मनाङ-मस्र्याङ्दी उपाधिनजिक

पोखरा — मनाङ-मस्र्याङ्दी क्लब एपीएफलाई हराउँदै २३ औं आदर्श कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढिकमा बुधबार भएको सेमिफाइनलमा मनाङ एपीएफलाई सडनडेथमा ४-३ ले हराउँदै उपाधिनजिक पुगेको हो ।


मनाङले उपाधिका लागि शुक्रबार आरसीटी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित र अतिरिक्त समयको प्रतिस्पर्धा १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पाँच-पाँचजनाको प्रहारमा ३-३ गोल भएको थियो । मनाङका टासी छिरिङ, दीपक भुसाल, सन्तोष साहुखल र गणेश खडकाले गोल गरेका थिए । एपीएफका सुदीप श्रेष्ठ, नीराजन मल्ल र अमित श्रेष्ठको प्रहारले पोस्टको दिशा लिएको थियो ।
सडनडेथमा एपीएफका कृष्ण लामाको प्रहार बाहिरिएपछि मनाङको विजयको ढोका खुलेको थियो । मनाङका लागि सडनडेथमा गणेश खडकाले गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए ।
यसअघि टाइब्रेकरमा एपीएफका गणेश लावतीको प्रहार खेर गएको थियो । लावती, खरोप मगर र कृष्ण लामाको प्रहार गोलमा परिणत हुन सकेन । मनाङका संगीत राई र सुजल श्रेष्ठको प्रहार विपक्षी गोलकिपरले बचाएका थिए ।
खेल सुरु भएको तेस्रो मिनेटमै गणेश लावतीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । एक्लो प्रयासमा दोस्रो बार च्याप्दै हिर्काएको बल बारमा लागेर जाली चुम्न पुगेको थियो । खेल सकिन दस मिनेट बाँकी रहेको अवस्थामा कप्तान टासी छिरिङले
गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । ९० मिनेट र थपिएको ३० मिनेटमा थप गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
 

प्रकाशित : पुस १५, २०६७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?