कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुशासन र रोजगारीको आस

पोखरा ब्युरो

पोखरा — यहाँका व्यवसायी सन्तोष सोनामलाई सडक अतिक्रमण गरी घर बनाएर व्यक्तिगत स्वार्थ लुट्नेहरू देख्दा उदेक लाग्छ । उनको सुझाव छ, ‘अब बन्ने मेयरले सडक मापदण्ड तोकेर साँघुरो बाटो फराकिलो बनाउनुपर्छ ।’

सुशासन र रोजगारीको आस

फेवातालमा मानवीय अतिक्रमण रोक्न विशेष योजना आवश्यक देख्छन् उनी । ‘पोखराका धेरै ठाउँलाई पर्यटकीय विकास गर्न आवश्यक छ । भएका पनि अतिक्रमणको चपेटामा छन्,’ सोनामले भने ।
प्राध्यापक सुमिता बस्नेत अबको महानगर प्रमुखले भ्रष्टाचारमुक्त संयन्त्र निर्माणमा जोड दिनुपर्ने बताउँछिन् । ‘प्रशासनिक काम कारबाही चुस्तदुरुस्त बनाउनुपर्छ,’ उनले भनिन्, ‘जनतालाई छिटोछरितो सेवा दिने संयन्त्र बनाउनुपर्छ ।’
उम्मेदवारले ल्याउने एजेन्डा भोट फुत्काउनका लागि मात्र हुन सक्ने भएकाले मतदाता सचेत हुनुपर्ने ठान्छिन्, अर्की स्थानीय शकुन्तला थापा । ‘जुनसुकै पार्टी भए पनि चुनाव प्रचार–प्रसार गर्न पाउनु उनीहरूको अधिकार हो,’ उनले भनिन्, ‘मतदाता स्वयं सचेत भई राम्रालाई चुन्नुपर्छ ।’
तनहुँ संवाददाताका अनुसार माझकोट–७ का धनबहादुर थापा स्थानीय तह चुनावबाट आउने नेतृत्वले भ्रष्टाचार अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिन्छन् । विकास निर्माणका लागि जनप्रतिनिधिकै अगुवाइ चाहिने थापाको निष्कर्ष छ । ‘कर्मचारीलाई दैनिक खबरदारी गर्न नसकिने रहेछ,’ उनले भने, ‘सरुवा भएर गएपछि उसले गरेको अनियमितता पनि सँगै जान्छ, जनतालाई घाटा मात्र हुन्छ ।’
स्थानीय तहले शासनको अधिकार राख्ने भएकाले रोजगारीका अवसर पनि स्थानीय तहमै सिर्जना हुने धेरैको विश्वास छ । ‘केन्द्रीय तहमा पुग्ने राजस्व स्थानीय तहले खर्चन पाउँछ,’ स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले भने, ‘विकास निर्माणमा पनि स्वच्छ प्रतिस्पर्धा बढ्ने देखिन्छ ।’ संघीयताले केन्द्रीकृत राज्यबाट समान हैसियतको अवसर मिलेको उनले बताए ।

प्रमुख पदमा महिला पारिएनन्
एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दलले प्रमुख पदमा महिला उम्मेदवार उठाउन कन्जुस्याइँ गरेका छन् । देशकै ठूलो महानगर पोखरा–लेखनाथमा १६ उम्मेदवारमध्ये दुई जना मात्रै महिला छन् ।
मेयरमा राप्रपाले गीता गुरुङ र नेपाल परिवार दलले कल्पना बराललाई उठाएको छ । उपमेयरका ११ उम्मेदवारमध्ये भने आठ जना महिला छन् । कांग्रेसकी सरस्वती गुरुङ, एमालेकी मञ्जुदेवी गुरुङ, माओवादी केन्द्रकी गोमा ढकाल, संघीय समाजवादी फोरमकी लक्ष्मी खाती परियार, राष्ट्रिय जनमोर्चाकी दिलकुमारी खत्री, नेकपा (संयुक्त) की गंगादेवी आचार्य, अखण्ड नेपाल पार्टीकी गोमाकुमारी थापा र स्वतन्त्र उम्मेदवार कल्पना थापा उपमेयरमा भिड्दै छन् ।
महानगरका ३३ वडामध्ये ३ ठूला दलले ६ वटामा मात्रै महिलालाई अध्यक्षको उम्मेदवार बनाएका छन् । माओवादी केन्द्रले ४, कांग्रेस र एमालेले १–१ वटा वडामा उम्मेदवार बनाएका हुन् । कांग्रेसले वडा नम्बर ८, एमालेले वडा नम्बर १ र माओवादीले वडा नम्बर ९, १७, २९ र ३० मा महिलालाई अध्यक्षको उम्मेदवार बनाएका छन् । गाउँपालिका प्रमुखमा महिला उम्मेदवार उठाउनमा माओवादी अगाडि देखिएको छ । ४ गाउँपालिकामध्ये ३ वटाको प्रमुखमा माओवादी केन्द्रले महिलालाई उठाएको छ । रूपा गाउँपालिकामा निर्मला सुवेदी, मादीमा राधा सापकोटा र माछापुच्छ्ेरमा प्रवीणा अधिकारी प्रमुखमा लड्दै छन् । अन्नपूर्ण गाउँपालिका प्रमुखमा महिला उम्मेदवार छैनन् । नेपाल परिवार दलले मादी गाउँपालिका प्रमुखमा नन्दकली भण्डारीलाई उम्मेदवार बनाएको छ ।

