डीपिएल नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो : कप्तान पारस खड्का

आइतबार नेपाल–११ र धनगढी–११ बीच च्यारिटी खेल

धनगढी — सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नेपाली क्रिकेटलाई विकेन्द्रीकरणमा लैजान ठूलो सहयोग पुग्ने आशा खेलाडीहरूको छ । पहिलो पटक फ्रेन्चाइज गरिएको प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ नगदसहित ठूलो ट्रफी जित्ने छन् ।

डीपिएल नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो : कप्तान पारस खड्का

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नेपाली क्रिकेटलाई विकेन्द्रीकरणमा लैजान ठूलो सहयोग पुग्ने आशा खेलाडीहरूको छ । पहिलो पटक फ्रेन्चाइज गरिएको प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ नगदसहित ठूलो ट्रफी जित्ने छन् ।

नगदका हिसाबले यो नेपालको सबभन्दा ठूलो प्रतियोगिता हो । आयोजक धनगढी क्रिकेट एकेडेमीले यसलाई ‘सिटी कन्सेप्ट’ मा अगाडि बढाएको छ । सहभागी ६ टोली विभिन्न ६ सहरका छन् । सुदूरपश्चिमका तीन सहर धनगढी, अत्तरिया र कञ्चनपुरसहित काठमाडौं, विराटनगर र रूपन्देहीले डीपीएलमा प्रतिनिधित्व गर्नेछन् ।

सीवाईसी अत्तरिया टिमका कप्तान एवं नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले शनिबार भने, ‘हामी ४–५ दिनदेखि अभ्यास गरिरहेका छौं । टिमको हार–जितभन्दा पनि यो इभेन्ट यहाँ हुनु नै ठूलो विषय हो । ठूलो इभेन्टको हिस्सा हुनु भएकामा सबैलाई धन्यवाद छ ।’ विराटनगर किंग्सका कप्तान शरद भेषावकरले पनि यति ठूलो इभेन्ट खेल्न आफूहरू निकै उत्साहित भएको र यो अवसर जुराइदिएकोमा आयोजकलाई धन्यवाद दिए ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले सबैको सहयोगमा फरक किसिमको प्रतियोगिता आयोजना गर्न लागेको र यसले नेपाली क्रिकेटमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे । उनले भने, ‘घरेलु क्रिकेटलाई निरन्तर दिन हामीले हरेक वर्ष विभिन्न प्रतियोगिता गर्दै आएका छौं र यसपटक फरक रूपमा गर्न लागेका हौं ।’

टिम चौराहा धनगढीका कप्तान पारस खड्काले व्यक्तिगत इच्छा र सोचले यस्तो प्रतियोगिता आयोजना गर्न लाग्नु नै ठूलो पक्ष भएको जनाए । डीपीएलको ट्रफी अनावरण कार्यक्रममा उनले भने, ‘यो प्रतियोगिता कति ठूलो हो भन्ने यस ट्रफीले नै देखाउँछ । नेपालको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । यसको माहोलले नै यो प्रमाणित गरिसकेको छ । नेपालका उत्कृष्ट सबै खेलाडीले खेल्ने भएकाले अबको १०–१२ दिन क्रिकेटमय हुनेछ ।’

काठमाडौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकका कप्तानद्वय क्रमश: वसन्त रेग्मी र विनोद भण्डारीले सबै टोलीलाई राम्रो खेल्नका लागि शुभकामना दिँदै दर्शकमाझ उत्कृष्ट खेल पस्कन आफूहरूले सक्दो प्रयास गर्ने जनाए । रूपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले भने, ‘सुरु हुनुअघि नै डीपीएल नेपालको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित भइसकेको छ । म आउँदा आउँदै धनगढीमा क्रिकेटको ज्वरो चढिसकेको थियो ।’

नेपाल–११ विरुद्ध धनगढी–११
आइतबार नेपाल–११ र धनगढी–११ बीच च्यारिटी खेल हुनेछ । यसबाट उठेको रकमको केही हिस्सा धनगढी क्रिकेट एकेडेमीका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको परिवार र ड्रिम फाप्लाको निर्माणमा खर्च गरिनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट खेलाडी संघले यो खेल आयोजना गर्नका लागि आफै पहल गरेको जनाए । पारस क्रिकेट खेलाडी संघका महासचिव हुन् । उनको कप्तानीमा रहने नेपाल–११ मा ज्ञानेन्द्र, शरद, विनोद, शक्ति, वसन्त, सोमपाल कामी, महबुब आलम, सागर पुन, सन्दीप लामिछाने, दिलीप नाथ, अविनाश कर्ण, आरिफ शेख, आशिफ शेख, सुसन भारी छन् ।

पदम केसीको कप्तानीमा रहने धनगढीबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका भुवन कार्की, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल र सुनील धमलासहित विजय राना, सागर भण्डारी, आयुब चन्द, नारायण जोशी, विक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, विपिन रावल र अमित पडाल छन् ।

कप्तान पदमले भने, ‘नेपाली क्रिकेटमा यो ठूलो दिन हो, सधैं यस्तो दिन आउँदैन । हाम्रा लागि यो राम्रो अवसर हो । हामीजस्ता स्थानीय खेलाडीका लागि प्रमाणित गरेर देखाउने अवसर पनि हो ।’

राष्ट्रिय खेलाडीबिनाको धनगढी ११ ले अघिल्लो दिन अभ्यास खेलमा पारसबिनाको टिम चौराहा धनगढीलाई ५१ रनमा अलआउट गरेको थियो । पदमले त्यसै खेललाई लिएर भने, ‘चौराहालाई हराएपछि आत्मविश्वास बढेको छ । यसले खेलमा ठूलो हौसला प्रदान गर्ने निश्चित छ । तर हामीले जुन खेल त्यो विकेटमा खेल्यौं, त्यो विकेट निकै खराब पनि थियो ।’

छ जना कप्तानले के भने ?

प्रकाशित : चैत्र २६, २०७३ २३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?