कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘लागूऔषधबाट मुक्ति सम्भव’

दुव्र्यसनी विरुद्धको दिवस

काठमाडौं — भनिन्छ, लागूऔषध प्रयोगकर्तालाई मनोबल र आत्मबल वृद्धि गर्ने हो भने उनीहरूले यसबाट मुक्ति पाउन सक्छन् । लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउन सकिन्छ अर्थात् उनीहरू दुव्र्यसनबाट उम्कन सक्छन् ।

‘लागूऔषधबाट मुक्ति सम्भव’


यस्तै उदाहरण हुन्– काठमाडौंका ३२ वर्षीय अनिश मल्ल (नाम परिवर्तन) । उनी १४ वर्ष लागूऔषधमा फसे । ‘६ कक्षा छँदा खराब साथीहरूको संगतमा लागेर लागूऔषध खान थालें, चुरोटबाट सुरु भएको दुव्र्यसनी महँगो हिरोइनसम्म पुग्यो,’ उनले भने । लागूऔषधमा फँसेकै कारण उनले शिक्षा अघि बढाउन पाएनन्, घरपरिवारको माया र विश्वास पनि गुमाए ।
उनी दुव्र्यसनबाट मुक्त भएको ३ वर्ष भयो । यसबाट मुक्त हुन सबैभन्दा पहिले आफैंलाई आत्मबोध हुन जरुरी रहेको उनले सुनाए । ‘उपचार र परिवारको साथ त सेकेन्डरी कुरा रहेछ,’ उनले भने । दुव्र्यसनीबाट मुक्त भएलगत्तै मल्लले बिहे गरे, रोजगारी थाले, अहिले सामान्य जीवनयापन गरिरहेका छन् ।
नार्कोनन नेपालका प्रमुख वसन्तराज कुँवरका अनुसार आफ्ना बच्चा दुव्र्यसनीमा लागेको लक्षण देखापरेको छोटो समयमै सुधार्नेतर्फ लाग्ने हो भने ८५ प्रतिशतलाई सुधार्न सकिन्छ । आफ्ना बच्चाहरूले विभिन्न बहानामा पैसा मागिरहे, घरका परिवारसँग घुलमिल नभए, बढी रिसाए, सधैं ढिला घर आए उनीहरूलाई दुव्र्यसनमा फसेको शंका गर्नुपर्ने मनोरोग विशेषज्ञ डा. सीपी सेढाईं बताउँछन् ।
काठमाडौंका रूपक महर्जन (नाम परिवर्तन) पनि लागूऔषध दुव्र्यसनीबाट मुक्त व्यक्ति हुन् । १५ वर्ष लागूऔषध प्रयोगपछि उनी अहिले सामान्य जीवनयापन गरिरहेका छन् । ‘सुरुमा साथीहरूको करमा खाएँ, पछि रमाइलो लाग्न थाल्यो,’ उनले भने, ‘पछि त छाड्नै सकिनँ ।’ दुव्र्यसनमा परेकै कारण उनले घर छाड्नुपरेको, धेरैपटक जेल जानुपरेको, औषधि जुटाउनकै लागि चोर्नुपरेको बताए । ‘सुध्रिनकै लागि काठमाडौंभरका सुधार केन्द्र धाएँ, अहँ जीवन सामान्य बनाउन सकिनँ,’ उनले भने, ‘जीवन सामान्य बनाउन औषधि चाहिन्थ्यो ।’ १ वर्षदेखि उनी यसबाट मुक्त छन् । दुव्र्यसनबाट बाहिर निस्केपछि उनले अहिले अध्ययन अघि बढाएका छन्, परिवारको विश्वास र माया पाएका छन् । ‘नयाँ जीवन पाएजस्तो लाग्छ, अब यसमा फस्न चाहन्नँ,’ उनले भने ।
गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ९४ हजार लागूऔषध प्रयोक्ता छन् । यो अस्पताल सुधार केन्द्र र प्रहरीले देखाएको तथ्यांक मात्रै भएको मन्त्रालयले जनाएको छ । नार्कोनन नेपालको तथ्यांक हेर्ने हो भने हाल नेपालमा २ लाख लागूऔषध प्रयोक्ता छन् ।
१ लाख प्रयोक्ता स्कुल र कलेजका विद्यार्थी भएको कुँवरको दाबी छ । ‘कुल लागूऔषध प्रयोक्तामध्ये ११ सय जना मात्रै उपचारको पहुँचमा छन्, अरू त कोही लागूऔषध बेचिरहेका छन्, कोही हेपटाइटिस सी सारिरहेका छन्,’ उनले भने । नेपालमा लागूऔषध नियन्त्रण गर्ने निश्चित निकाय नहुँदा दिनानुदिन यसले ठूलो रूप लिइरहेको कुँवर बताउँछन् । ‘दुव्र्यसनमा फँसेकाहरूलाई उपचारले मात्रै हुँदैन,’ उनले भने, ‘उपचारपछि उनीहरूलाई पुन:स्थापना नगरेका कारण समस्या बढेका छन् ।’ लागूऔषध प्रयोक्ता न्यूनीकरणका लागि राष्ट्रिय रणनीति बन्नुपर्ने उनको भनाइ छ । ‘अधिकांश दुव्र्यसनमा फस्छन्, यौनरोगबाट पीडित हुन्छन्, लागू पदार्थ जुटाउन जघन्य अपराधमा संलग्न हुन्छन्,’ उनले भने । डा. सेढाईंका अनुसार पटक–पटक लागूऔषध लिने व्यक्तिको दिमाग सुस्त हुने र मानसिक रोग लाग्न गई अन्त्यमा अशक्त हुन सक्छन् । ‘समयमै उपचार केन्द्रसम्म पुग्ने हो भने छुटकारा पाउन शतप्रतिशत सम्भव छ,’ उनले भने ।

प्रकाशित : असार १२, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?