कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिमाली समुदायमा स्थानीय निर्वाचन

ताशी टेवा डोल्पो

वैशाख ३१ गते आदिवासी जनजाति हिमाली समुदाय डोल्पोहरूले भोट हाल्दा म त्यहीं थिएँ । संघीयता र स्थानीय पुन:संरचनाको मर्मसँगै स्थानीय तहको निर्माण हुँदैछ ।

हिमाली समुदायमा स्थानीय निर्वाचन

उक्त पुन:संरचनाले डोल्पो समुदाय पनि कहाँ अछुतो रहन सक्थ्यो र ? विशेषगरी भूगोललाई प्राथमिकतामा राखी गरिएको डोल्पा जिल्लाको ८ वटा स्थानीय संरचनामध्ये समुदायको अग्रसरतामा छरिएर रहेको हिमाली आदिवासी जनजाति समुदायले ३ वटा गाउँपालिका पाए । आफ्नै संस्कृति र इतिहास झल्काउने शेफोक्सुन्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाले समुदायलाई केही समयका लागि भए पनि अपनत्वको भावना दिलाएको छ । यस उपलब्धिलाई समुदायले कति थेग्न सक्छ, त्यो त भावी दिनमा थाहा हुनेछ । यद्यपि डोल्पो समुदाय यत्तिमै खुसी छन् भन्नुचाहिंँ मुर्खता हुनेछ । निर्वाचनले उक्त तिक्ततालाई केही हदसम्म सरकारले फेरि नकोट्याएको भन्न पनि नमिल्ला । यसकारण पहिलो चरणको निर्वाचन सफल भयो/भएन प्रश्न गर्ने प्रशस्त ठाउँ छन् । यो लेख डोल्पाको निर्वाचनमा प्रयोग भएको भाषा र राजनीतिक दलको क्रियाकलापमा केन्द्रित रहनेछ । 
हिमाली समुदाय (करिब ७०००) डोल्पोहरूको आफ्नै डोल्पो भाषा छ । राज्यबाट खासै डोल्पो भाषालाई बचाउन कुनै कोसिस विगतमा नभए पनि उक्त भाषा समुदायले अझै पनि प्रयोग गरिरहेका छन् । आधुनिकताको चपेटामा परेका डोल्पो समुदालाई भविष्यमा उक्त भाषालाई बचाइराख्न केन्द्रीय र प्रादेशिक सरकारको सहयोग खाँचो पर्ने नै छ । हालसम्म एकदमै कम संख्यामा रहेको स्थनीय स्कुलहरूमा सरकारले २ जना शिक्षक दरबन्दीको व्यवस्था गरे पनि स्थानीय भाषा पढाउने शिक्षकको व्यवस्था भने गरेको छैन । यो बेवास्ता स्थानीय निर्वाचनमा पनि दोहोरियो । 
सरकारबाट समुदायमा जति क्रियाकलाप भए, सबै नेपाली भाषामा मात्र भए । गणतन्त्रको प्रमुख मेरुदण्डमध्ये स्थानीय भाषाको प्रयोग र प्रबद्र्धन पनि हो । हरेक गाउँपालिकामा खटाइएको सरकारी कर्मचारीहरू १ जनाले पनि डोल्पो भाषा बोल्न जान्दैन थिए । चाहे त्यो स्थानीय तहमा खटाइएका ५ जना मतदानका टोली होस् या हरेक वडामा खटाइएका सामाजिक परिचालक नै, धेरैजनाले पहिलोपल्ट उक्त विकट ठाउँमा पाइला टेकेका थिए । चाहे त्यो नेपालीमा लेखिएको दलहरूको घोषणापत्र होस् या गाउँपालिकामा निर्वाचन आयोगले निकालेका सूचनाहरू नै किन नहोस्, प्राय:जसो डोल्पोहरू