१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

घूसमा दुई कर्मचारी रंगेहात

कान्तिपुर संवाददाता

बाजुरा — मुक्त हलियालाई घर मर्मतका लागि सरकारी अनुदान दिलाएबापत घूस माग्ने मालपोत कर्मचारी पक्राउ परेका छन्।

सदरमुकाम मार्तडीमा बुधबार मुक्त हलियाबाट रकम संकलन गरी एकमुष्ट बुझ्दै गर्दा प्रहरीले जिल्ला मालपोत कार्यालयका ओभरसियर कोपिलराज गिरीलाई ८० हजार रुपैयाँसहित रंगेहात समातेको हो।

 मालपोतका करार कर्मचारी गिरीलाई पुस बाजुरा नामक गैरसरकारी संस्थामा कार्यरत हलिया अगुवा गोरख सार्कीबाट नगद लिँदै गर्दा पक्राउ गरिएको प्रहरी निरीक्षक जगदीश भट्टले बताए। ‘रकम लेनदेन गरिरहेको अवस्थामा मार्तडीको होटलबाट पक्राउ गरिएको हो,’ उनले भने। मालपोतले हिमाली गाउँपालिका–६ का ४० परिवार मुक्त हलियालाई घर मर्मतबापत ७५ हजार रुपैयाँका दरले चेक काटेको थियो। सार्की प्रतिपरिवार २ हजारका दरले उठाएर गिरीलाई दिँदै थिए। 
ओभरसियर गिरीले भने उक्त रकम आफूले फिल्डमा गएर काम गरेबापतको पारिश्रमिक रहेको दाबी गरे। ‘हामीलाई कार्यालयले पारिश्रमिक दिँदैन, मुक्त हलियाको काम गरेबापत उनीहरूबाटै खाना खर्च लिनु भनिएको थियो,’ उनले भने। तर, मुक्त हलिया भने कर्मचारीले आफूहरूसँग सुरुमा ५ हजारका दरले रकम मागेको बताउँछन् । उनीहरूले दुई चरणमा चेक बुझेका थिए। पहिलो चरणमा पेस्कीबापत ५० हजार रुपैयाँ वितरणपछि प्रतिपरिवार एक हजार रुपैयाँका दरले लिएको गिरीले स्विकारे। ‘दोस्रो चरणमा प्राप्त ७५ हजारको चेकबाट पाँच हजार मागिएको थियो,’ मुक्त हलिया अगुवा सार्कीले भने, ‘हामीले प्रतिपरिवार दुई हजार मात्र संकलन गर्‍यौं।’ 
भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोतले मुक्त हलिया पुन:स्थापना कार्यक्रमअन्तर्गत ४ सय ७२ परिवारका लागि घर निर्माण, जग्गा खरिद र घर मर्मतका लागि ६ करोड ४५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। गिरी पक्राउ परेपछि जिल्लाका ६ सय ३२ सबै मुक्त हलियाले आफूहरूबाट कर्मचारीले कमिसनका नाममा ५ प्रतिशतका दरले रकम असुलेको आरोप लगाएका छन्। ‘घ वर्गकाले पाउनुपर्ने १ लाख २५ हजार हो, पाँच हजार कम दिए,’ गोरे सार्कीले भने। 
केहीले भने मुक्त हलियाका अगुवा नै कमिसनको खेलमा संलग्न रहेको आशंका गरेका छन्। हलिया पुन:स्थापना कार्यलदलका संयोजक तथा प्रजिअ देवेन्द्र लामिछानेले रकम लेनदेनमा संलग्नहरूमाथि छानबिन गरिने बताए। मालपोत प्रमुख तथा हलिया पुन:स्थापना कार्यदलका सदस्य सचिव हीरालाल गिरीले भने उक्त रकम घूस नभएको दाबी गरेका छन्। ‘गोरख सार्कीले मुक्त हलियाले प्राप्त गरेको चेक संकलन गरी आफंैले रकम साटेर योजनाबद्ध रूपमा कर्मचारीलाई फसाएको हो,’ उनले भने। 

सहकारी कर्मचारी पनि
सिरहा– अख्तियारले सहकारी संस्था दर्ता गर्न सेवाग्राहीसँग लिएको घूस रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको छ। सहकारी डिभिजनका सहायक निरीक्षक सुभाष गड्तौलालाई अख्तियारको 
पूर्वाञ्चल क्षेत्रीय टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो। 
सेवाग्राहीसँग १५ हजार रुपैयाँ लिएपछि मात्र उनी काम गरिदिन राजी भएका थिए। गड्तौलाले राजविराजस्थित योग्य कृषि महिला सहकारी संस्था लिमिटेड दर्ता गर्न आएकी संस्थाकी अध्यक्ष प्रतिमा यादवसँग रकम लिएका थिए। 
उक्त रकम अख्तियार टोलीले कार्यालयको तेस्रो तलामा रहेको गड्तौलाको निवासबाट बरामद गरेको थियो। टोली प्रमुख डीएसपी रमेश बस्नेतले गड्तौलाले सेवाग्राहीसँग घूस लिएर राखेको सूचना पाएपछि छापा मारिएको जानकारी दिए। ‘पहिले सोध्दा लिएका छैनौं भन्दै थिए,’ उनले भने, ‘तर, उनको निवासबाटै रकम बरामद भएपछि स्विकारे।’ गड्तौलालाई अख्तियारको हिरासतमा राखेर मुद्दा चलाइने बस्नेतले जानकारी दिए। सेवाग्राही यादवले दुई महिनादेखि संस्था दर्ताका लागि कार्यालय धाए पनि गड्तौलाले ‘यो मिलेन, त्यो मिलेन’ भन्दै दु:ख दिइरहेको बताइन् । 

प्रकाशित : श्रावण १२, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?