रारामा बृहत् सरसफाइ

सरसफाइमा सेना, प्रहरी, रारा निकुञ्जका कर्मचारी, स्थानीयवासीको सहभागिता रहेको थियो ।

मुगु — कर्णाली रारा पर्यटन वर्ष उद्घाटनको दोस्रो दिन रारामा बृहत् सरसफाइ गरिएको छ । पर्यटन वर्ष उद्घाटनको समयमा रारा ताल किनार तथा वरपरका क्षेत्रमा भएको फोहर व्यवस्थापनका लागि सरसफाइ गरिएको हो ।

रारामा बृहत् सरसफाइ

रारा ताल र आसपासका क्षेत्रमा फालिएका प्लास्टिकजन्य सामग्री, सिसा, बोतललगायत फोहोर संकलन गरी खाल्डामा पुरिएको छ । सरसफाइमा सेना, प्रहरी, रारा निकुञ्जका कर्मचारी, स्थानीयवासीको सहभागिता थियो । करिब तीन सय जनाको समूहले रारा सरसफाइमा सहभागिता जनाएका हुन् । राराको प्राकृतिक सुन्दरता बचाउन सरसफाइ अभियान थालिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनाए । उनका अनुसार पर्यटन वर्षका अवसरमा रारामा यस वर्ष धेरै पर्यटक भित्रने र ताल वरिपरिको क्षेत्र फोहोर हुने भएकाले नियमित रूपमा सरसफाइ गरिनेछ ।


पर्यटन वर्ष उद्घाटनका दिनमा रारा वरपर फालिएका फोहोरजन्य सामग्री खाल्डामा पुरिएको उनको भनाइ छ । मिलीचौदेखि ओखरबोट हुटु निजार हुँदै डाँफे र हेरिटेज रिसोर्टसम्मका क्षेत्रको फोहोर संकलन गरी नष्ट गरिएको हो । रारामा फोहोर हुन नदिन आसपासका क्षेत्रमा डस्टबिनको समेत व्यवस्था गरिएको मूल आयोजक समितिले जनाएको छ । पर्यटन वर्ष उद्घाटनमा रारा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राराको सुन्दरता जोगाउन स्थानीयलाई आग्रह गरेका थिए ।


गन्तव्यमा फर्कंदै पाहुना
कर्णाली रारा पर्यटन वर्षको उद्घाटनमा आएका कर्णाली प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायत आन्तरिक पर्यटकहरू गन्तव्यमा फर्कन थालेका छन् । पर्यटन वर्ष उद्घाटनका बेला आएका अतिथि तथा आन्तरिक पर्यटक फर्कन थालेपछि चाप घटै गएको भिलेज हेरिटेज रिसोर्टका स्टेसन म्यानेजर दीपक रावतले बताए । उनका अनुसार आइतबार बिहानसम्म खाना र बासको व्यवस्था मिलाउन तथा पर्यटकको व्यवस्थापनमा समस्या थियो ।


जिल्ला बाहिरबाट आएका पाहुना सडक र हवाईमार्गबाट गन्तव्यमा फर्कन थालेका हुन् । आसपासका जिल्लाहरू जुम्ला, बाजुरा, कालिकोट र जिल्लाभित्रका बासिन्दा भने पैदलै गन्तव्यमा फर्किएका छन् ।


पर्यटन वर्ष उद्घाटनको दिन शनिबार करिब पाँच हजार स्थानीयको सहभागिता रहेको जिल्ला मूल समारोह समितिले जनाएको छ । पाहुनालाई बस्ने व्यवस्था राम्रो गरेको हुँदा यो पटक रारामा पाहुना र पर्यटकले खाना र बासको गुनासो नगरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?