कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पालना भएन स्थानीय तह सञ्चालन ऐन

कान्तिपुर संवाददाता

बागलुङ (कास)– स्थानीय सरकार सञ्चालन ऐनले हरेक महिना बैठक बस्नुपर्ने प्रावधान राखेको छ  । तर, बागलुङ नगरपालिकाले महिनौंसम्म बैठक राखेको छैन  ।

बागलुङ (कास)– स्थानीय सरकार सञ्चालन ऐनले हरेक महिना बैठक बस्नुपर्ने प्रावधान राखेको छ । तर, बागलुङ नगरपालिकाले महिनौंसम्म बैठक राखेको छैन । यसले गर्दा महत्त्वपूर्ण योजनाका काम प्रभावित हुने गरेका छन् ।


गत वर्ष मंसिर, चैत र गत असारमा मात्र बैठक बसेको थियो । गत असारको बैठक पनि नगर परिषद्मा मात्र केन्द्रित भएकाले नगर क्षेत्रको विकास निर्माण, नयाँ नीति निर्माण र अनुगमनका काम प्रभावित भएको वडाध्यक्षहरूको गुनासो छ । नगर प्रमुख विदेश भ्रमणमा जाँदा पनि बैठक नराखेको, सार्वजनिक सुनुवाइ गर्ने विषयमा एकपटक पनि चासो नराखेको र आर्थिक कारोबारका काममा पनि नगरप्रमुखले एकल निर्णय लिएको उनीहरूको आरोप छ ।


गत वर्षदेखि सञ्चालन भएको बलेवा एयरपोर्ट नियमित गर्न नीति तथा कार्यक्रममा समावेश समेत नभएकोमा पनि वडाध्यक्षहरूबीच मतमतान्तर छ । गत आर्थिक वर्ष एउटा पनि सार्वजनिक सुनुवाइका कार्यक्रम आयोजना भएन । त्यसबारे पनि वडाध्यक्षहरू असन्तुष्ट छन् । ‘ऐनको प्रावधान मिचेर धमाधम खर्च गर्ने, आफूखुसी भ्रमणमा जाने काम राम्रो होइन,’ बागलुङ ४ का वडाध्यक्ष धु्रवबहादुर केसीले भने, ‘विकास निर्माण र नमुना अभियान सञ्चालनमा भन्दा नगरप्रमुख आन्तरिक विवादमा मात्र मुछिएका छन् ।’ नगरले अलपत्र छाडेका अधिकांश काम कर्मचारीका कारण भएको भन्दै उम्कने प्रयास गरेको उनले बताए । ‘कर्मचारीले काम गर्न नदिएको भए को–को हुन् ? उनीहरूलाई सार्वजनिक गरौं भन्दा नमान्ने,’ उनले भने ‘गरेनन् भनेर मात्र भएन ।’ जनप्रतिनिधिले के गरियो भनेर जवाफ दिने ठाउँ बनाउन नसकेको उनले बताए ।


अघिल्लो वर्षका कामको समीक्षा गर्न नगरप्रमुख तयार नभएपछि मंगलबारदेखि सुरु भएको नगरपालिकाको बैठक अवरुद्ध भएको छ । नगरप्रमुखले ल्याउन खोजेका एजेन्डामा नगर कार्यपालिका प्रवेश नगरेको ८ का वडाध्यक्ष राजन केसीले बताए । ‘नियमित बैठक गरौं, सानातिना समस्या पनि समयमै पार लगाऔं भनेका हौं तर, लामो समयसम्म बैठक नबसेको कारण बताउन पनि अप्ठ्यारो मान्नुभएको छ,’ उनले भने, ‘ऐनमा हरेक महिना बैठक बस्नुपर्ने भनेकोमा हामीले उल्लंघन गर्न मिल्दैन ।’ नगर प्रमुखको कामबाट पटकपटक उपप्रमुख सुरेन्द्र खड्काले पनि असन्तुष्टि जनाइरहेका छन् ।


असारे विकास र दसैं लक्षित विकासका लागि खर्च भएको बजेटबारे पनि बिनानिर्णय निकासा भएको वडाध्यक्षहरूको आरोप छ । हाल एक करोडभन्दा बढी रकम सडक मर्मत लगायतमा खर्च भइरहेको छ । ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रममा भएको खर्चबारे पनि बैठकको एजेन्डा नबनेको सार्वजनिक टिप्पणी भइरहेको छ । नगरप्रमुख जनकराज पौडेलले भने विदेश भ्रमण व्यक्तिगत खर्चमा गएको बताए । कतिपय काम व्यावहारिक रूपमा गरेर पछि पास गर्ने बाध्यता हुने बताए । ‘बैठकको निर्णयबाटै काम भएका छन्,’ उनले भने, ‘केही अपर्झट र ससर्त आएका बजेटमा कार्यपालिकको निर्णय कुरिरहनु पर्दैन ।’ काम नरोकिनेगरी अगाडि बढाउन पहल गरेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?