एन्फाद्वारा विद्रोहीलाई वर्खास्त

काठमाडौं — फुटबलमा विद्रोह गर्दै आएका तीन पदाधिकारीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्खास्त गरेको छ ।

एन्फाले उपाध्यक्षद्धय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा सदस्य पंकजविक्रम नेम्बाङलाई अर्को साधरण सभासम्मका लागि वर्खास्त गरेको हो ।
एन्फाको सोमबार बिहान बसेको कार्यकारि समितिको बैठकले यस्तो निर्णय गरेको हो । एन्फाले आफ्नो विधानको धारा ३५ (१) तथा (२) बमोजिम तीन पदाधिकारीलाई कार्यबार्ही गरेको जनाएको छ । समयमा जबाफ नपठाएको र चित्र बुझ्दो उत्तर नआएका कारण कार्यसमितिले यो निर्णय लिएको एन्फाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र श्रेष्ठले जनाए ।
‘विना सुचना लगातार तीन पटकसम्म कार्यसमितिको बैठकमा अनुपस्थित रहेका कारण एन्फाले वहाँहरुलाई ३५ दिन भित्र जबाफ पठाउनु भनेर स्पष्टिकरण सोधेको थियो,’ श्रेष्ठले भने, ‘वहाँहरुले तोकिएको समयपछि मात्र जबाफ पठाउनु भयो, त्यो पनि चित्त बुझ्दो थिएन् । स्पष्टिकरणको बाहिरको जबाफ थियो । त्यही अनुरुप आफ्नो विधानको रक्षा गर्न एन्फाले यो निर्णय गरेको हो ।’
फुटबलको विकासका लागि भनेर पनि वर्खास्त पदाधिकारीहरुलाई धेरै समय दिइएको तर उल्टो एन्फाको विधान विपरित अदालत गएकोले कार्यबाही गर्न बाध्य भएको श्रेष्ठको भनाई थियो । आफैले निर्माण गरेको विधान तथा सोहि विधान बमोजिम निर्वाचित समेत भएका व्यक्ति त्यसको विपरित अदालत गएकाले सो विषमा तीन पदाधिकारीलाई ७ दिन भित्र लिखित रुपमा स्पष्टिकरण पेश गर्न कार्यसमितिले पत्रचार गर्ने निर्णय गरेको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले तीन पदाधिकारीलाई साधरण सभामा बोलाएर सफाइको अवसर दिइने रहेको जनाए । उनले साधारण सभाले सफाइ दिएमा तीन पदाधिकारीहरुको बारेमा अहिले गरिएको निर्णय सवै बदर हुने जनाए । एन्फाले साधरण सभा जतिसक्दो चाँडो गर्ने प्रयास गरिरहेको जनाए ।
एन्फाको साधरण सभाले कार्यबहाक उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गरेर वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको थियो । त्यस्तै तीन पदाधिकारिलाई कार्वाहीपछि रिक्त रहेको पदमा पनि मनोनयन गरिएको छ । जसअनुसार सहायक महासचिव मणि कुँवर र वीरवहादुर खड्का तथा पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष सन्तोष बानियालाई उपाध्यक्षमा र थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीलाई सदस्यमा मनोनित गरेको छ । त्यसपछि रिक्त रहेको सहायक महासचिवमा महावीर क्लबका अध्यक्ष दीवाकर घले र एन्फाका विकास निर्देशक सन्जिव मिश्रलाई तथा पूर्वाञ्चल क्षेत्रीय अध्यक्षमा झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङलाई मनोनयन गरेको छ ।
प्रकाशित : आश्विन १२, २०७२ ११:०५