यसपल्ट त मनै फाट्यो...?

प्रदीप गिरि

केही दिनअघि कान्तिपुरका सम्पादक सुधीर शर्मासमेतको टोलीले मधेसको यात्रा गरिएको विवरण छापिएको छ । शर्माले लेख्नुभएको छ, मधेसमा ‘उनीहरू’ र ‘हामी’ भन्ने भावना विकसित हँुदै गएको छ, मधेस र राज्यका बीच मतभेदभन्दा पनि मनभेद बढेको छ ।

यो यस्तै हो भने यो खतरनाक संकेत हो । हामीले यस संकेतलाई गम्भीरतापूर्वक लिनुपर्छ । बाँकी मुलुक चुनावमय भएको छ । तर प्रदेश नम्बर २ मा भने आन्दोलन र चुनाव–स्थगन छ ।
नेपालमा दोस्रो जनआन्दोलनले नयाँ युगको प्रवद्र्धन गर्यो । त्यति मात्र गरेन । दोस्रो जनआन्दोलन माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमिमा भएको थियो । तर त्यस दोस्रो जनआन्दोलनले एकातिर माओवादीको गुरिल्ला युद्धको कार्यनीतिलाई प्रश्नचिह्न लगाएको थियो । क्रान्ति दर्शनका हिसाबले सबैथरीका हिंसात्मक संघर्षको सीमा उजागर गर्यो । अर्कोतिर जनआन्दोलनले माओवादीले उठाएका सबैजसो सवालको औचित्य स्थापित गरेको थियो । माओवादीले मधेसप्रति विभेदभावका विरुद्ध समेत आवाज उठाएको थियो, यद्यपि माओवादी जनयुद्ध र मधेसको सम्पर्क कहिल्यै मधुर भएन । मधेसको भावनालाई नजरअन्दाज गरेर अन्तरिम संविधानको घोषणा भएपछि यो भावनामा टेकेर उपेद्र यादवले अन्तरिम संविधान डढाएका थिए । त्यसपछि लहान काण्ड टाढाको विषय रहेन । मधेस आन्दोलनले गुणात्मक रूपमा नयाँ उचाइ प्राप्त गर्यो । त्यसै आन्दोलनको शमन र थामथुम सरकारले मधेसका यावत् मागहरू पूरा गर्ने लिखित सम्झौता गर्योे । संघीय राज्यको यस्ता मागहरूमध्ये प्रमुख थियो । तर यति मात्र थिएन । भाषा र नागरिकताका सवाल पनि उठे । तत्कालीन सरकारले सबथोक गर्न सकारो । तर मधेस आन्दोलन यथावत् छ ।
मधेस आन्दोलनको तुजुक र ऊर्जाले नेपालका एकथरीका ‘राष्ट्रवादी’ हरूका बीचमा थरी–थरीका शंका उत्पन्न गरेको छ । पृथ्वीनारायण शाहको विजयदेखि आजसम्म मुलुकमा रहेको एउटा शक्तिशाली शासकीय समूहले मधेसलाई बिरानो सम्झियो । राणाशाहीका पालामा मधेसप्रति दुर्भावनापूर्ण सोचाइ विशेष बलियो भयो । यस्तो सोचाइका केही ऐतिहासिक कारण थिए । तर ऐतिहासिक कारणको आधारमा एउटा राष्ट्रिय राज्यको बलियो जग खडा हुन सक्दैन । २००७ सालको क्रान्तिले यस्तो सोचाइलाई तात्कालिक रूपमा परास्त गर्यो । राजा महेन्द्रको शासनकालमा मधेसप्रतिको भेदभावको पुनरावृत्ति भयो, पारस्परिक दूरी बढ्यो । महेन्द्रले राष्ट्रवादको संकीर्ण परिभाषा गरेर आफ्नो तानाशाहीलाई औचित्य प्रदान गरे । उनी एक हदसम्म सफल भए । महेन्द्रको राष्ट्रवाद नेपाली कांग्रेसको प्रखर प्रतिरोधलाई समेत मत्थर बनाउन सफल भयो । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको व्याख्यामा यसको प्रतिध्वनि भेटिन्छ । त्यो थिएन भने मधेसले अगाडि सारेको प्रस्तावले एउटा प्रजातान्त्रिक म्ुलुकले चिन्तित बन्नुपर्ने खास कारण थिएन । कांग्रेस वृत्तमा कमसेकम कुनै अलमल हुनु हुँदैन थियो । तर अफसोस, हाम्राबीच यस्तो अलमल छ ।
