२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पिपल्लामा आश्वासनको बाढी

दिपायल (डोटी) — यसअघिको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलको मुख्य बजारबाट पैदल एक मिनेट दूरीमा रहेको पिपल्लाको दलित बस्तीका मतदाताको माग छ, ‘हामीलाई आधारभूत सुविधा चाहियो ।’ बत्तीमुनिको अँध्यारोमा रहेको दलित बस्तीमा आधारभूत सुविधासमेत छैन ।

पिपल्लामा आश्वासनको बाढी


असी (८०) घरधुरी रहेको पिपल्लामा जम्मा तीन खानेपानीका सार्वजनिक धारा छन् । तर ती धारामा दैनिक पानी आउँदैन, कहिलेकाहीं आउने पानी अपर्याप्त छ । बस्तीमा आधा घरमा शौचालय छैन, भएका शौचालय नाम मात्रको छ भने खानेपानी नै नभएपछि ती शौचालयको खासै अर्थ पनि छैन । पूरै बस्ती सेती नदीमै निर्भर छ ।
बस्तीमा खानेपानी, सिँचाइ, स्वास्थ्य, रोजगारीको खडेरी छ तर असार १४ गते हुने निर्वाचनको मुखमा सपनाको बाढी भने लागेको छ । राजनीतिक दलका उम्मेदवार र तिनका कार्यकर्ताको चहलपहल बाक्लो छ । प्रमुख दल कांग्रेस, एमाले र माओवादीका उम्मेदवारले त्यो दलित बस्तीका सपना पूरा गरिदिने वाचा गरेका छन् । तर त्यो दलित बस्तीका बासिन्दालाई आफ्ना सपना पूरा हुने रत्तिभर विश्वास लागेको छैन । किनकि विगतमा उनीहरूले सपनाको व्यापार भएको आफ्ना आँखैले देखेका छन् । उनीहरूलाई यतिबेला अनौठा लागेको छ, कहिल्यै वास्ता नगर्ने नेताजीहरूले नमस्कार टक्र्याइरहेका छन् । यतिबेला सबै उम्मेदवारलाई ‘अमूल्य’ मतको खाँचो छ । बाध्यतावश खाएको नमस्कार ती दलितलाई चित्त बुझेको छैन । तैपनि उनीहरूले केही भइहाल्छ कि भनेर उम्मेदवारसमक्ष माग राख्न छाडेका छैनन् ।
स्थानीय पूर्ण कामी भन्छन्, ‘हामीलाई उम्मेदवारको नमस्कारभन्दा आधारभूत विकासको खाँचो छ, खानेपानी, शौचालय, बाटो र बालबालिकालाई नि:शुल्क शिक्षा हाम्रो मुख्य माग हो । यी माग पूरा हुनेमा विश्वास नभए पनि भन्ने मौका यही हो ।’
दिपायल बजारको छेवको दलित बस्तीलाई एउटा सानो ढलले विभाजन गरेको छ । ढुंगा छापेको सानो गोरेटो बाटोको दायाँबायाँको ढुंगा र माटोले बनेको दलित बस्ती पहिले जस्तो थियो, अहिले पनि त्यस्तै भएको लालबहादुर पार्कीको भनाइ छ । ‘पहिलेभन्दा बढी जनसंख्या बढेकाले समस्या झ्न बढदै गएको छ,’ उनले भने, ‘उम्मेदवारका कुरा सुन्दा सबै विकास गर्छौं भन्छन्, कसरी पत्याउनु ?’
दलित बस्तीमा अधिकांश बूढाबूढी र महिलाले राम्ररी नेपाली भाषा बुझदैनन् । स्थानीय डोट्याली भाषामा बोल्ने उनीहरू सरकारी कार्यालयमा खुलेर कुरा गर्न सक्दैनन् । ‘समस्या साना हुन्, ती हाम्रा लागि ठूला भइदिए,’ टोलीकी अगुवा महिला कुमारी ओडले भनिन्, ‘चुनावमा कुरा उम्मेदवारले सुन्ने भएकाले भनेका हौं ।’
