तेन्जिङ ६ स्ट्रोक अगाडि

सेन्ट्रल ओपन गल्फ
कान्तिपुर संवाददाता

काठमाडौं — एमेच्योर गल्फर तेन्जिङ छिरिङले दुई अन्डर ७० स्कोर गर्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन मंगलबार ६ स्ट्रोकको अग्रता लिएका छन् ।

तेन्जिङ ६ स्ट्रोक अगाडि

गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६/१७ को चौथो प्रतियोगितामा दोस्रो चरणको स्कोर अन्डरमा राख्ने उनी एक्लो गल्फर हुन् । ३६ होल समाप्तिमा उनको कुल स्कोर ८ अन्डर १ सय ३६ भएको छ । ६ स्ट्रोक पछाडि परेका प्रो सञ्जय लामा (२ अन्डर १ सय ४२) दोस्रो स्थानमा छन् । उनले दोस्रो दिन इभन पार ७२ खेलेका थिए ।

एक ओभर ७३ स्कोर गरेका रवि खड्का कुल इभन पार १ सय ४४ सहित तेस्रो स्थानमा छन् । यो सिजनमा सुरुका तीनै उपाधि जितेका शिवराम श्रेष्ठले इभन पार ७२ खेले । उनी समग्रमा एक ओभर १ सय ४४ सहित चौथोमा छन् । चार ओभर ७६ स्कोर गरेका भुवन नगरकोटी पाँचौंमा रहे । उनको कुल स्कोर दुई ओभर १ सय ४६ थियो ।

एक ओभर ७३ खेलेका धनबहादुर थापा (कुल चार ओभर १ सय ४८), तीन ओभर ७५ को कार्ड बनाएका दीपक आचार्य (कुल ५ ओभर १ सय ४९) र पाँच ओभर ७७ को प्रदर्शन गरेका बलभद्र राई (कुल ६ ओभर १ सय ५०) शीर्ष आठमा छन् । एमेच्योर टंकबहादुर कार्की र प्रो जयराम श्रेष्ठ समान सात ओभर १ सय ५१ सहित शीर्ष दसमा अटाए । दुवैले दोस्रो दिन चार ओभर ७६ को कार्ड बनाएका थिए ।

तेन्जिङले बर्डी बनाउँदै खेल सुरु गरेका थिए । पाँचौं र सातौं होलमा पनि बर्डी बनाए तर आठौं होलमा बोगीमा परेपछि सुरुका नौ होलमा उनको स्कोर दुई अन्डर ३४ भयो । उनले ११ र १७ औं होलमा एक–एक स्ट्रोक जोगाए पनि १४ र १५ औंमा बोगी खेपेका थिए । त्यसैले पछिल्ला नौ होलमा उनको स्कोर इभन पार ३६ रह्यो ।

कुल ६ लाख रुपैयाँ पुरस्कारको प्रतियोगिताको दोस्रो चरणसम्म १४ ओभर १ सय ५८ सम्म रहेका २१ प्रो र ६ एमेच्योर ‘कट’ बनाएर फाइनल चरण पुगेका छन् । उनीहरूले बाँकी ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?