कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पूर्वी रुकुमबाट बैंकिङ कारोबार

रुकुम (पूर्व) — गत असोज १९ देखि औपचारिक रूपमा छुट्टै जिल्लाका रूपमा कामकाज सुरु गरेको रुकुमपूर्वका सरकारी, गैरसकारी कार्यालय र सर्वसाधारण बैंकिङ कारोबारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता टरेको छ । सदरमुकाम रुकुमकोटमा नेपाल बैंक लिमिटेड शाखा स्थापनासँगै अब रुकुम पूर्ववासी बैंकिङ कारोबारका लागि अर्को जिल्ला पश्चिम जानुपर्ने बाध्यता टरेको हो ।

नेपाल बैंक लिमिटेडले जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको परिसरबाट मंगलबारदेखि सेवा दिन थालेको छ । यसअघि बैंकिङ कारोबारका लागि यहाँका सबै स्थानीय तह, सरकारी कार्यालय, विद्यालय तथा सर्वसाधारण रुकुम पश्चिमको सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता थियो । यी निकायले नेपाल बैंक लिमिटेडमा मात्रै कारोबार गर्ने गरेका छन् । 
लामो समयको प्रयासपछि रुकुमकोटमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय स्थापना भई सेवा थालिएको स्थानीय विकास अधिकारी चिन्तामणि दाहालले बताए । ‘यो पहल पहिल्यै भएको थियो, बल्ल सफलता मिलेको छ,’ दाहालले भने, ‘अब सरकारी कार्यालय, विद्यालय तथा जिल्लावासीलाई बैंकिङ कारोबारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हटेको छ ।’
रुकुम पूर्ववासीले बैंकिङ कामका लागि १ देखि २ दिनसम्म रुकुम पश्चिम खलंगामा बिताउनुपर्ने बाध्यता थियो । रुकुम पूर्वमा ३ स्थानीय तह छन्, दर्जन सरकारी कार्यालय खुलिसकेका छन् । त्यसैगरी विद्यालय र कतिपय व्यक्तिगत र पेन्सनका खाताका लागि पनि रुकुम पूर्वका सर्वसाधारण पश्चिमको सदरमुकाम पुग्नैपर्ने थियो । नेपाल बैंक लिमिटेडले कारोबार थालेपछि अब बैंकिङ कारोबारमा सजिलो हुने पुथाउत्तरगंगाका अध्यक्ष ओमप्रसाद घर्ती मगरले बताए । बंैकिङ कारोबारका लागि अर्को जिल्ला जानुपर्दा झन्झटिलो र अनावश्यक समय खर्चनुपर्ने बाध्यता अब हट्ने विश्वास उनको छ । 
बैंकले सम्पूर्ण सेवा सुरु गरेको जनाए । शाखा प्रबन्धक लोकेन्द्रसिङ राठौरले बैंकले दिने सबै सेवा रुकुमकोटबाट सुरु गरिएको जानकारी दिए । ‘हामीले मंगलबारबाटै सेवा सुरु गरेका छौं, अब यस क्षेत्रका कोही पनि बैंकबाट सेवा नपाएर अन्यत्र जानुपर्ने अवस्था हुँदैन,’ शाखा प्रबन्धक राठौरले भने । पहिलो दिनमै बैंकमा सर्वसाधारणको भीड लागेको थियो । हाल जिल्ला प्रशासन र जिससको परिसरबाटै सेवा सुरु गरिए पनि केही समयपछि अर्को भवनमा सर्ने उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?