फुटबल खेलजस्तो होइन चुनाव

अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा प्राप्त भएपछि नेपालको राजनीतिले नयाँ मोड लिने निश्चित छ । अहिलेको माहोलबाट पछिसम्म लोकतान्त्रिक र वाम गठबन्धन बाहेक शासनसत्तामा अरू दलको हालीमुहाली हुनसक्ने देखिँंदैन ।

तथापि ठूलो महत्त्वाकांक्षा र स्वार्थ बोकेर गठबन्धनभित्र घुस्ने सिद्धान्तविहीन नेताहरूले कुर्सीको लागि किचलो खडा गर्ने र जनचाहना विपरीत पद ओगटेर फेरि डाडु–पुन्यु नघुमाउलान् भन्ने अवस्था पनि छैन । यो कुरा शेरबहादुर देउवा र केपी शर्मा ओलीले पनि बुझेको हुनुपर्छ । कुर्सी नपाई बोल्न नसक्ने स्वार्थी नेताका कारण अहिलेको चुनाव खेलकुदको प्रतिस्पर्धाजस्तो बन्न पुगेको छ, अर्थात् जसरी हुन्छ, चुनाव जित्ने, आफूलाई सर्वोत्कृष्ट ठानेर हार्नेको कुरा नसुन्ने प्रवृत्ति बढेको छ । हार्नेले पनि सकारात्मक बनेर प्रतिपक्षीको भूमिका निर्वाह गर्नुको साटो सत्तामा पुग्नेलाई धारेहात लाइरहने, कहिल्यै सरकारको कामप्रति सकारात्मक नबन्ने, सिर्जनात्मक काम गर्न नदिने, कूटनीति ध्वस्त पार्न पछि नपर्ने, जथाभावी सार्वजनिक अभिव्यक्ति दिएर हिँंड्ने, स्वार्थसिद्धिका लागि जनता 
भड्काउने जस्ता निकृष्ट क्रियाकलापलाई राजनीतिक संस्कार बनाइसकेका छन् । अधिनायकवादी सोचतर्फ उन्मुख भई अबका शासकले चुनावी खर्च उठाउन भ्रष्टाचारलाई आत्मसाथ गर्दै दसौं गुणा रकम उठाउन अग्रसर नहोलान् भन्न पनि सकिंँदैन । खेलकुदमा हार्ने टोली तत्काल निराश भएर फर्कनुको विकल्प रहँदैन । तर राजनीतिमा देश र जनताप्रति शीर्ष नेतृत्वको जिम्मेवारी सदावहार रहनु वाञ्छनीय देखिन्छ । त्यसैले जुन हिसाबबाट हालको चुनावलाई महाभारतको युद्ध या महासंग्रामको नाम दिई व्यक्ति विशेषलाई उचाल्ने र पछार्ने किसिमबाट प्रचार–प्रसार भएको छ, त्यसलाई नजरअन्दाज गर्दै जित्ने–हार्ने सबै राजनेताले विकासको एउटै स्वर निकालेर हिँंड्नु अपरिहार्य देखिन्छ ।
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : मंसिर २२, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?