मधेस आन्दोलनले संविधान संशोधनको माग लगातार गरिरहेको छ । संविधानले यस्ता माग अगाडि सार्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई उपलब्ध गराएको छ । मधेसले बाहेक कमरेड विप्लवको नेतृत्वमा रहेको समूह पनि संविधान र चुनावप्रति सकारात्मक दृष्टि राख्दैन । राजनीति आफैंमा यो अनौठो कुरो होइन । यति भएर पनि एउटा कित्तामा मधेसको ‘हठ’ भने अनावश्यक र दुराशयपूर्ण भन्ने धारणा बनेको छ । यसमा मधेसले पनि प्रतिक्रिया देखाउँदै छ । क्रिया–प्रतिक्रियाको यस जङ्गलमा सु्धीर शर्माले संकेत गरेझैं हामी र उनीहरू बेग्लै हो भन्ने भावनाको विकास भइरहेको बोध हुन सक्छ । 
एउटा कुरा सत्य हो— मधेस र मधेसीले नेपाली राज्यसँग एकाकार गर्न सकिरहेको छैन । आफ्ना समयमा गजेन्द्रनारायण सिंहले आफ्ना कार्यकर्तालाई सिकाएका थिए— यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन । गजेन्द्रनारायण सिंहको यो कथन आज पनि निराधार छैन । पुराना मधेसवादी कार्यकर्ताहरूलाई गजेन्द्र–वाणी अवश्य पनि सम्झना होला । गजेन्द्रनारायण सिंह नेपाली कांग्रेसको संस्कारमा हुर्किएका राजनीतिज्ञ थिए । के भन्दा र गर्दा आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने राजनीतिको पनि उनलाई राम्रो हेक्का थियो । पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा गजेन्द्रनारायण सिंहले मधेस आन्दोलनलाई स्थापित गरेका थिए । उनले यस्तो गर्दा राष्ट्रिय दृष्टिकोणलाई ओझेल पारेका थिएनन् । अहिलेका केही मधेस नेताहरूको बोली वचन हेर्दा उनीहरूले गजेन्द्रनारायणलाई देखेको–चिनेको प्रतीत हुँदैन । कतिपय मधेसी नेताहरूको अभिव्यक्तिले नेपालमा विभाजनवादी राजनीतिलाई प्रश्रय दिएको छ । गैरमधेसी मूलका कतिपय ठूला नेताहरूले त्यसको प्रतिक्रियामा झन् ठूलो स्वरमा हाक्काहाकी विभाजनकारी राजनीति बोलेका छन् । मुलुक र जनताका लागि जीवनका सर्वश्रेष्ठ वर्ष जेल बिताउनुभएका साथीहरू सत्ताको राजनीतिको आवेशमा बगेका देखिन्छन् । सत्ताको राजनीतिको हानथापमा वर्तमान संविधान विवादास्पद बनेको हो । संविधान घोषणा गर्ने क्रममा शीर्षस्थ नेताहरूले तात्कालिक लाभ हेरे । दीर्घकालीन दृष्टि राख्न सकेनन् । टोमस जेफर्सन भन्थे— विनाशभन्दा विलम्ब राम्रो । त्यसो भन्दा, अहिले विनाश नै हुन आँट्यो भन्ने छैन । त्यसैले २ नम्बर प्रदेशको चुनाव सर्दा आकाश नै झर्योे भन्ने पनि होइन ।
