कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य सेवामा गुणस्तरको प्रश्न

डा. दिनेश धरेल

हामी चाहन्छौं कि हामीले उपभोग गर्ने सबै वस्तु तथा सेवा गुणस्तरीय होउन् । अझ मानव जीवनसँंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवासँग त हामी झनै सम्वेदनशील हुने गर्छौं र हुनु पनि पर्छ ।

स्वास्थ्य सेवामा गुणस्तरको प्रश्न

आफ्नो र आफ्ना चिनजानका मान्छेको अनुभव र कतिपय अवस्थामा त हल्लाकै भरमा कुन अस्पताल कत्तिको राम्रो भन्ने धारणा आम मानिसले बनाएका हुन्छन् । अत: जनस्तरमा स्वास्थ्य सेवाको गुणस्तरलाई बुझ्ने धारणा समान नहुनु अचम्म मान्नुपर्ने कुरा होइन । यद्यपि गुणस्तरलाई समान तरिकाले परिभाषित गर्न सकिने र धेरै हदसम्म मापन गर्न सकिने केही पक्ष छन् । स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न ६ वटा आयाम निर्धारण गरिएका छन् । जुन सबै तह र तप्काका सबै खाले स्वास्थ्य सेवामा लागू हुन्छन्, हुनुपर्छ । 
प्रभावकारिता : गुणस्तरीय स्वास्थ्यसेवा अनुसन्धानद्वारा सिद्ध प्रमाणमा आधारित हुन्छ र व्यक्ति तथा समुदायको आवश्यकता अनुरूप नतिजा दिने खालको हुन्छ । यसका लागि उपचारका क्रममा तथ्य तथा प्रमाणका आधारमा बनेका निर्देशिकाहरू प्रयोग गरिन्छ । सेवा प्रभावकारी हुन स्वास्थ्यकर्मीहरूमा प्रोटोकल तथा सर्वमान्य मान्यता अनुरूप उपचार गर्नसक्ने दक्षताका साथै आवश्यक उपकरण, औषधी र आधारभूत पूर्वाधार हुन जरुरी छ । स्वास्थ्यकर्मीसँंग बिरामीका लागि दिने आवश्यक समय हुनैपर्छ । सम्भवत: हामी धेरैजसो गुणस्तरलाई उपचारको प्रभावकारितासँंग नै जोड्ने गर्छौं । 
उचितपना : स्वास्थ्यसेवा त्यतिबेला गुणस्तरीय मानिन्छ, जतिबेला यो बिरामीको आवश्यकता अनुसारको हुन्छ । जुन बिरामीलाई जस्तो सेवा चाहिने हो, त्यो उपलब्ध भएसम्म आफ्नो स्वास्थ्य संस्थामा छैन भने अर्को संस्थामा रिफर गरेर भए पनि दिनुपर्ने हुन्छ । यसो गर्दा उपचार सेवामा निरन्तरता हुनु जरुरी हुन्छ, जसका लागि उचित अनुगमन, भेट र विभिन्न विशेषज्ञहरूरु बीचको समन्वय चाहिन्छ । उपलब्ध मानवीय तथा अन्य स्रोतसाधनहरूको सही प्रयोग गरेर बिरामी र समुदायलाई अधिकतम लाभ दिनसक्नु उचित सेवामा गनिन्छ ।
पहुँच : यदि स्वास्थ्यसेवा अधिकांश बिरामीको पहुँचभन्दा टाढा उपलब्ध छ र भौगोलिक, सामजिक, आर्थिक वा अन्य कारणले उपभोग गर्न पाउँदैनन् भने त्यो सेवा गुणस्तरीय मान्न सकिन्न । लक्षित वर्गलाई दिइएको निशुल्क स्वास्थ्यसेवा, मृगौला, मुटु लगायतका केही रोगको उपचारमा अनुदानको व्यवस्था, स्वास्थ्य बिमा आदिले बिरामीको उपचारमा पहुँच बढाउँछ । प्राथमिक तथा आकस्मिक स्वास्थ्यसेवा बिरामीले आफ्नो घर नजिकै जुनसुकै बेला पाउन सक्ने व्यवस्था हुनु नै पहुँच हो, जुन गुणस्तरको अनिवार्य सर्त हो ।
