२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाढीले छोपियो पश्चिम तराई

-पाँचको मृत्यु
-राजमार्ग, पुल र घर बगे
-सयौं बस्ती डुबानमा
भरतपुर ब्युरो

भरतपुर — अविरल वर्षाका कारण मध्य तथा पश्चिम तराईको जनजीवन दुई दिनयता कष्टकर बनेको छ । बाढी–पहिरोमा शनिबार साँझसम्म ५ जनाको ज्यान गएको छ । अत्यावश्यक पूर्वाधार भत्किनुका साथै बगेका छन् ।

बाढीले छोपियो पश्चिम तराई

तराईका जिल्ला जलमग्न छन् । घर र बाली डुबेका छन् । पहाडमा पहिरो र उर्लंदो खहरेले कटान गर्दै छ । नवलपरासीको दाउन्नेमा पूर्व–पश्चिम राजमार्ग बगेपछि आवतजावत ठप्प छ । 

सर्लाहीका दर्जनौं बस्ती डुबेका छन् । बाढी पसेर घर भत्किँदा र खोलाले बगाएर शनिबार दुई जनाको मृत्यु भएको छ । धनकौल गाउँपालिका १ मानपुरकी ७५ वर्षीया किशोरी रायलाई घरले थिचेर ज्यान गएको हो । त्यस्तै बरहथवा नपा–१० सीतापुरका १७ वर्षीय राकेशकुमार साहलाई सोती खोलाले बगाएको प्रहरीले जनाएको छ । अपराह्न वाग्मती नदीले बगाएर ल्याएको एक शव फेला परेको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनायो । पानी नरोकिएकाले उद्धारकार्य प्रभावित छ । हुलाकी राजमार्गसहित दक्षिणी भेगका ग्रामीण सडक ठाउँठाउँमा भासिएका छन् । सदरमुकाम मलंगवामा भने सबै नाला सफा गरेपछि शनिबार डुबान केही घटेको छ । सर्लाहीका प्रजिअ प्रदीपराज कँडेलले खैर्बा, सिसौट, भाडसर, मानपुर, मूर्तिया, छटौल, महिनाथपुर, बत्रौललगायत गाउँमा धेरै घर डुबानमा परेको बताए । 
बारामा बाढीले कच्ची घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका–९ बलधुसवास्थित वृद्धाश्रमको घर भत्किँदा ७० वर्षीय ब्रह्मदेव महतो र सिम्रौनगढ नगरपालिका ८ कचोर्वाकी गहनीदेवी पासवानको ज्यान गएको हो । स्थानीय र प्रहरीको सहयोगमा अन्य ५ जनालाई उद्धार गरियो । जमुनी खोलाबाट बाढी पसेपछि वृद्धाश्रममा १० फिट पानी जमेको स्थानीय प्रमोदप्रसाद यादवले बताए । 
मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापाखा टोलमा शनिबार बिहान पहिरोले घर पुरेपछि ५० वर्षीय मीठुमाया दानीको घटनास्थलमै मृत्यु भएको छ । १८ वर्षीया सरु खड्का घाइते छिन् । स्थानीयले उनलाई तत्काल उद्धार गरी स्वास्थ्यचौकी पुर्‍याएका थिए । पहिरो पन्छाउँदा दानीलाई भने मृत अवस्थामा फेला परेको विनोद अधिकारीले बताए । नयाँ सुवज गणको सैनिक टोली र स्थानीय मिलेर पहिरो पन्छाएका थिए । 

पुल बगे
बाराको कोल्हवी क्षेत्रमा आधा दर्जन पुल बग्दा दर्जनौं गाउँबीच सम्पर्कविच्छेद भएको छ । २० वर्षअघि बनेका सबै पुल बगाएको कोल्हवीका स्थानीय भरत भण्डारीले बताए । ‘२०५० सालमा समेत यतिको बाढी आएको थिएन,’ उनले भने । सोनाभार, जुगवा, थस्कौल, धोधड्पा, प्रगतिनगरमा रहेका पुल बगेका छन् । थुपै्र ठाउँमा कच्ची घर भत्किएका छन् । अधिकांश गाउँ डुबानमा छन् । वर्षा र बाढीले जनजीवन कष्टकर बनेको कचोर्वाका वीरेन्द्र यादवले बताए । वर्षाले उर्लिएका जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैयालगायत खहरे खोला बस्ती पसेका छन् । क्षति विवरण संकलनसँगै उद्धार कार्यको तयारी भइरहेको सहायक प्रजिअ मुकेश केसरीले बताए । 

