उसको मताधिकार नरहने छ । अहिले राखेपले नै विधानमा आफ्नो प्रतिनिधि संख्या बढाएर क्यानबाट विधान संशोधन गरेको छ । 

निर्वाचित क्यान साधारणसभालाई राखेपले स्वीकृति प्रदान गरी कानुन र अन्य विभागको प्रतिनिधि पठाएको पृष्ठभूमिमा क्यानको साधारणसभामा मन्त्रालय र राखेपका ७ जना प्रतिनिधि राख्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको हो ।

खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरेको साधारणसभाको उद्घाटनमा राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्य शान्ति सिंह मञ्चमा थिए । तर मर्यादाक्रम नमिलाएको भन्दै तीन पटक बोलाउँदा पनि निर्वाचित क्यानका उपाध्यक्ष रहेका राखेप सदस्य विनोद मैनाली मञ्चमा गएनन् । कार्यक्रममा क्यानका पूर्व अध्यक्ष जयकुमारनाथ शाह साधारणसभामा अतिथि थिए । 

चार दशकभन्दा बढी क्यान अध्यक्ष रहिसकेका शाहले कस्को दोषले नेपाली क्रिकेट यो स्थितिमा पुगेको भन्दा पनि अबको स्थिति  सुधार्न केन्द्रित रहन सुझाए । उनलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

 संशोधित विधानलाई क्यानले अनुमोदन गर्न राखेप र मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । दुवै संस्थाबाट अनुमोदन भएपछि स्वीकृतका लागि पुन: आईसीसीमा पठाउनु पर्नेछ । आईसीसीले स्वीकृति दिएको खण्डमा ४५ दिनभित्रै जिल्ला, प्रदेश हुँदैं केन्द्रको चुनाव साढे ३ महिना गर्नुपर्ने हुन्छ ।

प्रकाशित : भाद्र ७, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?