लामो समयदेखि नागरिकताको सवालले नेपाललाई पिरोलेको छ । कांग्रेस र कम्युनिस्टका पुराना पुस्ताका नेताले नागरिकताको बारेमा कस्ता धारण राख्थे भन्ने कुरा २००९ को नागरिकता ऐनबाट थाहा पाइन्छ । २००७ साल लगत्तैपछि पनि भाषाका सम्बन्धमा विवाद उठेको थियो । त्यस विषयमा राष्ट्रिय नेताहरू स्पष्ट थिए । यी दुवै सवाल आज पनि जीवित छन् । तर यी दुई सवाललाई हेर्ने हाम्रो दृष्टिकोण फेरिएको छ । मधेस र बाँकी नेपालका बीचमा २००७ को क्रान्तिले नयाँ सम्बन्ध स्थापना गरेको थियो । मधेसले राणाकालीन हेपाइ र भेदभावबाट उन्मुक्ति पाएको थियो । २०१७ सालको राजा महेन्द्रको शाही कदमले मधेसलाई बलात पर धकेल्यो । मधेस पनि उसैगरी २०१७ शाही कदमको विरोधमा अग्रपंक्तिमा रह्यो । दुर्गानन्द झा र शिवचद्र मिश्रा सहिद भए । मधेसले प्रतिरोध गरिरह्यो । २०४६ मा प्रजातन्त्रको आगमनपछि मधेसले राहत पायो । तर त्यो राहत पर्याप्त भएन । दोस्रो जनआन्दोलनपछि मात्र मधेस–वाणी फुटेको छ । राष्ट्रिय रूपमा यसले सुनवाइ पाउनासाथ सुधीर शर्माको आलेखले उत्पन्न गरेको आशंका निर्मूल हुनेछ । मधेस आन्दोलनसँग विमति राख्ने मानिसले सर्वप्रथम एउटा कुरा बुझ्न आवश्यक छ । यो परदेशी आन्दोलन होइन । प्रजातान्त्रिक व्यवस्था, मूल्य मान्यता गहिरिंदै जाँदाको परिस्थितिको अभिव्यक्ति र विस्तार हो । प्रजातन्त्रको प्रयोगको तार्किक परिणति हो मधेसको असन्तुष्टि । यो एक राष्ट्रिय समस्या हो । परदेशीले खडा गरेको समस्या होइन । हामीले परदेशीलाई यसरी नै उड्किरहने हो भने लोककथाको गोठालाको बाघ आयो, बाघ आयो भन्ने कथा चरितार्थ हुन बेर छैन ।
राष्ट्रिय–राज्यको इतिहास पुरानो छैन । पुराना जमानाका राज्य वा साम्राज्यहरू आफूखुसी टुक्रिन्थे, गाँसिन्थे । राष्ट्रियताको उद्भवपछि यो परम्परा बन्द भएको छ । कार्डिनल रिसलुको नेतृत्वमा ‘वेस्ट फेलिया’ को सन्धि (सन् १६४८) भएपछि आधुनिक राष्ट्रिय–राज्यको सैद्धान्तिक आधार बन्न थालेको हो । आधुनिक राष्ट्रमा विविध भाषा, जातीयता हुन्छन् । तर राष्ट्रिय–राज्यले यी सबैप्रति समान दृष्टिकोण राख्छ । मधेसलाई नेपाली राष्ट्रप्रति कुनै प्रतिवाद छैन । उनीहरूले राज्यप्रति गुनासो राखेका छन् । त्यो अस्वाभाविक छैन । त्यस्तो गुनासोमा केही गैरजिम्मेदार प्रवृत्ति देखिएका छन् । रणनीति र कार्यनीतिका क्षेत्रमा पनि भूल भएका छन् । मधेसले उग्रराष्ट्रवादीको मन जित्ने प्रयास गरेका छैनन् । उल्टो उनीहरूलाई तर्साउन खोजेका छन् । मुलुकको भूराजनीतिक अवस्थाको सीमा–सामथ्र्य बिर्सिएका छन् । राजनीतिक यथार्थ एकातिर छ । कतिपय मधेसी नेताको भावना अर्कोतिर छ ।
