नेयमर फ्याक्टर

रोरी स्मिथ

बार्सिलोना — यसमा कुनै मतभेद र विवाद हुने छैन । बार्सिलोनासँग अझै पाँच मिनेट थियो र पेनाल्टीको अवसर पनि । विश्व फुटबलकै सर्वाधिक राम्रा खेलाडी लियोनल मेसी यो सिजन पेनाल्टीबाट चुकेका छैनन् । अझ उनले यसै खेलमा पेनाल्टीबाट नै गोल पनि गरिसकेका थिए, आधा घन्टाअघि ।

नेयमर फ्याक्टर

यस्तोमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध पेनाल्टी प्रहारका लागि मेसी तयार थिए, दुईपल्ट झुके । लामो सास फेरे । उनको पाँच यार्ड पर नेयमर थिए, कम्मरमा हात हाल्दै । उनी संकेत गरिरहेका थिए । 

साँच्चै त्यो स्थितिमा मेसी नै पेनाल्टी प्रहारका लागि उपयुक्त थिए । यो बार्सिलोनाका लागि सिजनकै सर्वाधिक महत्त्वपूर्ण क्षण थियो । तर मेसी पछाडि हटे । बार्सिलोना र पीएसजीविरुद्धको त्यस अविश्वसनीय खेलको एक दिनपछि अझै कसैले उत्तर पाउन सकेका छैनन्, किन नेयमरले नै पेनाल्टी प्रहार गरे । सायद त्यो पीएसजीका गोलरक्षक केभिन ट्रापलाई झुक्याउन हुन सक्थ्यो । अथवा यस्तो स्थितिमा मेसी चुक्ने इतिहासले पनि नेयमरलाई नै सजग गराएको थियो । 

‘मैले अहिलेसम्म जति पनि खेल खेलें, यो सर्वाधिक उत्कृष्ट छ,’ उनले पछि भने, ‘६–१ को जितपछि । सायद यो ठीक पनि हो । होइन पनि । मेसी, लुइस स्वारेज र आन्द्रेज इनिस्टा जस्ता यी ब्राजिली खेलाडी पीएसजीविरुद्ध फुर्तिला देखिएनन्, जति उनी हुन सक्थे । पीएसजीविरुद्ध उनको खेल विश्लेषण गर्ने अर्को आधार पनि छ । युरोपेली च्याम्पियन्स लिग इतिहासमै महान पुनरागमनको खेलको अन्तिम सात मिनेटमा निर्णायक कोही रहे भने त्यो नेयमर नै रहे । 

नेयमरले दाबी गरेजस्तै त्यो उनको अहिलेसम्मकै उत्कृष्ट खेल त थिएन, तर अहिलेसम्मकै निर्णायक खेल भने थियो । ब्राजिलको सान्तोसमा हुर्केका नेयमरबारे दुई तथ्य उल्लेख गर्न योग्य छ । पहिलो, पेलेको भनाइ । पेले भन्थे, मेसीजत्तिकै अर्को कोही राम्रो खेलाडी छ भने त्यो नेयमर हुन् । अर्को, बजार प्रवद्र्धनमा उनको भाउ । उनी जत्तिको खेलाडीलाई ठूला व्यावसायिक संस्थाले आँखा लगाउनु स्वाभाविक पनि हो । नेयमरबारे यसै सम्बन्धमा अर्को एउटा तथ्यले सबैलाई अचम्म पार्न सक्छ । 

जति बेला उनी किशोर थिए । बार्सिलोना आइपुगेका पनि थिएनन् । नेयमरसँग १२ जना विशेषज्ञको समूह थियो, जसले उनलाई ब्रान्ड बनाउने प्रयास गरिरहेका थिए । ‘प्रोजेक्ट नेयमर’ का रूपमा उनीहरू नेयमरलाई व्यावसायिक अनुबन्धनका लागि तयार पारिरहेका थिए । सन् २०११ तिर नेयमरलाई सोधिएको थियो, कुन खेलाडीले प्रभाव पारेको छ भनेर । ब्राजिलकै रोबिन्हो उनका सबैभन्दा प्रिय खेलाडी थिए तर नेयमारले उनको नाम लिएनन् । बरु नाम लिए, डेविड बेकह्यामको । 

नेयमरले देखाएका उत्कृष्ट खेल हेर्ने यु–ट्युबमा करोडौं छन् । उनमा ‘ड्ेरस–सेन्स’ पनि उत्तिकै छ । सेलिब्रेटी लाइफ स्टायलका उनी पारखी हुन् । सबैलाई लोभ्याउने हेयर स्टायल पनि छ । तर यतिले कसैलाई महान फुटबल खेलाडी त बनाउने गर्दैन । उनका एक पुराना ब्राजिली प्रशिक्षकले भनेका थिए, ‘नेयमर खालि मासु र हाडले मात्र बनेका छन् । त्यसमा ठीक आकारको कमी छ । उनमा महान खेलाडी हुने गुणको कमी छ । उनी एक्लैले खेल पल्टाउन सक्दैनन् ।’

तर यो पछिल्लो समय सत्य साबित भएको भने छैन । जति बेला दबाब हुन्छ, नेयमरले खेलेर देखाएका छन् । सान्तोसलाई उनले सन् २०११ मा कोपा लिबर्टोडोरेस दिलाए । सन् २०१४ को विश्वकपमा चिलीविरुद्ध निर्णायक गोल गर्ने उनी नै थिए । त्यसको पनि दुई वर्षपछि ब्राजिजलाई पहिलो ओलम्पिक स्वर्ण दिलाउने पनि त उनी नै थिए । अहिले बार्सिलोनाका लागि नेयमरले यस्तै खेले खेलेका छन् । पहिलो हाफमा उनले फ्रि–किकबाट गरेको गोल कम्ता उत्कृष्ट थिएन । 

सायद अहिले आएर नेयमरले मेसीबाट आफू मानसिक रूपमा खेलका क्रममा कसरी बलियो हुने सिकेका छन् । मेसीले उनका लागि पेनाल्टी प्रहारको अवसर छोड्नुको अर्थ नेयमर नै अब बार्सिलोनाका लागि सबैभन्दा मुख्य खेलाडी भयो भन्ने पनि होइन । मेसीमा अझै केही वर्षको उत्कृष्ट खेल बाँकी छ । तर मेसीपछि बार्सिलोना सम्हाल्ने पालो र जिम्मेवारी दुवै नेयमरकै हुनसक्छ । नेयमर अहिले त्यसै बाटोमा छन् । त्यसैले उनी निर्णायक पनि हुन थालेका छन्, महत्त्वपूर्ण खेलमा ।

-न्युयोर्क टाइम्स

प्रकाशित : फाल्गुन ३०, २०७३ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?