इथियोपिया र रुवान्डा विकासका मोडेल - प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इथियोपिया र रुवान्डा विकासका मोडेल

दिनेश यादव

नेपाल भूपरिवेष्टित मुलुक भएरै विकसित र समृद्ध बन्न नसकेको सत्य होइन । हजारौंको ज्यान लिने गरि एक दशकसम्म मुलुकमा चलेको द्वन्द्वले पनि हामी कमजोर र विकास गर्नै नसक्ने अवस्थामा पुगेको पनि होइन । पटक–पटकको जनआन्दोलन र राजनीतिक अस्थिरतालाई पनि समृद्धि, उन्नति र प्रगतिको बाधक मान्न सकिन्न ।

विश्वका धेरै यस्ता मुलुक पनि छन्, जहाँ वर्षौंसम्म माथि उल्लिखित कारक तत्त्वहरूका बाबजुत प्रगतिसँग आर्थिक वृद्धि गर्न सफल भएका छन् । नेपाल भुटानजस्तो बन्नुपर्छ भन्ने छैन । जहाँ सबै क्षेत्रमा छिमेकी मुलुकको विशेष पकड र हैकम चल्छ । नेपाललाई आफ्नै माटो र पानी सुहाउँदो विकास र पूर्वाधार निर्माण भए पुग्छ । तर, यसका लागि दृढ इच्छाशक्ति, राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त कर्मचारीतन्त्र र लगानीको समुचित वातावरण भए पुग्छ । यो आलेख विश्वका दुई भूपरिवेष्टित मुलुक रुवान्डा र इथियोपियाले वर्षौंसम्म जारी जातीय द्वन्द्व, राजनीतिक अस्थिरताले थिलथिलो बनाए पनि थोरै समयमै गरेको प्रगतिमा केन्द्रित छ । नेपालका लागि यी दुई मुलुकको विकास मोडेल अनुसरणीय हुन सक्छ । 

रुवान्डाली मोडेल : पूर्वी मध्यअफ्रिकी मुलुक रुवान्डा हामीजस्तै भूपरिवेष्टित हो । हरियो जंगल र पहाडले घेरिएको यो मुलुक सन् १९९० ताका मध्यतिर सरकारद्वारा ‘प्रायोजित’ जनसंहारका कारण सिर्जित जातीय द्वन्द्वबाट विस्तारै पुनस्र्थापनातर्फ प्रयासरत छ । यो क्षेत्रमा उसले धेरै फड्को मारेको छ । त्यहाँ जातीय टुत्सीहरू र हुटुहरूबीच दंगा हुँदा सय दिनमै आठ लाखभन्दा बढीको हुटु समुदायको वर्चस्व रहेको सुरक्षा निकायद्वारा हत्या गरिएको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिवेदनमा उल्लेख छ । जातीय द्वन्द्व र तनावको प्रमुख कारण अल्पसंख्यक टुत्सी र बहुसंख्यक हुटुबीच जारी परम्परागत असमानतालाई चित्रण गरिएको छ । आज त्यहाँ सबैखाले द्वन्द्वको समाधान भई विकास निर्माण र आर्थिक क्षेत्रमा ऐतिहासिक प्रगति भइरहेका छन् । त्यसैले द्वन्द्वमा फसेका र द्वन्द्वपछिका राज्य र सरकारले गर्नुपर्ने कामका लागि रुवान्डालाई उदाहरणका रूपमा लिने गरिएको छ ।
रुवान्डाले वर्षौंदेखिको द्वन्द्वमा मलहम लगाउन आफ्नै स्रोत र साधनको पहिचान मात्रै गरेन, त्यसको उपयोग गरी मुलुकलाई समृद्ध बनाउने उत्कट चाहनाका साथ अघि बढिरहेको छ । त्यसै क्रममा उसले कफी र चिया उत्पादन गरी आफ्नो अर्थव्यवस्थाको पुनर्निर्माणमा जुटेको छ । यी दुई उत्पादनहरू त्यहाँका प्रमुख निर्यात वस्तुमा दरिएका छन् । विश्व बैंकले रुवान्डाको ‘ऐतिहासिक विकास सफलता’ को मुक्तकण्ठले प्रशंसासमेत गर्न थालेको छ । किनभने रुवान्डाले अख्तियार गरेको विकास र सकारात्मक आर्थिक नीतिले त्यहाँ गरिबी र असमानता घटनाउन सहयोग पुगेको छ । 
