कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्र- बेखबर प्रतिद्वन्द्वी

नेपाल र सिंगापुरबीच खेल जारी
विनोद पाण्डे

काठमाडौं — नेपाल र सिंगापुर परिचित प्रतिद्वन्द्वी हुन् । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगितामा यी दुई टोली धेरै आमनेसामने भएका छन् । सिंगापुरमा सोमबार सुरु हुने यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आपसमा भिड्नु अगाडि यी दुवै टोली एक–अर्काबारे बेखबर छन् ।

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्र- बेखबर प्रतिद्वन्द्वी

मलेसिया र अफगानिस्तान प्रतियोगिताका अरू दुई टोली हुन् । डबल राउन्ड रोबिन लिगमा हुने खेलको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा आएका हुन् । त्यसमा मलेसिया विजेता र सिंगापुर उपविजेता भएका थिए ।

नेपाल र अफगानिस्तानलाई सीधै विश्वकप छनोट खेल्न दिइएको हो । डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यही आधारमा नेपाल र अफगानिस्तानलाई सोझै छनोटमा प्रतिस्पर्धा गर्न दिइएको थियो । गत महिना अफगानिस्तानले आयरल्यान्डसँगै टेस्ट मान्यता पाएपछि खेल्न लागेको यो पहिलो आधिकारिक प्रतियोगिता हो ।

‘हामीलाई सिंगापुरका बारेमा खासै थाहा छैन, त्यही भएर हामी उनीहरूसँग ढुक्क हुन सक्दैनौं,’ नेपालका प्रशिक्षक विनोद दासले भने । उनकै कप्तानीमा नेपाल सन् १९९९ मा सिंगापुरमै एसीसी यू–१९ एसिया कपमा दोस्रो भएर पहिलोपटक विश्वकपमा छानिएको थियो । नेपालले यू–१९ स्तरमा सिंगापुरसँगको सबै खेल जित्दै आएको छ । २००९ यता नेपाल र सिंगापुर यू–१९ मा पहिलोपटक खेल्न लागेका हुन् । पछिल्लोपटक कुवेतमा भेट हुँदा ज्ञानेन्द्र मल्लको अर्धशतक मदतमा नेपालले सिंगापुरमाथि ३ विकेटको जित हात पारेको थियो ।

सिंगापुरको राष्ट्रिय टोली २०१० को एसीसी ट्रफीबाट रेलिगेसनमा परेको थियो । त्यसपछि सिंगापुरले एसीसीका प्रमुख प्रतियोगिता खेल्ने मौका गुमाउँदा नेपालसँगको भेट पातलिएको थियो । नेपालले प्रमुख प्रतियोगितामा प्रतिस्पर्धा गर्दा सिंगापुर एसीसीमा दोस्रो दर्जाको मानिएको च्याम्पियनसिप खेल्न बाध्य थियो ।

गत वर्ष डिसेम्बरमा श्रीलंकामा भएको एसीसी यू–१९ एसिया कप सिंगापुरले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसमा सिंगापुर पाकिस्तानसँग ७९, बंगलादेशससँग ७० र अफगानिस्तानसँग ७३ रनमा अलआउट भई क्रमश: ९, ७ र ९ विकेटको पराजय भोगेको थियो । नेपाल भने दीपेन्द्रसिंह ऐरीको ९० रनका बावजुद २ सय २८ रनको लक्ष्य लिएर आएको श्रीलंकासँग १ रनले पराजित भएको थियो । त्यसपछि भारतसँग ६ विकेटले पराजित भएको नेपालले मलेसियामाथि १ विकेटको जित हात पारेको थियो ।

श्रीलंकामा यू–१९ एसिया कप खेलेका १५ मध्ये १० नेपाली खेलाडी सिंगापुरमा प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–१९ बाट खेल्न लागेका कप्तान सन्दीप सुनारसहित दीपेन्द्र, आसिफ शेखले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शतक प्रहार गरी चर्चामा आएका आसिफले त्यसयता खासै प्रभाव पार्न सकेका छैनन् । भारत भ्रमणमा पनि उनको ब्याटबाट खासै रन निस्किएको थिएन । उनको ओपनिङ ब्याटिङ जोडी सन्दीप सुनार राम्रो फर्ममा छन् ।

प्रतियोगिताको तयारीका लागि नेपालले भारतमा तीन साता प्रशिक्षण गरेको थियो र पाँच अभ्यास खेल खेलेको थियो । ‘हामी पूरा तयार छौं,’ सिंगापुरसँगको पहिलो खेल खेल्नुअगाडि नेपाली प्रशिक्षक दासले भने, ‘हामीले आफ्नो योजनालाई मैदानमा उतारेर सामान्य हिसाबमा खेल्नुपर्छ ।’ सोमबार सिंगापुरसँग खेलेको भोलिपल्ट नेपालले मलेसियासँग खेल्नेछ ।

जुलाई २० मा अफगानिस्तानसँग खेल्ने नेपालले २१ मा फेरि सिंगापुरसँग खेल्नेछ । जुलाई २४ मा मलेसियासँग खेलेपछि नेपालले २५ मा अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ ।

प्रकाशित : श्रावण २, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?