आश्वासन बाँड्दै उम्मेदवार
म्याग्दी– अधिकांश मतदाता ‘योजनामा पैसा हाल्न सक्ने’ उम्मेदवार खोज्न थालेका छन् । टोलैपिच्छे विभिन्न योजना अघि सार्दैै मतका लागि बार्गेनिङ गर्ने प्रवृत्ति बढेको छ । नगर/गाउँपालिका उन्नत बनाउने भिजन भएको नेताभन्दा पनि मतदाता यस्तै योजना बाँड्नेको खोजीमा छन् । मत बार्गेनिङ गर्नेमा अधिकांश आमा समूह र युवा क्लब छन् । महिला मतदाताको संख्या बढी भएकाले उम्मेदवार पनि उनीहरूको भावअनुसार प्रतिबद्धतापत्र भन्दै ‘हातहातमा योजनापत्र’ थमाइरहेका छन् । ‘जसले हामीलाई विकास दिन्छ, उसैलाई भोट दिने हो,’ बेनी नगरपालिकाकी उमादेवी पौडेलले भनिन्, ‘समूहको भवन बनाउने, सामुदायिक विद्यालयमा पैसा दिने नेता चाहिएको छ ।’
मतदातालाई प्रभावित पार्न दलहरूले रोजगारी आवश्यक रहेका युवापुस्ताको फेहरिस्त तयार पारी सोहीअनुसार मागको मौखिक सम्बोधन गर्ने गरेका छन् । केही उम्मेदवारले मेलापर्व वा मन्दिर निर्माण भन्दै पैसा बाँडेको पनि चर्चा छ ।
‘समुदायले चन्दा उठाएर चलाएका विद्यालय भवन जीर्ण छन्, फर्निचर छैनन्, समुदायले खनेका सडक अलपत्र छन् । त्यसैले टोलैपिच्छे मागपत्र आउने गरेको छ,’ बेनी नगरप्रमुखका प्रत्याशी प्रमोद श्रेष्ठले भने ।

‘राम्रा छान्ने अवसर’
पर्वत– पाङराङकी २८ वर्षीया अनिशा शर्मालाई स्थानीय चुनाव दलभन्दा पनि राम्रो व्यक्ति छान्ने अवसरजस्तो लाग्छ । तर, फलेबास आइपुगेकी उनी दल विशेषको प्रचार देख्दा अचम्म परिन् । ‘अहिलेको निर्वाचन कुनै पार्टीविशेषभन्दा व्यक्ति छान्ने अवसर हो,’ उनले भनिन्, ‘तर, सबैले संसदीय निर्वाचनजस्तो प्रचार गरेको देख्दा अचम्म लागेको छ ।’
संसदीय चुनाव भोगेका युवापुस्तामा उस्तै खालको उत्साह देखिन्छ । दलहरूका प्रचार र युवा परिचालनको अवस्थाले ठूलै प्रतिस्पर्धा हुने पक्का छ । ‘हाम्रा लागि यो अवसर हो,’ कुश्मा–५ का नारायण पौडेलले भने, ‘दलहरूले उम्मेदवार छनोटमै शक्ति र सत्ताको दुरुपयोग गरेको देखियो ।’

‘हाम्राले टिकट पाए’
स्याङ्जा– उम्मेदवारीका लागि टिकट वितरणको विषयलाई लिएर असन्तुष्टि बढेको छ । ठूला दलका कार्यकर्ताले जनआकांक्षाविपरीत उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेता अनुकूल ‘राम्राभन्दा पनि हाम्रा उम्मेदवार’ लाई हचुवाका भरमा टिकट वितरण गरिएको भन्दै कार्यकर्ताले आक्रोश व्यक्त गरे । पुतलीबजारका कृष्णजंग केसीले ठूला र प्रमुख मानिने दलले राम्रो छवि भएका व्यक्तिलाई अवसरबाट वञ्चित गराउनु जनताप्रति अन्याय हुने बताए । ‘यो व्यक्ति यो पार्टीको हो भनेर आरोप नलगाउने सामाजिक व्यक्तिलाई समेत पार्टीले अवसर दिइएन,’ उनले भने ।

