कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा निर्वाचनमा कसले कति खर्च गरे  ?

मोरङ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारले निर्वाचन आयोगको कार्यालयमा धमाधम खर्च विवरण बुझाइरहेका छन् । स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले जरिबाना गरेकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएकाहरूले समयअगावै धमाधम खर्च विवरण बुझाउँदै छन् । 

मोरङमा निर्वाचनमा कसले कति खर्च गरे  ?

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन्दा बढी मतदाता रहेको मोरङमा प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभा सदस्यमा १ सय १० गरी २ सय १५ उम्मेदवार थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको यस जिल्लाका अधिकांश उम्मेदवारले प्रदेश १ निर्वाचन आयोगको कार्यालय विराटनगरमा खर्च विवरण बुझाएका छन् । २ सय १५ उम्मेदवारमध्ये २ सय ११ जनाले खर्च विवरण बुझाइसकेका छन् । अब ४ जनाले मात्रै खर्च विवरण बुझाउन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा सबभन्दा बढी खर्च गर्ने प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवारमध्ये शिक्षण अस्पताल सञ्चालक कांग्रेसका सुनील शर्मा र प्रदेशसभा सदस्यतर्फका उम्मेदवारमध्ये एमालेका अधिवक्ता लीलाबल्लभ अधिकारी छन् । मोरङ क्षेत्र १ का प्रतिनिधिसभा सदस्य कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूको ७ लाख ७४ हजार रुपैयाँ खर्च हुँदा उनका निकटतम एमालेका घनश्याम खतिवडाले १४ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका ऋषिकेश पोखरेलले १९ लाख ९९ हजार र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुजाता कोइरालाले १७ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

यस्तै, क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचत कांग्रेसका सुनीलकुमार शर्माले ३० लाख ६४ हजार र दोस्रो हुने पूर्वमन्त्री एमालेका भानुभक्त ढकालले ११ लाख ५० हजार मात्रै खर्च भएको विवरण बुझाएका छन् । शर्मा र ढकालसँग प्रतिस्पर्धा गरेकी राप्रपाकी अभिनेत्री रेखा थापाले ३ लाख ९ हजार रुपैयाँ मात्रै खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् ।

यस्तै, क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अमनलाल मोदीले १९ लाख २९ हजार र प्रतिस्पर्धी एमालेका विनोदप्रसाद ढकालले २६ लाख ४८ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । यस्तै, क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित योगेन्द्र मण्डलले १४ लाख ७० हजार र प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले ८ लाख ६७ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

मण्डलद्वयसँग प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ लाख ५० हजारको विवरण बुझाएका छन् । यो क्षेत्रमा निर्वाचित र निकटतम प्रतिद्वन्द्वीभन्दा तेस्रो स्थानको मत प्राप्त गरेका यादवले बढी खर्च भएको विवरण बुझाएका हुन् ।

यस्तै, क्षेत्र ६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता शेखर कोइरालाले १९ लाख ८१ हजार र दोस्रो स्थानमा रहेका एमालेका लालबाबु पण्डितले १५ लाख खर्च भएको विवरण बुझाएका छन् ।

प्रकाशित : पुस १४, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?