१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नदी किनारको बास, बर्खामा त्रास

कान्तिपुर संवाददाता

ताप्लेजुङ — तमोरमा आएको बाढीले गत वर्ष सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगायो। मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गर्‍यो। त्यसबाट बच्न प्रत्येक रात बजारका बासिन्दा बाहिर गएर सुते।

नदी किनारको बास, बर्खामा त्रास

मित्लुङमा तमोर नदी थुनिएपछि नखोलिएसम्म बजारवासीको बसाइ नै भएन। तर, यस्तो समस्या दोभान बजारका बासिन्दाका लागि मात्रै होइन। 

नदीकिनार आसपासमा बस्नेका लागि बर्सेनिको पिरलो हो यो। खोलामा आउने बाढी, कटान, पहिरो र 
खोलो थुनिने समस्याले नदी आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। कुनै पनि यस्तो वर्ष छैन उनीहरूलाई बर्खामा पिरलो नभएको होस्। अझ पछिल्ला वर्ष खोलो थुनिने समस्याले सबैभन्दा बढी उनीहरू पिरोलिने गरेका छन्। 
तमोर नदीको पूर्वपट्टि रहेका तापेथोकका बासिन्दा वर्षामा बजार बन्द गर्छन् र माथिल्लो बस्तीमा गएर बस्छन्। जहाँ अहिले फक्तालुङ गाउँपालिकाको केन्द्र रहेको छ। प्रहरी चौकी, स्वास्थ्य चौकी बगर छेउमै छन्। २०२० को बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर गाउँलेहरू बसेका छन्। पुल तर्नेलाई चिया खाजा खुवाउने उद्देश्यले बसेकाहरूको बस्ती एकपछि अर्को बढदै गएको छ। फक्तालुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बस्ती कसरी व्यवस्थापन गर्ने र त्रासमुक्त बनाउने भन्ने चुनौतीको विषय भएको बताउँछन्। 
दोभानका व्यवसायी टंक खतिवडा जेठदेखि असोजसम्मको समय निकै आतंकित हुने स्मरण गर्छन्। ‘पुस–माघको चिसोदेखि चैत–वैशाखको गर्मीसम्म नदी किनारमा आनन्द हुन्छ,’ उनले भने, ‘यो बेला नदीमा र्‍याफटिङ गर्नेदेखि डुंगा खियाउनेहरू आउँछन्। नदीकिनारमा बसेर माया साट्नेदेखि गिट्टी, बालुवा निकाल्नेसम्म आनन्दित हुन्छन्। 
बर्खामा न त बटुवा बस्न मान्छन् न त सुरक्षित नै।’ आफ्नो क्षेत्रमा मात्रै नभएर हिमाली क्षेत्रमा पानी परेको देखे पनि नदी आसपासका बासिन्दा आतंकित हुनुपर्ने अवस्था रहेको छ। प्रत्येक दिनको मौसमको याद राख्नुपर्ने टंक बताउँछन्। 
ठाडा र खहरे खोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा नदी आसपासमा धेरै बस्ती रहेका छन। दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्यदेखि मेला बजार र हाट लाग्न थालेपछि बसेका बस्ती नदी आसपासमा अधिक रहेका छन्। तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जन बढी बस्ती छन्। काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बस्ने पनि त्यत्तिकै पिरोलिनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन्। 

प्रकाशित : श्रावण १५, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?