सुधीर शर्माले भनेजस्तो मधेससँग हाम्रो मनभेद भइसकेको जस्तो लाग्दैन । मनभेद र मतभेदमा भाषाका दृष्टिले फरक छ । मतभेद मतैक्यमा पुग्छ । मनभेद भएको छ भने मिलाउन गाह्रो पर्छ । अरुणा लामाले गाएकी छन्— यसपल्ट त मनै फाट्यो केले सिउने केले टाल्ने हो... । मधेस र पहाडको सम्बन्ध यस्तो मनभेदमा पुगेको छैन भन्ने मेरो अनुभूति छ । पहाड–मधेस अझै परस्पर पराई भएका छैनन् । मधेसका शीर्षस्थ नेताहरूको बिहेवारीदेखिन खानपान चाड–तिहारमा हामी एकअर्कासँग नजिकिँदै गएका छौं । मन फाटेको छैन । मत मात्र बाझेको हो— खुला समाजमा यो स्वाभाविक हो ।
कुनै समय बीपीले भन्नुभएको थियो— राष्ट्रियताको मूलतत्व भनेको जनता हो, भूगोल होइन । पृथ्वीनारायण शाहले निर्माण गरेको भूगोलमा टेकेर राजा महेन्द्रले राष्ट्रियताको एउटा अत्यन्त संकीर्ण परिभाषा स्थापित गरे । एउटा राजा एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाए । यो गलत थियो । १९७१–०७२ मा बीपीले यसको प्रतिवाद गर्नुभएको थियो । बीपीको राष्ट्रियताको परिभाषा आज पनि प्रासंगिक छ । मधेसका जनतालाई उपेक्षा गरेर नेपालले राष्ट्रियताको स्वस्थ जग बसाउन सक्दैन । मधेस, पर्वत, हिमाल सबैले राम्रोसँग बुझ्नुपरेको छ । मिले पनि लडे पनि, दिबानी–फौजदारी जे गरे पनि यो दियादी झगडा हो । कौटुम्बिक कलह हो । मतभेद होस्, मनभेद नहोस् ।
राष्ट्रियताका व्याख्याकारले सधैं भनेकै छन्, ‘प्रजातन्त्र र राष्ट्र«वाद अन्यान्योश्रित छन् ।’


 

प्रकाशित : असार १२, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

पत्रिका, साहित्य र इतिहास

अभि सुवेदी

साहित्यिक पत्रिका र राज्य शक्तिबीचको सम्बन्ध दुई किसिमको हुन्छ । एउटा सहज हुन्छ जसमा राज्यले ती पत्रिकाबाट जन्मिने साहित्य र विचारलाई राष्ट्रिय लोकतान्त्रिक पाराको संस्कृतिको अभ्यास मान्छ । प्रतिद्वन्द्वी मान्दैन ।

अर्को किसिमको राज्यशक्ति जसले लेखेका र बोलेका पाठहरूलाई करेली समातेर हाँकेको हुन्छ त्यसले साहित्यिक पत्रिकामाथि निगरानी राखेको हुन्छ । अधिनायकवादी राज्यको ‘हेजिमोनी’ हो त्यो । शासन गर्नेले पाठ चिन्छ, साहित्य चिन्छ, त्यसको शक्ति चिन्छ । त्यसैले त्यसको दमन गर्छ । यस विषयमा निकै विचारकहरू र लेखकले छलफल गरिसकेका छन् । नेपालमा राणातन्त्रका बेला साहित्यिक पत्रिका चलाउन नपाउनुको कारण त्यही थियो । कम्युनिस्ट देशमा साहित्यिक पत्रिकामाथि त्यस्तै दृष्टि हुन्छ । पुँजीवादी, तथाकथित प्रजातान्त्रिक मुलुक अमेरिकामा पनि साहित्यिक पत्रिकाले के छाप्छन् भनेर निगरानी र प्रतिबन्ध गरेका कथा छन् । फेरि, ज्ञान र पाठ के ठीक हो, के उपभोग गर्न पाइन्छ भनेर नियन्त्रण गर्ने वा हेजिमोनी गर्नेहरूसँग कुनै न कुनै किसिमले कामचलाउ सम्बन्ध राख्न साहित्यिकहरू नै लागिपर्छन् । १९९१ सालको श्रीपञ्चमीदेखि प्रकाशित ‘शारदा’ साहित्यिक पत्रिकाका कथा शक्ति, शासक र राजनीतिसँग त्यसरी नै जोडिन्छन् । यो पत्रिका आरम्भ गर्न जुद्धशमशेरलाई मनाउनुपरेका कठिनाइका वर्णन छन् । नेपालमा आएका एक जना अङ्ग्रेजतिर देखाई धेरै पत्रिका निकाल्न दिएर ब्रिटिसले गल्ती गरेजस्तो गर्नु हुँदैन भन्ने उनको भनाइ उद्धृत गर्दै जुद्धले पत्रिका ननिकाल्न दिएको सल्लाहका प्रसङ्ग छन् । 