२३ वर्षअघि त्यहाँको अर्थव्यवस्था तहसनहस थियो । खासगरी, सन् १९९४ मा टुत्सीविरुद्ध मच्चाइएको नरसंहारपछि अधिकांश सेवा र सुविधाहरू ठप्प थिए । यो अवस्था देखेर धेरै अर्थशास्त्री, इतिहासविद् र सिद्धान्तवादीहरूले मुलुकको पुन:स्थापना हुन चार दशकसम्म लाग्ने भविष्यवाणी गरेका थिए । तर, लौकिक फिनिक्सको कथाजस्तै रुवान्डाले युद्धताका प्रयोग भएका बारुदले खरानी भएको जमिनबाट गुलाब उत्पादन गरेको छ । भविष्यवाणी गर्नेहरूलाई झूटो सावित गर्ने गरी विकासपथमा यसरी लम्कियो कि दुई दशकमै आफ्नो अर्थव्यवस्थामा सुधार ल्याइछाड्यो । अर्थशास्त्री, विश्लेषक, लेखक, सिद्धान्तवादीलगायत सबैलाई उसले झूटो प्रमाणित गरिदियो । विश्वका अन्य मुलुकमा भन्दा राम्रो अर्थव्यवस्था बनाउन ऊ सफल भएको छ । भनिन्छ, गर्न चाहे के हुँदैन यहाँ । त्यसैले त अहिले रुवान्डाको विकास मोडेल धेरै मुलुकका लागि प्रेरक र उदाहरणीय बनेको छ । 
करिब १० लाख मानिसको ज्यान र हजारौंलाई विस्थापित हुने गरी भएको जनसंहारअघि र पछि रुवान्डाको वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको थियो । तर, आज विश्वका तीव्र गतिमा बढ्दो अर्थतन्त्र भएको मुलुकमा रुवान्डाले आफूलाई उभ्याउन सफल भएको छ । सन् १९९४ मा मुलुकको वृद्धिदर ऋणात्मक (–११ दशमलव ४ प्रतिशत) रहेकोमा सन् २०१४ मा ७ प्रतिशत र सन् २०१५ मा ६ दशमलव ९ प्रतिशतमा पुगेको थियो । यो वृद्धिदर र आर्थिक छलाङले ऊमाथि अनावश्यक टीकाटिप्पणी र लख काट्नेहरूको मुखमा बुझो हालेझंै बनाइदिएको छ । खासगरी विकासका लागि समयको आवश्यकता पर्ने भन्ने र लेख्नेहरूका लागि चुनौती बनेर उभियो, रुवान्डा । संक्रमणकालमा रहेको मुलुकले प्रगतिमा फड्को मार्न सक्तैनन् भन्ने नेताहरूको बुझाइ र बोलीलाई समेत उसले झूटो सावित गरिदिएको छ । परिवर्तनका लागि दृढ विश्वास नै महत्त्वपूर्ण विषय रहेको प्रमाणित भएको छ । विकास गर्ने जुझारुपन र आत्मनिर्भरतामाथिको विश्वासले मुलुक आफ्नो महाद्वीपमै चम्किला तारा बन्न सफल हुँदो रहेछ । 