ती राजनीतिक विषयबाट अनभिज्ञ नै थिए । यसले गर्दा धेरै डोल्पो भोट कसरी हाल्नेमा प्रस्ट भएका थिएनन् । २० वर्षपछि भएको स्थानीय निर्वाचनजस्तो महत्त्वपूर्ण प्रजातान्त्रिक प्रयोगमा पनि स्थानीय भाषालाई प्रयोगमा ल्याउन नसक्नु कसको असफलता ? संघीयता गणतन्त्रजस्ता गहन विषयलाई संस्थागत गर्न के स्थानीय भाषा प्रयोगमा ल्याउनु पर्दैन र ?
उक्त निर्वाचनले धेरै पछि समुदायकै व्यक्ति तथा महिलालाई प्रमुख पदमा ल्याउने व्यवस्था मिलाएको थियो । धेरै मतदाता निर्वाचनमा भाग लिई गाउँपालिकाबाट प्राप्त हुने अधिकारको लाभ उठाउन चाहन्थे । तर  समुदाय भित्रका हरेक अन्तरक्रिया भने स्थानीय उम्मेदवारहरुले अआफ्नै भाषामै सम्पन्न गरेका थिए । निर्वाचनमा भाग लिँंदा हुने फाइदा तथा बेफाइदाबारे समुदायभित्रै व्यापक छलफल भयो । यसमा समुदायबाट गाउँपालिकाका अध्यक्ष/उपाध्यमा भाग लिएका दाबेदारहरूको भूमिका महत्त्वपूर्ण थियो । ती दाबेदारहरूले सबै छलफल प्राय:जसो घर–घरमा गई निर्वाचनबारे समुदायको जिज्ञासा मेटाउने प्रयास गरे । यी छलफल नेपाली भाषामा हुन असम्भव नै थियो । तसर्थ सरकारी कर्मचारीहरूले निर्वाचनको बखत नेपालीमात्र बोले पनि डोल्पो समुदायमा डोल्पो भाषाको महत्त्वलाई नकार्न कदापि मिल्दैन ।
यी कुरा गरिरहँदा हामीले के पनि बिर्सन हुँदैन भने डोल्पो समुदायमा सुरक्षास्थिति निकै कमजोर छ । छार्का ताङसोङ गाउँपालिकामा मात्र आफूलाई जनताको प्रतिनिधित्व गर्छु भन्ने दलले भय र त्रासको वातावरण सिर्जना गरेकै हो । कम्तीमा ६० जनाभन्दा बढी युवक मोटो लठ्ठी लिई हरेक गाउँमा गई विपक्ष दलबाट उठ्न निरुत्साहित पनि पारेका थिए । धेरैलाई डर र केहीलाई कुटेरै भए पनि तह लगाइएको पाइयो । १ भोट पनि तल–माथि नहोस् भन्ने पक्षमै तिनीहरु थिए । 
गाउँ–गाउँ गई ती युवकहरूले सित्तैमा ४–५ दिन सम्म खानपिन पनि गरे । पैसा माग्दा र खेतीपातीको समयमा खेतमा जान खोज्दा उल्टो थर्काउने काम गरे ।  सुरक्षाकर्मी र निर्वाचन अधिकृतहरू जसरी पनि निर्वाचन सिध्याएर जाने हतारोमा थिए । गुन्डागर्दीले सताएको समयमा डोल्पो समुदायले निवार्चनमा कसरी भाग लिए होलान् ? यस्तो परिस्थितिमा निर्वाचन कत्तिको निष्पक्ष भयो भन्ने प्रश्न गम्भीर रहेको छ । निर्वाचन हुनुभन्दा १ हप्ताअघि जतिमात्र प्रहरी र सेना पुग्नु र पुगेर पनि खासै सुरक्षाको वातावरणलाई सहज बनाउन नसक्नुले स्थानीय निर्वाचनबारे प्रश्नहरू थपिएका छन् । 

प्रकाशित : जेष्ठ २९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?