१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

वाह मोटी !

मधु शाही

काठमाडौं — उनलाई नजिकैबाट हेर्न चाहनेहरू धेरै थिए । तर, उनका बडिगार्डहरू तगारो बनिरहेका थिए । भारतीय कमेडियन भारती सिंह भने दर्शक हँसाउन आफ्नै शरीरमाथि व्यंग्य गर्दै थिइन्, ‘इस मोटी को देखने की इतनी जल्दी ?’ झन्डै तीन वर्षअघि कार्यक्रम लिएर नेपाल आएकी भारतीले मोटो शरीरमाथि चर्चा गर्दै मनोरञ्जन दिएकी थिइन् ।

वाह मोटी !

उनले आफूले पाएको सफलतामा अभिनय क्षमतासँगै शरिरको बनावटले पनि विशेष अर्थ राखेको बताएकी थिइन् । अन्तर्वार्ताका क्रममा उनले भनेकी थिइन्, ‘आफूलाई मोटी हुनुमै गर्व गर्छु ।’ 
समाजमा मोटो शरीर प्रगति र सुन्दरताको बाधक हो भन्नेहरूका लागि भारतीलगायत केही मोटा सुन्दरीले गलत प्रमाणित गरिदिएका छन् । थाइल्यान्डकी फेसन स्टाइलिस्ट घे गेजुन लोकभितले सामाजिक सञ्जालमार्फत ‘आई एम फ्याट सो ह्वाट ?’ थिमको अभियान नै चलाइरहेकी छन् । उनले ‘द फस्ट प्लस साइज स्टाइलिस्ट इन एसिया’ को टाइटलसमेत जितेकी छन् । स्टाइलिस्ट ड्रेस कसरी लगाउनेबारे उनी आफूजस्तै मोटीहरूका लागि सहयोगी बनेकी छन् ।
केही वर्षअघि यसै अभियान अन्तर्गत नेपाल आएकी लोकभितले कार्यशालासमेत गरेकी थिइन् । यति बेला ‘आई एम फ्याट सो हाट ?’ उनको फेसबुक पेज फलो गर्ने लाखौं छन् । मोटो मान्छेले कसरी फिगर फिट देखाउने भनेर सोधेको जिज्ञासामा उनी सामाजिक सञ्जालमार्फत तुरुन्तै समाधान दिने गर्छिन् । फ्री साइज महिलाले स्टाइलिस्ट फेसनको दुनियाँमा झनै प्रगति गर्न सक्छन् भन्ने उनको विश्वास छ । उनले फेसबुक स्टाटसमै लेखेकी छन्, ‘आई वाज नट बर्न टु बी एभरेज, बट टु बी एक्स्ट्रा अर्डिनरी ।’ 
कमिक आर्टिस्ट कृपा जोशीले ‘मिस मोटी’ थिममा सामाजिक अभियानै चलाएकी छन् । उनको विचारमा मोटी महिला असाधारण हुन्छन् । मोटोपनाले सौन्दर्य र विचारमा कुनै असर नपर्ने तर्क उनले ‘मिस मोटी’ अभियानबाट प्रस्ट्याउँदै आएकी छन् । उनले कमिक शैलीका मोटी महिला फिगर कोरेर त्यससँग मोटिभेसन हुने खालका विचार समेत फेसबुक पेजमा राख्ने गर्छिन् ।
परिवारसहित लन्डन बस्दै आएकी कृपाको मिस मोटी अवधारणा मन पराउनेहरू थुप्रै छन् । उनी समाजले मोटीलाई हेर्ने नजर परिवर्तन गर्न आवश्यक रहेको बताउँछिन् । यसैका लागि नै उनले मिस मोटी क्रिएसन गरेकी हुन् । उनका अनुसार शरीरको बनावट हेरेर मान्छेको व्यक्तित्वमाथि टिप्पणी गर्नु गलत हो । त्यस्तै मोटो शरीर भएका व्यक्तिहरूले पनि बनावटकै कारण निराश हुन नहुने उनको सुझव छ । मिस मोटी अभियान उनको कमिक इलस्ट्रेसन मात्रै नभएर समाजप्रति गरेको तितो व्यंग्य पनि हो । 
शरीरको बनावटभन्दा काममा विश्वास गर्छिन् रंगकर्मी लुनिभा तुलाधर । स्वस्थ शरीर मोटो भए पनि करिअरमा कुनै बाधा नहुने उनको तर्क छ । कुनै समय कान्तिपुर टेलिभिजनको ‘पवनकली सो’ बाट निकै चर्चा बटुलेकी उनी सुरुदेखि नै शरीर पातलो गराउने झन्झटतिर लागिनन् । अनावश्यक डाइटिङ गरेर अनुहारको ग्लो हराउँछ भन्ने उनलाई लाग्छ । मोटी भए पनि उनी नाटकमा उत्तिकै सक्रिय छिन् । हालसम्म झन्डै ४७ जिल्लामा नाटक देखाउन पुगेकी छन् उनी । धेरैले उनलाई मोटी भएकीले काम गर्न सक्नु हुन्न कि ? भनेर सहानुभूति देखाउन पनि खोज्छन् रे । उनीचाहिँ कहिल्यै मोटोपनामा आफ्नो कमजोरी देखाउँदिनन् । फेसनको नजरमा पनि शरीर सुहाउँदो पहिरन लगाउन मोटो मान्छे नै फिट हुने उनको ठम्याइ छ । ‘पहिरन मिलाएर लगाउन जाने मोटो शरीर पनि सुन्दर देखिन्छ,’ उनले भनिन्, ‘म चाहिँ लेगिङ्ज र टप्स मन पराउँछु ।’ तर, फुर्सद भए सारी नै लगाएर हिँडदा उनी आफू सुन्दर भएको महसुस गर्छिन् । 
फेसन कोरियोग्राफर रोहिया महर्जन आफूलाई ‘फ्री साइज फिगर लेडी’ भन्न रुचाउँछिन् । यसो भनिरहँदा उनको मन कँुडिँदैन । आत्मविश्वास र मनको सुन्दरताले व्यक्तिको बाहिरी सौन्दर्य झल्काउनेमा उनी विश्वास गर्छिन् । मिस नेवा: २००५ को ट्यालेन्ट क्राउनसमेत जितेकी उनी कथक शिक्षक पनि हुन् । भारतबाट कथकमा स्नातकोत्तर गरेर आएकी उनी अरूलाई फिट राख्न जुम्बा डान्स सिकाउने गर्छिन् ।
‘क्षमतासँग शरिरको के तालमेल ?’ उनले भनिन्, ‘जीउ जति भारी भए पनि नाच्दा हल्कै हुन्छु ।’ उनको नृत्य देखेर शरीरको चर्चा नगर्ने कमै हुन्छन् । उल्टै तारिफ गर्छन् । यसैमा उनले गर्व गर्ने बताइन् । मोटी छु भन्दैमा खुकुलो कपडा लगाएर हिँड्न मन पराउँदिनन् उनी । परम्परागत र आधुनिक सबै प्रकारका स्टाइलमा सजिन सक्ने उनको खुबी छ । ‘मेरो लवाइ देखेर पातलो जीउ भएका साथीहरू सल्लाह लिन आउँछन्,’ उनी थप्छिन्, ‘मोटोपनमै राम्रो देखिन्छ भन्नेहरू थुप्रै छन् ।’

प्रकाशित : जेष्ठ १, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?