तर यसका लागि केही टुल्सहरू अपरिहार्य हुन्छ । तीमध्ये पुनर्निर्माण, निर्यात प्रवद्र्धन, ऊर्जा विकास र समावेशी वित्तलगायतका हुन् । यिनै विषयलाई आफ्नो ‘मोटो’ बनाएर रुवान्डा छोटो समयमै अन्य मुलुकका लागि नमुना बनेको हो । खासगरी नरसंहारको समाप्तिसँगै मुलुकले सुरु गरेको पुनर्जागरण र रूपान्तरणको अभियानले उसलाई ऐतिहासिक सफलताको शिखरमा पुर्‍यायो । यसले सन् २०१२ को अन्त्यसम्मको एक दशकमा आफ्नो वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशतमा पुर्‍यायो । यो दर विश्वव्यापी र अफ्रिका महादेशभरिकै सबैभन्दा उच्च रह्यो । यसमा उसको बलियो आर्थिक आधार र नीति तथा कार्यक्रमहरूले सहयोग गरेकै हो । विशेषगरी ‘ग्रासरुट’ स्तरमा सवावेशी विकासले आफ्नो लक्ष्यमा पुग्न उसलाई सफल बनायो । यो समावेशी विकास नीतिले उक्त अवधिमा मुलुकको विस्तार ३९ प्रतिशत घट्यो । मुलुकले आर्थिक विकास र गरिबी निर्वारण रणनीतिका साथ अघि बढ्दै सन् २०१८ सम्ममा वार्षिक रूपमा कृषि क्षेत्रमा दुई लाख रोजगारी सिर्जना गर्ने जनाएको छ । अनाज उत्पादनमा वृद्धि गर्नेलगायतका पहल उसले धेरै पहिले सुरु गरिसकेको थियो । फलस्वरूप दुई दशकमै विकासलाई उत्कर्षमा पुर्‍याउन ऊ सफल भयो । सन् २०१३ मा प्रतिव्यक्ति आय ६४४ अमेरिकी डलर रहेकोमा सन् २०१८ सम्ममा १२ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्यका साथ अघि बढेको छ । यसैगरी, निजी क्षेत्रको लगानी जीडीपीको १५.४ पुर्‍याउने लक्ष्य पनि उसले लिएको छ । उसले वार्षिक वृद्धिदर ११.५ हासिल गरेको छ । सेवा क्षेत्र, उद्योग र कृषिलगायत अन्य क्षेत्रमा पनि राम्रो प्रगति गरेको छ । 
यसैगरी रुवान्डाले आफ्नो निर्यात प्रवद्र्धन गर्दै सन् २०१८ सम्ममा २८ प्रतिशत निर्यात बढाउने लक्ष्यका साथ अघि बढेको छ । हाल १८६ मेगावाट विद्युत् उत्पादन गरी २४ प्रतिशत जनसंख्यामा यसको पहुँचमा छ । सन् २०१८ सम्ममा ५६३ मेगावाट उत्पादन गरी ७० प्रतिशत घरधुरीलाई विद्युत् सेवा दिने अठोटका साथ अघि बढेको छ । वित्त विकास र वित्तीय सेवामा सुधारले वित्तीय क्षेत्रमा द्रुतगतिमा वृद्धि भइरहेको छ । फलस्वरूप जनसंख्या वृद्धिका बाबजुद मुलुकमा गरिबी न्यूनीकरण अवस्थामा छ । बैंकिङ क्षेत्र स्थिर र राम्ररी पुँजीकृत भएको स्थितिमा छ ।

इथियोपियाली मोडेल
विश्वको अर्को भूपरिवेष्टित मुलुकहरूमध्ये इथियोपिया पनि एक हो । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भूपरिवेष्टित मुलुकमा यो पर्छ । अफ्रिका महादेशमा नाइजेरियापछि जनसंख्यामा दोस्रो हो । आफ्नो इतिहासको धेरै समय त्यहाँ राजाले शासन गरे । ८० भन्दा बढी भाषा बोलिन्छ । बालबालिकाले मातृभाषा र राष्ट्रिय भाषामा पढाइ गर्छन् । खडेरी, भोकमरी, कुपोषणलगायतका समस्याबाट ग्रस्त इथियोपियाको अवस्था रुवान्डाबाट अलि फरक भए पनि विभिन्न संकटका बाबजुद विकासमा फड्को मारेको छ । स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार पुँजीगत परियोजनामाथि (खासगरी आधारभूत संरचनामा) रकम