भारतलाई ऐतिहासिक सफलता

डर्बन (एएफपी) — भारतले डर्बनमा बुधबार ऐतिहासिक सफलता हात पारेको छ । उसले विगतमा खराब प्रदर्शन गर्दै आएको त्यस मैदानमा दक्षिण अफ्रिकालाई ८७ रनले हरायो र तीन खेलको टेस्ट शृङ्खला १-१ को बराबरीमा ल्यायो ।

भारतले दोस्रो टेस्टमा जित दर्ता गरेपछि शृङ्खलाको नतिजाका लागि केपटाउनमा हुने अन्तिम टेस्ट पर्खनुपर्ने भएको छ ।
घरेलु टिम दक्षिण अफ्रिकाले शृङ्खला जित्नका लागि ३ सय ३ रन बनाउनुपर्ने थियो । तर उसले २ सय १५ रनमात्र बनायो । टिममा जाहिर खान फर्केपछि भारतको बलिङ आक्रमण बलियो भयो । उनले खेलमा छ विकेट लिए । जाहिरले दोस्रो इनिङमा ५७ रन खर्चिएर ३ विकेट हात पारे ।
अर्का 'सिम' बलर श्रीसान्तले उत्कृष्ट बलिङ गर्दै दोस्रो इनिङमा ४५ रन खर्चिएर ३ विकेट लिए । भारतले दिनको सुरुआत उत्कृष्ट ढंगबाट गर्‍यो । श्रीसान्तले दक्षिण अफ्रिकाका भरपर्दा ब्याट्सम्यान ज्याक कालिसलाई पेभेलियन फर्काए । कालिस वीरेन्द्र सहवागको हातबाट स्लिपमा समातिए । भारतको जितमा अम्पायरको पनि राम्रो साथ रह्यो । हरभजन सिंहको 'ओभर द विकेट' बलिङमा एबी डे भिल्लर्सलाई अम्पायरले एलबीडब्लू आउट दिए । पछि टेलिभिजन रिप्लेमा हेर्दा बल 'स्ट्रम' माथिबाट जाने देखिएको थियो । त्यस्तै घटना खतरनाक मार्क बाउचरलाई समेत पर्‍यो । उनलाई जाहिरले एलबीडब्लू आउट गरे ।
अम्पायर स्टेभ डेभिसले एलबीडब्लू दिएपछि रिप्लेमा हेर्दा बल 'अफस्ट्रम' माथि गएको देखिएको थियो । पुरानो बललाई 'रिभर्स स्विङ' गराउँदै जाहिरले पछिल्ला क्रमका विपक्षी ब्याट्सम्यानलाई छिट्टै आउट गरे । भीभीएस लक्ष्मणले गरेको गतिलो ब्याटिङमा भारतको जितको आधार बनेको थियो । दोस्रो टेस्टमा ४० भन्दा बढी स्कोर गर्ने एकमात्र खेलाडी बनेका लक्ष्मणले पहिलो इनिङमा ३८ र दोस्रोमा ९६ रन बटुले । हरभजनले उत्कृष्ट प्रदर्शन गर्दै १० रनमा ४ विकेट लिए । भारतले पहिलो इनिङमा ७४ रनको अग्रता लिएको थियो । पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २ सय ५ रन जोडेको थियो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा १ सय ३१ रनमात्र बनायो । भारतले दोस्रो इनिङमा २ सय २८ रन जोडेको थियो ।

प्रकाशित : पुस १५, २०६७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?