२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिलामा आश्रित कृषिकर्म

लिला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक नयाँबस्तीकी गंगा दुवाललाई यतिखेर खेतमा पहेंलिएको धान काट्न भ्याइनभ्याई छ । उनका पति वैदेशिक रोजगारका लागि कतारमा छन् । करिब पाँच रोपनी क्षेत्रफल जग्गामा लगाएको धान एक साताभित्रै नभित्र्याई नहुने उनी बताउँछिन् ।

 महिलामा आश्रित कृषिकर्म

‘एक्लैले खेती गर्न गाह्रो छ, खेताला पनि पाउन मुस्किल छ,’ उनले भनिन्, ‘ देउरानी/जेठानी, छिमेकीसँग अर्मपर्म गर्दै खेती धान्दै आएका छौं । भएको खेत बाँझै राख्न पनि त भएन नि । चार छोरीकी आमा गंगाले उब्जाएको धानले वर्षभरि खान पुग्ने बताउँछिन् ।

भक्तपुर नगरपालिका–१ दुधपाटीकी उर्मिला सिन्ताकलका टेलर सँगसँगै खेतबारीमा उत्तिकै समय दिन्छिन् । पति सजनप्रकाश सिन्ताकल फार्मेसी सञ्चालक हुन् । ‘हाल धान भित्र्याउने मौसम छ, श्रीमान्ले भ्याउनुहुन्न’, उनले भनिन्, ‘ धानको बीउ राखेदेखि सुकाएर भण्डारण गर्ने काम मैले नै गर्छु । घरका लोग्ने मान्छेलाई खेतबारीमा काम गर्नै फुर्सदै कहाँ हुन्छ । ’ त्यस्तै, दुधपाटीकै श्यामसुन्दर शिल्पकार फर्निचर व्यवसायी हुन् । उनी आफ्नो परम्परागत पेसा फर्निचरमै व्यस्त रहने गर्छन् । उनकी पत्नी नानीछोरीले कृषिकर्म गर्छिन् । 
यत्तिखेर किसानहरू धान काट्ने, झार्ने र भित्र्याउने कार्यमा व्यस्त छन् । पुरुषहरू व्यवसाय तथा जागिरमा व्यस्त भइरहँदा महिलाहरू भने कृषि पेसाप्रति प्रतिबद्ध भइरहेका छन् । ‘धानको बीउ राख्नेदेखि भित्र्याउनेसम्ममा महिलाकै हात छ’, नानीछोरीले भनिन्, ‘ श्रीमान् फर्निचर व्यवसायमा व्यस्त हुुनुहुन्छ, धानको बीउ राख्नेदेखि भण्डारण गर्नेसम्मको काम मैले गर्छु ।’ पछिल्लो केही वर्षयता परम्परागत अन्नबाली होस् या तरकारी 
खेती महिलामा आश्रित हुँदै 
गएको स्थानीय नारायण सिन्ताकलले बताए । 
पछिल्लो समय व्यावसायिक खेती गर्ने पुरुषहरूको संख्या बढेको भए पनि परम्परागत खेती धान्ने कार्य महिलाले गरेको जिल्ला कृषि विकास कार्यालय भक्तपुरले जनायो । ‘अन्य रोजगारको विकल्प नभएको र व्यावसायिक खेतीतर्फ लागेका पुरुषहरू कृषिमा आबद्ध छन्’, वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुंगानाले भनिन्, ‘परम्परागत अन्नबाली होस् या तारकारी खेती महिलामै आश्रित देखिन्छ । घरायसी काम, बालबच्चा हुर्काउने र खेती किसानीको काममा महिलाको प्रत्यक्ष रूपमा आबद्ध छन् ।’ 
ज्यालामा भेदभाव
