रत्नजित र विष्णुको जित

नेपाल इन्टरनेसनल सिरिज
कान्तिपुर संवाददाता

काठमाडौं — एक दशकपछि नेपालमा आयोजित अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ‘नेपाल इन्टरनेसनल सिरिज’ को पहिलो दिन मंगलबार घरेलु खेलाडीका लागि खासै सुखद् रहेन ।

नेपालका नम्बर १ खेलाडी रत्नजित तामाङ र विष्णु कटवालले जित हात पारे भने दीपेश धामीले ‘वाकओभर’ पाए । सिंगल्समा १३ स्वदेशी खेलाडीको चुनौती भने पहिलो चरणमै टुंगियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टीलाई २१–१६ र २५–२३ ले पराजित गर्दै पुरुष सिंगल्समा दोस्रो चरणको यात्रा तय गरे । प्रतियोगितामा तेस्रो वरीयताका उनले त्यसका लागि ३५ मिनेट लगाए । विष्णुले बंगलादेशका मोआज्जम होसैनको चुनौती २१–१९ र २१–१५ ले २५ मिनेटमै समाप्त पार्दै पहिलो चरण पार गरे ।

दीपेश धामीले भने इन्डोनेसियाका इमाम अदि कुसुमाबाट वाकओभर पाए । पुरुष सिंगल्समा सहभागी नेपाली खेलाडीहरू इरफान अन्सारी, सुमन लिम्बू, दीपक बोहरा, विजित थापामगर, जोसेफ अधिकारी, भूगोल गुरुङ, सुदीप सेढाईं, सन्जीव खडका पहिलो चरणमै पराजित भए । भियतनामी खेलाडीलाई प्रतिद्वन्द्वी पाएका साजनकृष्ण ताम्राकार पहिलो सेटमै रिटायर्ड भए ।
वुमेन्स सिंगल्समा कोर्टमा ओर्लिएका चारै नेपाली खेलाडी पराजित भए र त्यसमा सुनैना मुखिया, शोभा गौचन, अनुमाया राई र जेसिका गुरुङ रहे । मिक्स डबल्समा दीपेश धामी र पूजा श्रेष्ठको जोडीले भारतीय खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा २१–१८, २०–२२ र २१–८ को हार बेहोर्‍यो ।

प्रकाशित : मंसिर २९, २०७३ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीलाई उपाधि

कान्तिपुर संवाददाता

कञ्चनपुर — क्षेत्रीय महिला क्रिकेट प्रतियोगितामा बैतडी च्याम्पियन भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा मंगलबार बैतडीले कञ्चनपुरलाई सुपर ओभरमा पराजित गरेको हो ।

सुपर ओभरमा कञ्चनपुरले दिएको १३ रनको लक्ष्य बैतडीले सहजै पूरा गर्‍यो । उसका लागि अञ्जली चन्दले ५ बलमा ११ र रेखा रावलले १ बलमा २ रन बनाइन् । सुपर ओभरमा पहिले ब्याटिङ गर्दै कविता जोशीको ९ र रोशनी बोहराको ३ रनको योगदानमा कञ्चनपुरले १२ रन बनाएको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको बैतडीले २ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो । उसका लागि ओपनरद्वय रेखा रावल र मञ्जु बोगटीले ७५ रनको साझेदारी गरेका थिए ।

रेखाले ३६ र मञ्जुले २८ रनको योगदान गरे । साथै चेतना बोहरा र अञ्जली चन्दले समान १५/१५ रन बनाए । वलिङतर्फ कञ्चनपुरकी डली भट्टले एक मात्र विकेट लिइन ।

प्रकाशित : मंसिर २९, २०७३ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×