खर्चिरहेको छ, उसले । यसैकारण ‘डाइभर अफ बुम’ को अवस्थामा ऊ पुगेको छ । यसको मुख्य कारण त्यहाँको सरकार आफैं होइन, सरकारद्वारा सञ्चालित कम्पनी मार्फत विकास, निर्माण र संरचनामा खर्च गर्छ । सरकारले औद्योगिक पार्कदेखि चिनी कारखाना र पावर लाइन तिनै संस्थामार्फत बनाउने गरेको छ । खासगरी कर्मसियल बंैक अफ इथियोपिया, इथियो टेलिकम र इथियोपिया इलेक्ट्रिक पावरको त्यहाँको पुँजीगत लगानीमा ७० प्रतिशत योगदान छ । त्यहाँको सरकार र सैनिकले मुलुकमा शान्ति र स्थायित्व कायम गरेको छ, यसले कुनै पनि आर्थिक गतिविधि गर्न सरल भएको छ । बाहिरबाट लगानीकर्ता आउँछन् र विकास निर्माण गर्छन् भन्ने पक्षमा इथियोपियाली सरकार फिटिक्कै छैन, देखिँदैन । 
इथियोपियाको द्रुतगतिमा भइरहेको आर्थिक वृद्धिको मोडेलबारे धेरै लेखिए, चर्चा गरिए । त्यो क्रम अझै जारी छ । तर, ती सबैमध्ये महत्त्वपूर्ण छ, विश्व बैंकको १७१ पृष्ठको ‘इथियोपियाज ग्रेट रन : दि ग्रेट एसिलेरेसन एन्ड हाउ टु पेस इट’ हो । सन् २००० यता यो मुलुक सातौं तीव्र आर्थिक वृद्धिदर भएको मुलुक हो । सन् १९८१ देखि १९९२ सम्म उसको जीडीपी ०.५ प्रतिशतले बढ्न नसके पनि १९९३–२००४ सम्म ११ प्रतिशतमा पुग्यो, जुन चीन अथवा भारतभन्दा धेरै राम्रो हो । सन् २००० मा इथियोपिया विश्वकै सबैभन्दा दोस्रो गरिब राष्ट्र थियो । आज उसलाई विश्वकै दोस्रो अर्थतन्त्र भएको मुलुक चीनसँग तुलना गर्न थालिएको छ । यसप्रकारको उपलब्धि प्राप्त गर्नुमा आधारभूत संरचनामा उसको ठूलो लगानी प्रमुख कारण हो । 
संघीय सरकारले अन्तरप्रदेशीय राजमार्ग बनाइरहेको छ । त्यहाँ विद्युत् विकास, रेल कनेक्टिभिटी उच्च छ, यी सबै कुनै भ्रष्टाचार काण्डबिना भइरहेको छ । कृषि र विकास निर्माणमा पनि उसले राम्रो गरिरहेको छ । अब उसको ध्यान हलुका वस्तु उत्पादनतिर उन्मुख भएको छ । चीन या पूर्वी एसियाली मोडेलविपरीत इथियापिया आफ्नो अत्यन्तै बलियो पुँजी नियन्त्रणमार्फत ‘ओभरभ्यालु’ मुद्रा कायम राख्न सफल छ । यसका लागि उसले प्रिमियम डलरमा ग्रहण गर्छ । जसले गर्दा कम्पनीहरूलाई स्थानीय इथियोपियाली मूल्य कम भए पनि सामान निर्यात गर्न सजिलो छ । आयातकर्ता जोसुकै भए पनि उनीहरूका लागि सजिलो वातावरण छ, त्यहाँ । उदाहरणका लागि फूल निर्यातकर्ताले पनि उपभोग्य वस्तु आयात गर्न डलरसम्म आफ्नो पहुँचको उपयोग गर्न पाउँछन् । यो उसको प्रबन्धकीय या प्रविधि क्षेत्रको पहिलो विशेषज्ञता हुन सक्छ । त्यहाँका बैंकहरूलाई मुद्रास्फीतिको दरभन्दा तल झर्दा पनि ऋण निकासा गर्न त्यहाँ निर्देशन दिने गरिन्छ । आश्चर्यको कुरा त के छ भने धनको भुक्तानी गर्न त्यहाँ ऋणको माग बढ्दो छ । पोर्टफोलियो