१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालको कठिन जित

पर्वत पोर्तेल

सिलिगुडी (भारत) — गोलको वर्षामा ‘ब्रेक’ लागे पनि नेपाल शुक्रबार श्रीलंकालाई १–० ले पन्छाउँदै समूह विजेताका रूपमा चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

नेपालको कठिन जित

कञ्चनजंघा स्टेडियममा लगातार तीन जितसँगै नौ अंक बनाएर नेपालले समूह ‘ए’ विजेताका रूपमा निरन्तर चौथोपल्ट क्षेत्रीय फुटबलको अन्तिम चारको यात्रा तय गरेको हो । नेपालसँगै यो समूहबाट माल्दिभ्स ६ अंक जोड्दै उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसले शुक्रबारको दोस्रो खेलमा भुटानलाई ३–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालले सुरुमा दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको थियो । त्यसमा ११ गोल गरेकी फरवार्ड सावित्रा भण्डारी कडा निगरानीमा परेपछि नेपाली टिमले समूह चरणको अन्तिम खेलमा गोल गर्न सकेन ।
खेलको अन्त्यतिर श्रीलंकाली डिफेन्डर आरडीएलआरले आत्मघाती गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । उनले सपना लामाको कर्नरमा बल क्लियर गर्ने प्रयासमा ८७ औं मिनेटमा आत्मघाती गोल गरेकी थिइन् । नेपाली खेलाडीले भारतबाहेक दक्षिण एसियाली टिमसँगको प्रतिस्पर्धामा गोल गर्न नसकेको यो नै पहिलो हो ।
आत्मघाती गोलकै सहयोगमा भए पनि नेपालले श्रीलंकासँगको भेटमा शतप्रतिशत जितलाई पाँचौं खेलसम्म पुर्‍याएको छ । नेपालले यसअघि श्रीलंकालाई ११ औं दक्षिण एसियाली खेलकुद (साग/२०१०) मा ८–०, दोस्रो साफ/२०१२ मा ३–०, चौथो साफ/२०१४ मा ३–० र १२ औं साग/२०१६ मा ४–० ले पराजित गरेको थियो । सिलोङमा गत वर्ष भएको १२ औं सागमा सावित्रा भण्डारीले दुई र सपना लामाले एक गोल गरेका थिए । तर, सिलिगुडीमा उनीहरू चल्न सकेनन् । १५ वर्षीया अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिएको नेपालले सुरुबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । तर, रक्षात्मक रणनीति लिएको श्रीलंकालाई चिर्न सकेन । सावित्रासहित नेपालका मुख्य खेलाडीलाई श्रीलंकाले खुलेर खेल्न दिएको थिएन । पूरा खेलमा श्रीलंकाली खेलाडी आफ्नै पेनाल्टी क्षेत्रवरिपरि नेपालको आक्रमण रोक्न व्यस्त देखिन्थे ।
श्रीलंकाली गोलकिपर साइना विजेरत्नेले नेपालको केही आक्रमण असफल पारेकी थिइन् भने केही प्रहार बाहिरिएका थिए । अग्रपंक्तिमा सावित्राकी ‘पार्टनर’ शर्मिला थापाले पनि सटीक प्रहार गर्न सकिनन् । दोस्रो हाफमा उनको स्थान लिएकी फरवार्ड सरु लिम्बूले पनि गोलको खाता खोल्न सकिनन् ।
‘खेलाडीको प्रदर्शन राम्रो भए पनि श्रीलंकाले रक्षात्मक खेल्दा गोल गर्न सकिएन,’ नेपालका मुख्य प्रशिक्षक कुमार थापाले भने, ‘शारीरिक रूपमा श्रीलंकाली खेलाडी बलिया थिए, हामी पनि कमजोर थिएनौं । हामीलाई रोक्ने विपक्षी प्रशिक्षकको रणनीति सफल भयो । फुटबलमा यस्तो हुन्छ ।’ तीन खेलमा सबै खेलाडी (२०) लाई प्रयोग गरेका उनले अन्तिम समयमा अञ्जनाको स्थानमा पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई गोलपोस्ट सम्हाल्न लगाएका थिए ।
श्रीलंकाली प्रशिक्षक एम रत्नम मोहम्मद जस्मिनले नेपाललाई बराबरीमा रोक्ने रणनीति सफल नभएको बताए । ‘नेपालका मुख्य चार खेलाडीलाई कडा निगरानीमा राखेका थियौं तर अन्तिममा डिफेन्डरको कमजोरीले पराजय बेहोर्न बाध्य भयौं,’ उनले भने ।
साफ महिला च्याम्पियनसिपमा नेपाल लगातार तीनपल्टको उपविजेता हो । अघिल्ला तीनै संस्करण जितेको भारत र बंगलादेशले समूह ‘बी’ मा आपसमा खेल्नुअघि नै चौथो साफको सेमिफाइनल यात्रा तय गरिसकेका छन् । यी दुईबीच शनिबार हुने खेलले नेपालको प्रतिद्वन्द्वीको टुंगो लगाउनेछ ।

प्रकाशित : पुस १६, २०७३ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?