दुई वर्षपछि काशीबहादुर श्रेष्ठले बनारसबाट ‘उदय’ पत्रिका निकाले । राणाकालको अन्त्यतिर दार्जिलिङबाट पारसमणिको सम्पादन र प्रकाशनमा ‘भारती’ (२००६) निस्किनुलाई शक्ति र सिर्जनाको इतिहाससँग जोडेर अध्ययन हुँदा धेरै कुरा बुझिन्छन् । ‘शारदा’ पत्रिका साहित्यिक हुनुको अर्थ वाचाल थियो । नेपाली सिर्जनशील चिन्ता हुनेहरूले जुद्धसँग गरेको यो मौन सम्झौता थियो । राणाकालमा चलेका पत्रिकाहरू स्वतन्त्र थिएनन् तर तिनले प्रकाशित गरेका साहित्यिक कुरा र, साधारण नै भए पनि, विचारहरूको इतिहासमा स्थान हुन्छ । तिनको पनि अध्ययन हुनुपर्छ । ग्रीष्मबहादुर देवकोटाले लेखेको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) भन्ने ग्रन्थको भूमिकामा सूर्यविक्रम ज्ञवालीले लेखे, ‘अहिले नेपाली पत्रकारिताको इतिहास लेख्ने बेला भएको छैन ...नेपाली पत्रकारिता १९५० भन्दा पछिको शिशु हो ।’ ज्ञवाली शून्य आमवृत्तलाई सङ्केत गर्छन्, तर १९६० वैशाखमा प्रकाशित गोरखापत्रको तेस्रो अङ्कको सम्पादकीयमा लेखिएको छ, ‘अरू–अरू देशमा अखबारैबाट उन्नति भयाको देखेर हामीले पनि सोही देखाशि गरि यो गोर्खापत्र अखबार निकालेको... ।’ यो कुरा वाचाल छ । एउटा अमूर्त आमवृत्तलाई प्रेरणाको स्रोत मानेर, पाठको उपभोक्ता अज्ञात, मौन र अदृश्य भए पनि अखबारको धर्म परिभाषित गर्नु ‘जिरो ग्राउन्ड’ मै भए पनि ठूलो काम हो । ‘मधुपर्क’ को घरको इतिहास हो । 
बसुन्धराको एउटा अमूक थलोमा मधुपर्क साहित्यिक पत्रिकाले जेठ ३०, २०७४ मा आयोजना गरेको कार्यक्रम अभूतपूर्व थिएन । यो कार्यक्रम हुने पद्धतिकै सिसिसिलाभित्र थियो । सम्मान गर्ने र यसको स्वर्ण अङ्कको रूपमा अमूर्त संस्कृति विशेषाङ्क सार्वजनिक गरिने भनी आएको यो पत्रिकाका निकै समयदेखिका लगनशील सम्पादक र निबन्धकार श्रीओम श्रेष्ठ रोदनको निम्तोका आधारमा म पनि गएँ । त्यहाँ सम्मानित र सम्मान दिने सय पुग्नै लागेका सत्यमोहन जोशी र माधव घिमिरेले त्रियानब्बे वर्ष पुगेका श्यामदास वैष्णवलाई यो पत्रिकामा छापेको उत्कृष्ट कवितालाई भनेर पुरस्कार दिएको दृश्य ऐतिहासिक थियो । यी मानिसहरूले साहित्यिक पत्रिका र एकतन्त्री राणा शासनका बीचमा भएका अलिखित सम्झौतामा कस्ता पाठ कति छाप्न पाइन्छ भन्ने कुरा बुझेर ‘हेजिमोनी’ सँग सम्झौता गरेका थिए । मिसेल फुकोको पाठ हेजिमोनीको सिद्धान्त सम्झिन्छु । तर राणाहरूले नेपाली साहित्यका पाठलाई लिएर एकतन्त्री शासनमा कस्ता विचार राखे ? त्यो नेपालको इतिहास लेखनको एउटा अर्कै माध्यम हो, विषय हो । 