महिला तीन मात्रै
तनहुँ– यहाँका १० वटा तहमध्ये प्रमुख पदमा उम्मेदवारी दिने महिला तीन जना मात्र भएका छन् ।
मेयरमा व्यास नगरपालिकामा फोरम लोकतान्त्रिकबाट धनमाया गौली, भानु नगरपालिकामा एमालेकी भगवती न्यौपाने र म्याग्दे गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी माया राना उम्मेदवार छन् ।
यसअघि राजनीतिक कार्यक्रममा कमै देखिने गरेकी गौलीले अधिकार प्राप्तिका लागि आएको उम्मेदवारी दिने मौका नचुकाएको बताइन् । ‘राजनीति जानेर आएको कुरा होइन,’ उनले भनिन्, ‘अवसर पाए महिलाले नेतृत्व गर्न सक्छन् भनेर उम्मेदवारी दिएकी हुँ ।’ एमाले उम्मेदवार न्यौपाने पार्टीको जिल्ला सचिव पदसम्म पुगेकी व्यक्ति हुन् । ‘प्रमुख पदबाटै काम गरेर देखाउन सकिन्छ भनेर उम्मेदवारी दिएको हुँ,’ उनले भनिन् ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष उम्मेदवार राना कांग्रेस भगिनी संगठन महिला संघकी केन्द्रीय सदस्य हुन् । ‘महिलाले खुला रूपमा लडेर पनि जित्न सक्छन्् भन्ने सन्देश दिन मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘गाउँको विकास निर्माणमा पनि अगुवाइ गर्न सक्छन् भन्ने पुष्टि गरेर देखाउँछु ।’ उनले महिला मात्र नभई राजनीतिक दर्शन र सामाजिक परिवर्तनको काम समेत गर्ने दाबी गरेकी छन् । अन्य सबै तहमा महिलाहरू उपमेयर र उपाध्यक्ष पदमा मात्र उम्मेदवार भएका छन् । पहिलो पद ताकेका अधिकांशले उम्मेदवारी दिने समयमा दोस्रो पद रोजेका हुन् । राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएकी गौमाया रानाले बिहीवार नाम फिर्ता लिएपछि न्यौपाने र राना मात्र प्रमुख पदका महिला उम्मेदवार छन् ।
अगुवा आमाहरू
म्याग्दी– धौलागिरि हिमालको फेदीमा अवस्थित मगर बस्ती खिवाङकी ४३ वर्षीया थमसरा पुन जिल्लामै गाउँपालिका प्रमुखकी एक्ली उम्मेदवार हुन् ।
जनविकास मावि मुदीको व्यवस्थापन समिति अध्यक्ष हुँदै राहत दरबन्दीमा अध्यापनरत पुनले उम्मेदवारी दिनकै लागि शिक्षण पेसा छाडिन् । एमालेका तर्फबाट धौलागिरि गाउँपालिका प्रमुखमा उठेकी छन् उनी । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका संञ्चालकद्वय सन्जु बरुवाल र ज्योति लामिछाने बेनी नगरपालिकाको उपप्रमुखका उम्मेदवार छन् । सन्जु राप्रपाबाट र लामिछाने माओवादी केन्द्रबाट उठेका हुन् । सन्जु राप्रपा म्याग्दीका अध्यक्ष वीरबहादुर थापाकी छोरी हुन् भने ज्योति माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्द पौडेलकी बुहारी हुन् ।
कांग्रेसले रघुगंगा गाउँपालिकामा कमला गर्बुजा, मंगलामा हुमाकुमारी फगामी, मालिकामा विमला रोकालाई उपप्रमुख उम्मेदवार बनाएको छ ।
एमालेले धौलागिरिबाहेक अन्नपूर्णमा दुर्गा पाइजालाई, मंगलामा सृजना केसी र मालिकामा खरमाया विटालुलाई उठाएको छ । माओवादी केन्द्रले बेनी नगरसमेत मालिकामा गौमाया श्रीपालीलाई उपप्रमुखमा उठाएको छ । धेरैजसो दलले नगर तथा गाउँपालिकाको वडा प्रमुखमा महिलालाई अगाडि सारेका छैनन् ।

प्रकाशित : वैशाख २४, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?