कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुर हिरो हाफ म्याराथन विजेतालाई स्कुटर

काठमाडौं — सातौं कान्तिपुर–हिरो हाफ म्याराथनमा महिला र पुरुष दुवैका विजेताले ५० हजार रुपैयाँसहित स्कुटर पाउने भएका छन् । छैटौं संस्करण विजेताले ५०–५० हजार मात्र पाएका थिए ।

कान्तिपुर हिरो हाफ म्याराथन विजेतालाई स्कुटर

सातौं संस्करण फागुन ७ मा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत् आयोजक कान्तिपुर पब्लिकेशन्सले जनाएको छ । यसपालि पनि २१ किलोमिटरको हाफ म्याराथन, ह्विलचेयर (३ किमि) र कर्पोरेट–मिडिया (५ किमि) को दौड समावेश गरिएको छ ।

‘तीन हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ,’ कान्तिपुरका सहायक महाप्रबन्धक महेश स्वाँरले भने, ‘अर्को वर्ष पब्लिकेशन्सको २५ औं वार्षिकोत्सव मनाउँदै छौं र त्यसबेला पुरस्कार राशि पनि वृद्धि गरेर हाफ म्याराथनलाई दक्षिण एसियाली स्तरको बनाउने छौं ।’ कान्तिपुरले वार्षिकोत्सवका अवसरमा २०६७ सालबाट सुरु गरेको हाफ म्याराथन बर्सेनि हुँदै आएको छ ।

‘गतवर्ष कोर्स रेकर्ड बनाउनेका लागि राखिएको स्कुटर पुरस्कार फिर्ता लानुपर्‍यो । त्यसबेला नै स्कुटर कुनै खेलाडीलाई दिन पाए हुन्थ्यो भन्ने लागेको थियो । त्यसैले यसपालि महिला र पुरुष विजेतालाई हिरो ड्यास स्कुटर दिन लागिएको हो,’ नेपाल जनरल मार्केटिङकी शीतल दाहालले बताइन् । महिला र पुरुषलाई समान पुरस्कार राखिएको छ । 

उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँसहित मोबाइल पनि पाउने छन् । चौथोले १० हजार, पाँचौंले ५ हजार र छैटौं स्थानमा रहनेले ३ हजार पाउने छन् ।

ह्विलचेयर दौडमा पुरस्कार दोब्बर बनाइएको छ । यसमा महिला र पुरुष दुवैमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्राले ५ हजार प्राप्त गर्नेछन् । अधिकृत वा सोभन्दा माथिल्लो पदका कर्मचारीमा मात्र सहभागी हुन पाउने कर्पोरेट–मिडियाका विजेताले काठमाडौं–सिंगापुर–काठमाडौं, दोस्रोले काठमाडौं–पोखरा–काठमाडौं र तेस्राले माउन्टेन फ्लाइटको टिकट पाउने छन् । माघ १५ देखि नै नाम दर्ता सुरु भइसकेको र यो फागुन १ सम्म चल्ने जनाइएको छ ।

हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाउने धावकलाई प्रोत्साहनस्वरुप २५ हजार दिइने बताइएको छ । ‘निर्माण भइरहेका र विभिन्न समस्याका कारण यसपालि दौडको कोर्स पनि परिवर्तन गरिएको छ,’ कान्तिपुर–हिरो हाफ म्याराथनका कोर्स निर्देशक सुशील नरसिह राणाले बताए ।

कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट दौड सुरु हुनेछ । त्यसपछि माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, गठ्ठाघर, सानोठिमी, भक्तपुरको सल्लाघारी चोक हँुदै कटुन्जे नजिक पुगी फर्केर सल्लाघारी चोक, ठिमी, गठ्ठाघर, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर हुँदै सेन्ट्रल बिजेनस पार्कमा आएर दौड टुंगिनेछ ।

प्रकाशित : माघ १८, २०७३ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?