अर्को एउटा कुरा बिर्सिनु हुँदैन । नेपालमा अर्को विधामा लेख्ने राष्ट्रिय इतिहासकारहरूले साहित्यिक पाठ खोजिदिने, व्याख्या गरिदिने अनि साहित्यलाई कसरी लिनेजस्ता सूक्ष्म विषयमा काम गरेका छन् । नेपाली साहित्यको इतिहासको मानक बनाउने काम इतिहासकार बाबुराम आचार्यले नगरेका भए कुरा निकै फरक पर्ने थियो । त्यसैगरी इतिहासकार चित्तरञ्जन नेपालीले नेपाली कविहरू पत्ता लगाएर इतिहासमा तिनका व्याख्या गरे । बालचन्द्र शर्माले पनि त्यसै गरे । यी इतिहासकारहरूका आफ्ना–आफ्ना धारणा, शक्तिसँगका मौन सम्झौता कामको हिसाबले भए होलान् । हामी सहमत नहौंला । तर तिनले नेपाली साहित्यकार र समीक्षकहरूले भुल्न नहुने एउटा गुन लगाएका छन् । तिनीहरूले त्यो समयमा पनि राष्ट्रिय इतिहासको लेखनको क्रममा साहित्यलाई खोजिदिएर ल्याउनु भनेको कुराले साहित्य र शासकका हेजिमोनीको बीचमा हस्तक्षेप गर्नु र शासकलाई साहित्य ग्रहणयोग्य बनाइदिनु हो । आधुनिक समयमा आएर युवा पुस्ताका इतिहासकार डा. प्रत्यूष वन्तले साहित्यलाई लिएर फराकिलो आमवृत्तसम्म पुर्याएर संवाद गर्न सक्ने आधार खोजिदिएका छन् । वन्तले नेपाली साहित्यिक पाठका लेखक र उपभोक्तालाई आफ्नो भाषामा लेखिएको पाठबाटै आत्मविश्वाससाथ विश्वमा आफ्ना कुरा भन्नुको आधिकारिकता देखाउँदै आएका छन् । गायत्री स्पिभाक चक्रोवोर्ती जो नेपालमा प्राध्यापक अरुण गुप्तोले आफ्नो संस्था आएसरमा पटक–पटक बोलाउँदा नेपालमा परिचित भइसकेकी छन्, तिनले बङ्गाली लेखक महाश्वेता देवीका बङ्गाली कथालाई लिएर त्यही विषयको सामथ्र्यमाथि बलिया लेख लेखेको निकै वर्षदेखि हो । 
सम्पादक रोदन र सहायक सम्पादक तुल्सीहरि कोइरालाले पत्रिकाको छोटो इतिहास भने जसमा केही मिलेका केही नमिलेका इतिहासका सूचना प्रवाहित भए । महत्वपूर्ण काम गरेका सम्पादकहरूका नाम पनि भने । अरू केही नमिलेजस्तो लाग्ने सूचना पनि सुन्यौं । जस्तो कि मधुपर्क भन्ने नाम कसले जुरायो भन्ने कुरामा म र रोचक घिमिरे चकित परेका थियौं । बालकृष्ण समले आफूले साहित्यिक पत्रिकालाई महको भाँडो ठानेकाले आफूले ‘मधुपर्क’ नाम जुराएको अनि त्यो मिटिङमा उपस्थितहरूलाई मन परेको जस्ता कुरा पटक–पटक भनेका सम्झना छन् । मलाई खासै त्यसमा केही भन्नु छैन । अब यो कुरा रोचक घिमिरे र मलाई मात्र थाहा भएको देखिएकोले यसको अर्थ रहेन । ‘रचना’ पत्रिकाका सम्पादक र प्रकाशक यी घिमिरे पनि त्यहाँ उपस्थित हुनु साहित्यिक पत्रिकाले इतिहास मनाएको त्यो सुखद अवसरमा एउटा वाचाल उदाहरण थियो । रचनाको सय अङ्क, २०६५ को निम्ति मैले सबै अङ्क पढेर लेखेको लेख ‘रचनाका सय अङ्क : साहित्यिक युगहरूको प्रसङ्ग’ को पुछारमा यस्तो लेखेको रहेछु— 