लिकुवापोखरी खोटाङकी सीता र उनका पति धर्मरत्न बस्नेत भक्तपुरमा ज्यालादारीको काम गरेर गुजारा चलाउँछन् । सीता बिहान उठेदेखि राति नसुतेसम्म खटिएकी हुन्छिन् । ‘बिहान उठ्यो, घरआँगनको सरसफाइ गर्‍यो, खाना पकाइवरी बालबच्चालाई विद्यालय पठाएपछि काममा जान हतार हुन्छ,’ उनले भनिन्, ‘दिनभरको ज्याला–मजदुरीबाट फर्किएपछि बेलुकाको चुलोचौका पनि मेरै हातमा छ, लोग्ने मान्छेलाई त्यो जिम्मेवारी छैन ।’ 
दिनभरसँगै काममा खटिएका पति–पत्नीले पाउने ज्यालामा भने ठूलो अन्तर छ । ‘मौसमअनुसारको काम गर्छौं, आजकल धान काट्ने, चुट्ने, बोक्ने नै हो,’ उनले भनिन्, ‘हामी दुवै जना काममा उत्तिकै खट्छौं तर हामीले पाउने ज्यालामा विभेद छ । श्रीमानले खेतमा काम गर्दा ८ देखि एक हजार रुपैयाँ पाउनुहुन्छ, मैले ५ देखि ७ सय मात्र पाउँछु ।’
बालुवाखानीमा काम गर्न खोटाङबाट भक्तपुर छिरेका उनीहरू खानी बन्द भएयता (साढे दुई वर्ष) घर बनाउने, खेतबारीमा काम गर्ने गर्छन् । जुनसुकै काममा पनि महिलाको ज्याला आधा नै कम भएको उनी बताउँछिन् । ‘बालुवा बोक्दा पनि महिला/पुरुषले पाउने ज्यालाको अन्तर त्यति नै हो,’ उनले भनिन्, ‘घर बनाउने काममा पनि महिलालाई ५ सय पुरुषलाई ८ सय दिन्छ ।’ 
सिन्धुपाल्चोक चौताराकी रिना स्याङतानको कथा पनि उस्तै छ । ज्याला मजदुरीबाटै तीन जनाको परिवार धान्दै आएकी उनी र उनका पति विक्रमको कामको प्रकृति एउटै हो । 
दुवै जना धान पाक्ने मौसममा धान काट्छन्, गहुँ भित्र्याउने बेला गहुँ काट्छन् । जसले जे काममा बोलाउँछ त्यही काम गर्छन् । ‘काम गर्दा दुवैजना काँधमा काँध जोडेर खट्छौं नि खट्न त, के गर्नु महिला भएकै कारण ज्याला थोरै पाउँछु,’ उनले भनिन्, ‘जति नै समानताको कुरा गरे पनि गुजाराको कुरामा समान हुन नसकेपछि महिलालाई कमजोरीकै रूपमा लिन्छ ।’ महिलाको कामको उचित मूल्यांकन नहुने उनको गुनासो छ । ‘चुलोचौका, बालबच्चाको स्याहारको त मूल्यांकन नै छैन,’ उनले भनिन्, ‘बाहिर पति–पत्नीसँगै काम गर्दा पनि पुरुष र महिलामा भिन्नता देखाउँछन्, आखिर खटाई उत्ति नै हो ।’
अझ ज्याला वा ठेक्कामा काम गर्दा महिला नआइदिओस् जस्तो व्यवहार देखाउने उनीहरूको गुनासो छ । ‘पुरुषले भन्दा महिलाले दोब्बर खटेर काम गरेको हुन्छ,’ दोलखा दुधपोखरीकी राधिका तामाङले भनिन्, ‘घरधन्दा गर, लुगा धोउ, सरसफाइ गर, छोराछोरी स्याहारसुसार गर, 
सासू–ससुरा स्याहार अनि पतिसँगै ज्याला मजदुरी पनि गर ।’ ‘समानता त पहुँचवाला महिलाको लागि मात्रै रहेछ, ज्याला मजदुरीमा लागू हुने कहिले ?’ उनले प्रतिप्रश्न गरिन् । सार्वजनिक बसमा आरक्षण सिटको वकालत गर्नेले ज्यालाको विभेदलाई छुन नसकेको मजदुरी गर्ने महिलाहरू आक्रोश व्यक्त गर्छन् । ‘हरेक कुरामा महिला/पुरुषबीच समानताको वकालत गरिएको सुनिन्छ,’ तामाङले प्रश्न गरिन््, ‘मजदुर महिलाको कुरामा किन कसैले केही बोल्न सक्दैन ?’

प्रकाशित : कार्तिक १२, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?