सयौं घर डुबे 
पश्चिम तराईका सयौं घर डुबानमा छन । पानी जमेर कच्ची घर भत्किँदा धनजन क्षति बढेको छ । नवलपरासीमा २ सय घर डुबेका छन् । परासी क्षेत्र र सीमावर्ती गाउँपालिकाको जनजीवन प्रभावित छ । प्रतापपुरको अमहवा, बरगदवा, नन्नपुर सरावल गाउँपालिकाको खजुरा र झरही खोलाको बाढीले रामपुर खडौना, कुसौली, भुजहवालगायत गाउँ डुबानमा छन् । विस्थापितहरू स्कुलमा आश्रय लिइरहेका छन् । प्रजिअ उदयबहादुर रानाले शनिबार साँझपख पानी घटेकाले जनजीवन सामान्य बन्दै गएको बताए । ‘खहरे खोलाले निकास नपाउँदा केही बस्ती डुबानमा परे, उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने । 
सर्लाहीका विस्थापितलाई प्रशासनले शनिबार राहत पठाएको छ । तर, सडक बिग्रेकाले खैर्वा, सिसौटलगायत ठाउँमा पुग्न सकेको छैन । रेडक्रस, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको सहयोगमा खाद्यान्न पठाइएको हो । पानी पर्ने क्रम नरोकिएकाले वाग्मती र लखनदेही नदीको सतह बढेको छ । विभिन्न ठाउँमा खेतीयोग्य जमिन कटान भएका छन् । हरिपुरस्थित सबस्टेसनमा पानी जमेकाले विद्युत् अवरुद्ध छ । सुरक्षाटोलीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । 
बाराको सिमरास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय प्रमुख केशव घिमिरेका अनुसार तीन दिनयता १ सय ४९ दशमलव ४ मिमि वर्षा भएको छ । यो दर यस वर्षकै उच्च रहेको उनले बताए । सहरी क्षेत्रमा व्यवस्थित नाला र गाउँघरमा कुलो नहुँदा बस्ती, गाउँ, हाटबजार, विद्यालय जलमग्न छन् । 
पानी परेसँगै मौसमी गडबडीले सिमरा–काठमाडौंको उडान प्रभावित भएको सिमरा नागरिक उड्डयन कार्यालयका एयर ट्राफिक कन्ट्रोलर अमृत पोखरेलले बताए । बाढीकै कारण विद्यार्थी विद्यालय जान सकेका छैनन् । कच्ची सडक झन् बिग्रेकाले सवारी आवागमन ठप्प भएको बस व्यवसायी संघका विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँ ओहोरदोहोर गर्ने बसहरू चलेका छैनन् । सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । 
मकवानपुरमा बाढीले मनहरी गाउँपालिका २ र ४ का काठे घरसँगै दुई दर्जन माछापोखरी बगाएको छ । ‘चुरेमा खहरे बढ्दै गएकाले बस्तीहरूमा बाढी पस्ने क्रम सुरु भएको छ,’ स्थानीय रामहरि विष्टले भने, ‘यस क्षेत्रका अधिकांश माछा पोखरी बग्ने अवस्थामा छन् ।’ हाँडीखोलाको मसिने र ठाडो खोलामा सानाठूला गरी २ सयभन्दा बढी माछापोखरी छन् । जिल्लाका सबै भेगमा शनिबार मुसलधारे पानी पर्‍यो । हेटौंडास्थित राप्ती र कर्रा खोलाको सतह बढेको छ । 
रौतहटका लालबकैया, वाग्मती, चाँदी नदीको बाढीले दुई दर्जन गाउँ डुबानमा छन् । गरुडा, शिवनगर, महम्मदपुर, हर्साहा, रमौली बैरिया, जिंगडिया, ब्रह्मपुरीका स्थानीय बाढीमा फसेका छन् । चन्द्रनिगाहपुर–गौर सडक खण्डको बिर्ता, जिंगडिया, सरुअठा, सुकदेव चोकमा बाढी जमेको प्रत्यक्षदर्शीले बताए । ग्रामीण भेगको प्रहरी चौकी, इलाका प्रहरी, स्वास्थ्य चौकी, विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय पनि डुबेका छन् । 
बाढीमा फसेका महिला, बालबालिकालाई सेनाको टोलीले उद्धार गरिरहेको छ । गरुडा चिनी मिल अगाडिको बस्तीबाट शनिबार स्थानीयलाई उद्धार गरियो । चन्दपुरका ३, ४, ८, ९ वडा डुबानमा छन् । बारा र रौतहटको सिमानामा पर्ने अडुवा खोलाको बाढी बस्तीमा पसेको छ । 
विश्रामपुरमा डुबानमा परेका एक सयभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । गरुडादेखि दक्षिणको ९० प्रतिशत भूभाग डुबानमा परेको प्रजिअ उद्धवबहादुर थापाले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बसेको बैठकले स्थानीयलाई सुरक्षित स्थानमा पुग्न आग्रह गरेको छ । बाढीकै कारण पश्चिम मार्गको चन्द्रनिगाहपुर–पौराई सडकखण्ड शनिबार ८ घण्टा 
अवरुद्ध भयो । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?