स्वीकार्यता : स्वास्थ्यसेवा गुणस्तरीय हुन सेवाग्राही बिरामीको रोजाइ तथा चाहना र उसको सामाजिक, सांस्कृतिक मान्यताको प्रतिकूल हुनुहुँदैन । जति बिरामी र उसको परिवारलाई साथमा लिएर आदर र गोप्यतासाथ उपचार गर्न सकियो, त्यतिनै सेवाप्रतिको सन्तुष्टि बढी हुन्छ । रोग र त्यसको उपचार प्रक्रिया बाहेक पनि स्वास्थ्य संस्थाको सरसफाइ, छोटो पर्खाइ, छरितो प्रशासनिक प्रक्रिया, सम्बद्ध सबै कर्मचारीको न्यानो सत्कार र बोलीचाली जस्ता कुराले एकपटक आएको बिरामी फर्केर आउने/नआउने निर्धारण गर्न सक्छ । फेरि एकपटक सेवा लिँदाको अनुभवले त्यो बिरामीमात्र हैन, उसका नजिकका अरू धेरै बिरामीको त्यो संस्था वा स्वास्थ्यकर्मीप्रतिको स्वीकार्यतालाई प्रभाव पार्छ । 
समतामूलक : यदि स्वास्थ्यसेवाले सबैभन्दा जोखिममा रहेका वर्ग र समूहको आवश्यकतालाई प्राथमिकतासाथ सम्बोधन गर्न सकेन भने त्यो समतामूलक हुन सक्दैन । तर रोग अनुसारको उपचार भने जुनसुकै वर्ग, लिङ्ग, पेसा, धर्म र आस्थाका आधारमा फरक गर्न पाइँदैन । सेवा गुणस्तरीय हुन स्वास्थ्यकर्मीले सबै पृष्ठभूमिका बिरामीलाई समान व्यवहार गर्नुपर्छ ।
सुरक्षित : कुनै परीक्षण वा उपचार पद्धतिले बिरामीलाई प्रतिकूल प्रभाव पार्न सक्छ र उपचारका क्रममा हुने केही भवितव्य दुर्घटना जुनसुकै देशमा पनि हुने गर्छन् । गुणस्तरीय स्वास्थ्यसेवा त्यो हो, जसले यस्ता जोखिम न्यून बनाउँछ । जोखिम सेवा प्रदायकलाई पनि हुनसक्छ र उनीहरूको स्वास्थ्यरक्षा गर्नु स्वास्थ्य प्रणालीको दायित्व हो । उपचारका क्रममा हुने मानवीय त्रुटि कम गर्ने उपाय लगाउँदा–लगाउँदै कुनै घटना भइहालेमा स्वास्थ्यकर्मीको सुरक्षा र पेसागत गरिमामा आँच नआउनेगरी न्यायपूर्ण तरिकाले बिरामीको माग सम्बोधन गर्नसक्ने स्वास्थ्य प्रणालीलाई गुणस्तरीय भन्न सकिन्छ । 
के नेपालमा स्वास्थ्य सेवाको गुणस्तरलाई सरकारी नियामक निकायहरूले ध्यान दिने गरेका छन् ? हामी स्वास्थ्य सेवाको पहुँच बढाउने दिशामा धेरै केन्द्रित भयौं, जुन गुणस्तरको एउटा आयाममात्र हो । बाल तथा मातृ मृत्युसम्बन्धी सहस्राब्दी विकास लक्ष्य हासिल हुनमा देशभर स्वास्थ्य सेवामा पहुँच बढ्नुलाई मुख्य श्रेय दिन सकिन्छ । अबको बाटो भनेको दिगो विकासका महत्त्वाकांक्षी लक्ष्य भेदन गर्नु हो, जुन गुणस्तरीय स्वास्थ्य सेवाका अरू पाँच आयामलाई महत्त्व दिँदामात्र सम्भव हुन्छ । 

 

प्रकाशित : असार २७, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?