खुकुरी प्रहारबाट घाइते- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुकुरी प्रहारबाट घाइते

छोटकरी
कान्तिपुर संवाददाता

सल्यान — बन्गाड कुपिन्डे नगरपालिका १ सल्लीबजारमा खुकुरी प्रहारबाट मानसिं बस्नेत गम्भीर घाइते भएका छन् । बाटोमा हिँडिरहेको बेला तुलाधर नेपालीले उनीमाथि खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

टाउको र खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई उपचारका लागि नेपालगन्ज लगिएको इलाका प्रहरी सल्लीबजारले जनाएको छ । प्रहरीले घटनाका आरोपीलाई नियन्त्रणमा लिएको जनायो । दुईबीच व्यक्तिगत विवादका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

युथ पिस सेन्टर खुल्दै 
नेपालगन्ज (कास)– विभिन्न कलेजका युवाको क्रियटिभ पिस भोलेन्टर्स क्लबले नेपालगन्जमा युथ पिस सेन्टर स्थापना गर्न लागेको छ । युवा विद्यार्थीको सशक्तीकरण र सकारात्मक सोचको विकासका लागि उपयोगी हुने गरी सेन्टर स्थापना गर्न लागिएको क्लबले जनाएको हो । सेन्टरमा मिनी पुस्तकालय र वाचनालयसहित रहने छन् । त्यस्तै, युवा सशक्तीकरणका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने क्लब अध्यक्ष गोपाल वलीले बताए । क्लबले नेपालगन्जमा सहरी विपन्न समुदायका लागि सहयोगी र युवा समुदाय केन्द्रित विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लब भेलाले वलीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समिति उपाध्यक्षमा रोशनी गहतराज र अल्बिना सिंह, सचिवमा नुतन पौडेल र कोषाध्यक्षमा विष्णु गुप्ता चयन भएका छन् । क्लबले यसअघि विभिन्न गतिविधिमा व्यवस्थापकीय भूमिका निभाउँदै आएको थियो ।

प्रकाशित : असार २८, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले ग्रामीण सडक अवरुद्ध

यातायात बन्द हुँदा यात्रुलाई सास्ती
भीमबहादुर सिंह

जाजरकोट — वर्षात् सुरु भएसँगै जाजरकोटका आधा दर्जन सडक अवरुद्ध भएका छन् । पहिरो, हिलो र खहरे खोलाका कारण यातायात सञ्चालन नहुँदा यात्रुलाई सास्ती भएको छ ।

गत सातादेखिको वर्षात्ले सडकमा पहिरो खस्दा तथा भत्किँदा, हिलाम्मे हुँदा र खहरे खोला बढ्दा यातायात सञ्चालनमा कठिनाइ आएको हो । तर सम्बन्धित निकायले अवरुद्ध सडकको मर्मतसम्भारमा बेवास्ता गरेको छ । खलंगा–रिम्ना, खलंगा पाँचकाटीया, छेडा थलह, कुदु जगतीपुर, फेरा कार्कीगाउँ, बोरा छिप्रेना, बगरा तल्लुबगरलगायत सडकमा यातायात अवरुद्ध छ । सडकका सयौं स्थानमा पहिरो जानुका साथै आधा दर्जन खोलामा पुल नहुँदा र हिलोले यातायात चल्न नसकेको व्यवसायी भीमबहादुर बुढाले बताए । सडक अवरुद्ध भएपछि ग्रामीण भेकका बासिन्दालाई आवतजावतमा सास्ती भएको उनले जानकारी दिए । ‘यात्रु पिठ्यँुमा भारी बोकेर पैदलै हिँड्न बाध्य छन्,’ बुढाले भने ।
डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गरेकाले वर्षात्को समयमा यात्रुले सास्ती खेप्नुपरेको जनाएको छ । ट्रयाक खोलेको ७ वर्ष बितिसक्दा पनि खलंगा पाँचकाटिया सडकको स्तरोन्नति हुन नसकेको उनले बताए । ‘पाँचकाटिया सडकमा यातायात अवरुद्ध हुँदा बिरामी, अपाङ्ग, बूढाबूढी, बालबालिकालाई आवतजावतमा कठिनाइ भएको हो,’ उनले भने । खलंगा पाँचकाटीया सडकको कोटखोला, दारखोला, रिसाङ खोलामा पुल नबन्दा थप समस्या भएको छ । छिन्चु जाजरकोटको पासागाड खोलामा पुल नहुँदा गाडीहरू वारपार गर्नै सक्दैनन् । सडक अवरुद्ध हुँदा कुशेगाउँपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, छेडागार नगरपालिका र त्रिवेणी नलगाड नगरपालिकावासी यातायातको सुविधाबाट वञ्चित छन् ।
त्यस्तै यातायात सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, औषधिलगायत ओसारपसारमा पनि समस्या छ । वर्षाका कारण जाजरकोटमा दर्जन सडकको २ सय किलोमिटर दूरीमा यातायात रोकिएको हो । करोडौंको लगानीमा निर्माण भएका सडकमा यातायात नियमित नहुँदा स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । सडकमा नाली काट्ने, चौडा पार्ने, ग्रेडिङ मिलाउने, ग्याबिङ, मेसीनरी वाल लगाउनेलगायत काम हुन सकेका छैन । 
 ट्रयाक ओपनमात्र भएका सडकको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्सेनि यातायात अवरुद्ध हुने गरेको जिल्ला समन्वय समिति स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘यस जिल्लामा निर्माण भएका अधिकांश सडक गाडी गुडाउन लायक छैनन्, सरकारी लगानी खेर गएको छ, दशकअघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात सञ्चालन हुन सकेका छैनन्,’ पण्डितले भने । ‘सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने संस्कारको विकास भएको पाइयो,’ उनले भने । सडक डिभिजन चौरजहारीले अवरुद्ध सडकको मर्मत तथा सम्भार पहल नगरेको उनले बताए । ‘अवरुद्ध सडकको पहिरो पन्छाएर तत्काल यातायात सुचारु गर्ने जिम्मा सडक डिभिजन चौरजहारीको हो,’ उनले भने ।

प्रकाशित : असार २८, २०७४ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×