‘साहित्यको अध्ययनमा आएका परिवर्तनलाई आत्मसात् नगरी साहित्य अघि बढ्दैन भन्ने कुरा रचनाका सय अङ्कहरूको सन्देश हो । अर्को महत्वपूर्ण सन्देश रचना पत्रिकाको अस्मिता नै हो । आज बाहिरी शक्तिवृत्त वा अर्जुन अप्पादुराई र अरू विद्वान्हरूले भनेजस्तो ‘सेलुलर’ शक्तिवृत्तको रचना गर्ने र स्थापित शक्तिहरूजस्तो प्रशासन र शक्तिकेन्द्रहरूको प्रभावभन्दा भिन्न सिर्जनात्मक शक्तिको रचना गर्नुपर्छ भन्ने विचार बलियो भएको छ । कहीँ कतै सम्झौता नगरी नेपाली इतिहासका चुनौतीपूर्ण कालखण्डमा यस्तै सिद्धान्तलाई लिएर काम गर्ने रचना पत्रिका र यसका सम्पादक, प्रकाशक र सहयोगी साहित्यकारहरूको यो आधी शताब्दी नेपाली साहित्यको इतिहासमा एक महत्वपूर्ण युग हो ।’ रोचक घिमिरेको रचनाको अहिले पनि नियमित पाठक हुन पाउनुले मलाई एउटा युगको सम्झना गराउँछ । नगेन्द्र शर्मा त्यसरी नै ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका निकालेर सक्रिय छन् । अच्युतरमण अधिकारीले ‘उन्नयन’ पत्रिका अनेक महत्वपूर्ण विशेषाङ्कसहित प्रकाशित गरी अहिले मात्रै बिसाएका छन् । उनको एक मात्र सहयोगी छाताले उनको साथ छाडेको देखिएको छैन । 
सत्र सालदेखि आधुनिक नेपाली साहित्यिक पत्रिकाहरूको एउटा नयाँ युग आरम्भ भएको थियो जस्को साहित्यिक पत्रिका ‘रूप–रेखा’ ले बलियोसँग प्रतिनिधित्व गरेको छ । बालमुकुन्द पाण्डे अनि पछि उत्तम कुँवरको ठूलो लगनशीलता र सम्पादनमा निस्केको यो पत्रिकाले नेपालको राजनीतिमा दबिएको स्वतन्त्र स्वरलाई साहित्यिक अभिव्यक्तिको माध्यम दिएको कुरा अलिकता लागेर अध्ययन गर्दा प्रस्ट हुन्छ । रचना र अरू केही समय निस्केर बन्द भएका पत्रिकाहरूको पनि त्यही भूमिका रहेको थियो । मेरो अनुभवमा अर्को पनि सन्जोग परेको भेटिन्छ । ‘रूप–रेखा’ को सय अङ्कको निम्ति सम्पादक उत्तम कुँवरले मलाई रूपरेखाको ऐतिहासिक ‘शारदा’ पत्रिकासँग तुलना गरेर एउटा लेख लेखिदिनु भने । मलाई यो विषय राम्रो लाग्यो अनि शारदाका केही नभेटिएका बाहेक सबै अङ्क पढेर ‘शारदा र रूपरेखा : दुई युगको प्रसङ्ग’ शीर्षकमा लामो लेख लेखें । त्यो लेख पछि साझाले छापेको मेरो किताब सिर्जना र मूल्याङ्कन (२०३९) मा परेको छ । 
सन् १९२५ सम्ममा भानुभक्त आचार्यको ‘रामायण’ २१ संस्करण छापिइसकेको समयदेखिको कथा हो, अहिले दार्जिलिङको भाषिक र पहिचानको आन्दोलन । छोटकरीमा, नेपाली भाषाको मात्र कथा होइन साहित्यिक पत्रिका, शक्ति र इतिहासको सम्बन्धलाई हामी कसरी हेर्छांै भन्ने कुरा हो । त्यो दिन मधुपर्कले त्यही सम्बन्धको गोधूलि केही मात्रामा भए पनि खोलेको थियो ।

 

प्रकाशित : असार १२, २०७४ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्