कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट लडेर मृत्यु

छोटकरी

रुकुम (कास)– भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका १२ मैनेरीकी ३९ वर्षीया सरीकुमारी खत्री घाँस काट्ने क्रममा लडेकी हुन्।

 

खत्री आइतबार बिहान ७ बजे स्थानीय झाँक्रीखोला भीरमा घाँस काट्न गएकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सामुदायिक वनमा आगो
सल्यान (कास)– बन्गाड कुपिन्डे नगरपालिका ६ मा रहेको साउने सामुदायिक वनमा लागेको डढेलोले ५ हेक्टर जंगल नष्ट भएको छ। डढेलोले बस्ती भेटाउन थालेपछि स्थानीयलाई निभाउन हम्मेहम्मे परेको थियो। सुर्खेत सहरेबाट विवाहमा गएको टोलीले चुरोट खाएर फालेको ठुटाबाट आगो सल्केको स्थानीय रामबहादुर सिंहले बताए। जंगल क्षेत्र धेरै भिरालो भएकाले डढेलो नियन्त्रणमा लिन कठिन भएको थियो। ‘डढेलोका कारण ठूला रूखसमेत नष्ट भएका छन्,’ उनले भने, ‘जंगली जनावर मरेका छन्।’ सामुदायिक वनका अध्यक्ष रामबहादुर बस्नेतले प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिन सकेको बताए।

 

विद्युत् सर्ट हुँदा आगलागी 
नेपालगन्ज (कास)– खजुरा गाउँपालिका ८ रनियापुरमा विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय छवन खाँका दुई घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो खाँको खरले छाएको घरमा आगो फैलिएको थियो। नियन्त्रण प्रयास सफल नभएपछि नजिकैको जस्ताले छाएको घरमा पनि आगोले क्षति गरेको छ। दुवै घरभित्रका अन्नपात, लत्ताकपडा र अन्य सामग्री नष्ट भएको प्रहरीले जनाएको छ। 

प्रकाशित : वैशाख २५, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?