पञ्चायती, बहुदलीय र गणतान्त्रिक व्यवस्था राम्ररी भोगेका वृद्ध बाजी दमाईलाई विगत र हालका उम्मेदवारको चरित्रमा खासै फरक लागेको छैन । ‘चुनावका बेला जो लै निका (राम्रा) का कुरा गर्छन्, त्यसपछि कल्ले हाम्लाई चिन्ने ?’ उनले डोट्याली भाषामा भने, ‘चुनाव जितेपछि फर्की नइ तक्ता (फर्किंदैनन्) ।’
यो दलित बस्तीका पाँच प्रतिशत व्यक्तिको नागरिकता छैन । सरकारी सुविधामा खासै पहुँच नहुने भएकाले नागरिकता नबनाएको उनीहरूले प्रतिक्रिया दिए । स्थानीय गंगाको थर नै नागरिक हो, उनीसँग नागरिकता छैन । ‘नागरिकता बनाउने काम परेको छैन, त्यसैले बनाइन मैले,’ उनले भनिन् । यहाँका धेरै बालबालिकाको जन्मदर्ता नभएकाले छात्रवृत्तिलगायत सुविधा पाउनबाट वञ्चित छन् । कतिपयलाई यो जानकारीसमेत छैन । गैरसरकारी संस्थाको बाक्लो उपस्थिति भएको दिपायलमा दलित बस्तीमा उपस्थिति देखिँदैन । गरिबीका कारण महिलाको स्वास्थ्य समस्या उस्तै छ । ‘महिला र बालबालिकाका लागि काम गर्ने संस्थाले समेत दलित बस्तीलाई अछूत ठान्या छन्,’ कुमारी ओडको भनाइ छ ।
राजनीतिक दलका उम्मेदवारले यो बस्तीलाई निर्णायक ठान्छन् । करिब–करिब दुई सय मतदाता रहेको यो बस्तीमा निर्वाचनमा बढी चहलपहल हुनु स्वाभाविक छ । चुनावका बेला कांग्रेस, एमाले र माओवादीका उम्मेदवारले राम्रै महत्त्व दिएका छन् । किनकि यही मतले हारजित हुन सक्छ ।
दलित बस्तीको समस्यालाई आफूले बुझेको दिपायल–सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खडकाले बताए । ‘उनीहरूको मुख्य समस्या पेट पाल्ने छ, त्यसका लागि उनीहरूका लागि आवश्यक खाद्यान्न आवश्यक छ,’ उनले भने, ‘दुई छाक खाने अवस्था भयो भने शिक्षा, स्वास्थ्य, रोजगारका विषयमा अघि बढाउन सकिन्छ ।’ दलित बस्तीमा आवश्यक चेतनाको विकास गर्नुपर्ने उनको बुझाइ छ ।
दैनिक मजदुरी गरेर खाने दलितहरूका लागि एमालेका मेयर उम्मेदवार मन्जु मलासीले आवश्यक रोजगारी व्यवस्था गर्ने दाबी गरिन् । ‘दलितलगायत पिछडिएका बस्तीका लागि एक घर एक रोजगारी दिने हाम्रो उद्देश्य हो,’ उनले भनिन् ।
माओवादीका उम्मेदवार प्रेम नेपालीले पिछडिएका दलितका लागि आयआर्जनको व्यवस्था आवश्यक भएकाले आफ्नो जोड त्यही भएको बताए । ‘उनीहरूको सहकारीमार्फत लघु उद्यममा लगाउनुपर्छ, साथै आधुनिक कृषि उत्पादनमा संलग्न गराउनुपर्छ,’ उनले भने ।
दलित बस्तीको समस्या एउटै भए पनि तीनथरी राजनीतिले उनीहरूलाई घुमाइरहेको छ । बस्तीलाई कांग्रेस, एमाले र माओवादी विभाजन गरिदिएका छन् । जसका कारण उनीहरू आफ्नो जल्दोबल्दो समस्यामा एकजुट हुन सकेका छैनन् ।

प्रकाशित : असार १, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?