१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रियल रहस्य

रोरी स्मिथ

कार्डिफ — रियल म्याड्रिडको सुरुआती गालाक्टिकोसले गर्न सकेन । नब्बेको दशकमा जोहान क्रायफले बनाएको बार्सिलोनाले पनि सकेन । २ दशकपछि त्यसैको उत्तराधिकारी भनिने अनि पेप ग्वार्डिओलाद्वारा निर्मित र लियोनल मेसी प्रेरित टोलीको पनि केही लागेन ।

रियल रहस्य

आफ्नो समयका सर्वोत्तम मानिने बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर युनाइटेड र एसी मिलान यस्तो कीर्तिमान नजिक त पुगे तर बनाउन सकेनन । लुइस भान गालको अयाक्स सबैभन्दा निकट पुग्यो तर पेनाल्टीमा गुल्ट्यो ।

युरोपियन कप च्याम्पियन्स लिगमा परिवर्तन भएको २५ वर्षमा कसैले पनि उपाधि टिकाउन सकेको थिएन । उपाधि टिकाउन सक्नु भनेको अमरत्व प्राप्त गर्नु थियो । त्यसको अन्तिम परीक्षा फाइनल थियो । कार्डिफमा शनिबार रियल म्याड्रिडले त्यो तगारो नाघिछाड्यो ।

रियल म्याड्रिडले इतिहासमा आफ्नो स्थान राख्न फेरि च्याम्पियन्स लिग जित्नुपर्ने थिएन । उसले पछिल्ला ३ संस्करणमध्ये २ वटा यसै पनि जितेकै थियो–सन् २०१४ मा एथलेटिको म्याड्रिड र गत वर्ष मिलानलाई हराएर ।

तर शनिबारको फाइनलमा युभेन्ट्सलाई ४–१ ले हराउँदा उसले आफ्नो सर्वोच्चतालाई अमर र एकछत्र बनाएको छ । उसका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २, कासिमिरो र मार्को एसेनसियोले १–१ गोल गरे । वास्तवमै यो कीर्तिमानसँगै वर्तमान युगलाई रियल म्याड्रिडको युगका रूपमा स्मरण गरिनेछ ।

हुन त यो युगको प्रकृति बुझ्न त्यति सजिलो छैन । यतिबेला खेल जित्नेभन्दा पनि खेलै परिवर्तन गर्न सक्ने खुबी भएका क्लबहरूबीच प्रतिस्पर्धा चर्कंदो छ । रियल म्याड्रिडलाई बुझ्नु भनेको धूवाँ समात्नु बराबर हो भन्न थालिएको छ । खेलविज्ञ स्टेभन जी मेन्डिसले आफ्नो पुस्तक ‘द रियल म्याड्रिड वे’ मा यो क्लबको लगातार सफलताको कारण खोतल्न खोजेका छन् ।

वास्तवमै यो सफलताले युरोप छक्क परेको छ । त्यसो त यसको देखिने रहस्य केही छैन । न क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले टोली बनाउँदा केही अचम्म गरेका छन्, न त प्रशिक्षक जिनेदिन जिदानले आफ्ना खेलाडीमा कुनै जादु भरेका छन् ।

पक्कै केही विशेष त छ नै । रियल म्याड्रिड आधुनिक फुटबल वुझाइमा फरकपन दिने क्लब हो । यो कन्सेप्टको जमाना हो । यतिबेला फुटबल खेलले उच्चस्तरको अक्कल भएका प्रशिक्षक मागिरहेको छ । मैदान होस् या सरुवा बजार, जसले वुद्धि पुर्‍यायो त्यसले बाजी मार्ने ठानिन्छ ।

तर रियल म्याड्रिडचाहिँ यी सब कुरामा विश्वास गर्दैन । यसको सबैभन्दा राम्रो उदाहरण कासिमिरो हुन् जसको दोस्रो गोलले शनिबार युभेन्ट्सलाई रित्याउने काम गर्‍यो । कासिमिरो प्राय: आँखामा नपर्ने डिफेन्सिभ मिडफिल्डर हुन् । प्रशिक्षकले एउटा टिममा सन्तुलनका लागि यस्ता खेलाडी राख्न मन पराउँछन् । अध्यक्ष पेरेजले लाइनअप बनाउँदा हुन् त कासिमिरो पर्दैनथे ।

एकपटक पेरेजले अघिल्ला प्रशिक्षक राफेल बेनिटेजलाई बार्सिलोनासँगको एक महत्त्वपूर्ण क्लासिकोमा कासिमिरोलाई नखेलाउन सल्लाह दिएका थिए । उनको सामान्य तर्क थियो : कासिमिरोका कारण प्रशस्त जर्सी बिक्री हुँदैन न फ्यानको ओइरो नै लाग्छ ।

बेनिटेजले पेरेजको कुरा माने । नभन्दै रियल पराजित भयो र बेनिटेजको जागिर पनि गयो । जिदानले त्यो भूललाई नियालेका थिए । उनले आफूले पद सम्हालेपछि सबैभन्दा पहिले कासिमिरोलाई टिममा ल्याए ।

यसो हेर्दा रियल म्याड्रिडका जित खास कुनै ठूलो सत्यताका लागि देखिंदैनन् । ती मात्रै जित हुन् जुन रियल चाहन्छ ।
यसको मतलब यो होइन कि रियलले कुनै चुनौतीको सामना गर्नै पर्दैन । युभेन्ट्सले शनिबार एकदमै सनसनीपूर्ण खेलको सुरुवात गर्‍यो । तर खेलको पछिल्लो समय रियलको सर्वोच्च हल्लिएन । रोनाल्डोको पहिलो गोल दोहोरो प्रतिस्पर्धाबीचै भयो । तर रियलको त्यो अग्रतालाई रद्द गर्ने मारियो मान्जुकिजको ओभरहेड गोलचाहिँ वर्षकै उत्कृष्ट गोल बन्न लायक रह्यो ।

दोस्रो हाफमा ३ गोल लगालग भए, जसले रियलको प्रभुत्व प्रकट गर्ने काम गर्‍यो । जिदानको टोलीले खेलमा गति बढायो र इटालियन विजेतामाथि कुनै दया राखेन । यसअघि अन्य प्रतिद्वन्द्वी युभेन्ट्सको रक्षापंक्ति अगाडि फितला सावित भएका थिए ।

आधुनिक फुटबलको साँघुरिंदो परिभाषालाई हेर्दा रियलले सन् २०१४ यता प्राप्त गरेका उपलब्धि सहज लाग्दैनन् । कुनै तर्क वा व्याख्याले तिनलाई चित्रण गर्न सकिंदैन । र, यो कसैका लागि पनि नक्कल गर्न पनि सजिलो छैन । कुनै किताब यसका लागि काफी छैन । यो मात्रै रियल म्याड्रिड हो जसले लगातार जित्छ मात्र ।

प्रकाशित : जेष्ठ २२, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?