लगानीकर्ता (पुँजी बजारमा गर्ने लगानीकर्ता) हरू र विदेशी बैंकहरूप्रति त्यहाँको सरकारको एक खालको वैचारिक भिन्नता छ । विदेशी ‘पोर्टफोलियो लगानी’ भन्दा आन्तरिक स्रोत र साधनको प्रयोग रकम जुटाउनका लागि उसले गर्ने गरेको छ । त्यसैले त उसले केन्याको ‘आईपीओ टेलिकम’ को लगानी मुलुकमा भित्र्याउनुको साटो सरकारी स्वामित्वमा रहेको दूरसञ्चारको एकाधिकारबाटै लाभ लिन उद्यत देखिन्छ । हामी कहाँचाहिं नेपाल टेलिकमलाई धराशायी बनाउने र निजी कम्पनी एनसेललाई बढाबा दिने नीति सरकारले अख्तियार गरेको पाइन्छ । अझ कर छुटका लागि पनि राजनीतिक दलपिच्छे लबिइङ हुने गरेको छ । 
अर्को कुरो, सम्भवत: अँगोलापछि विनिमयबिनाकै सबैभन्दा ठूलो दोस्रो अर्थव्यवस्था भएको मुलुक हो इथियोपिया । उसले अगामी केही वर्षभित्रै यो नीतिमा परिवर्तनको छाँट टाढा–टाढासम्म देखिन्न । विज्ञहरूले विदेशी पुँजीलाई आकर्षण गर्न लन्डन स्टक एक्सचेन्जमा सूचीकृत दूरसञ्चार कम्पनीलाई भित्र्याउनुपर्ने सुझाएका छन् । तर, त्यसलाई उसले अस्वीकार गर्दै आएको छ । वित्तीय बजारको परम्परालाई उसले बेवास्ता गरेको छ । राज्यको दिशा, एकाधिकार, विनिमय र मूल्य नियन्त्रणमा केन्द्रित छ । जमिन, श्रम, लजिस्टिक, ऋण र विद्युत्माथि केन्द्रित भएर अघि बढ्न पाँच वर्षको योजनाले धेरै महत्त्व राख्छ । इथियोपिया विश्व व्यापार संघ (डब्लूटीओ) मा छैन । अर्थात् मुलुक सेवाहरू, टेलिकम वा वित्तीय क्षेत्रमा थप खुला हुन इच्छुक छैन । यी क्षेत्रहरूले कर भित्र्याउन अनुमति दिन्छ । आयात करको योगदान जीडीपीमा सन् २०१३–०१४ मा ४.४ थियो । 
यसैगरी आईएमएफको सहयोग पनि उसले लिन चाहेको छैन । मुद्राको अभाव अर्थतन्त्रमा खुबै पर्ने गर्छ । तर त्यो समस्या छैन, कारण यहाँ उत्पादित कफी विदेशमा बेचेर डलर भित्र्याइन्छ । स्थानीय बजारको तुलनामा विश्व बजारमा विनिमय दर घटबढले खासै प्रभाव पर्दैन । यहाँको बैंकिङ क्षेत्रको नीति पनि उपयोगी छ । धेरै युरोपेली र अमेरिकी राजनीतिज्ञहरू पश्चिमा मुलुकमा पनि यो लागू गर्नुपर्छ भनिरहेका छन् । बैंकमा रकम जम्मामा ५ प्रतिशत र उधार दर (लेन्डिङ रेट) ९ प्रतिशत रहेको छ, जुन आईएमएफले २०१५–१६ मा प्रक्षेपण गरेको औसत दरको नजिक छ । यो दरमा लगानी गर्ने कम्पनीलाई सरकारले ऋण दिने गरेको छ । अफ्रिको सिंह (दी हर्न अफ अफ्रिका) भनेर समेत चिनिने इथियोपिया ५० वर्षयताकै सबैभन्दा ठूलो खडेरीको चपेटामा अघिल्लो वर्ष पर्‍यो । सयौं मानिसलाई त्यसले प्रभावित पारेको छ, सयौं भोकमरीको सिकार भए । तर, सोमालिया र दक्षिण अफ्रिकाको तुलनामा केही कुरा इथियोपिया पृथक् देखियो । खडेरीबाट सिर्जित समस्या समाधानमा मुलुकले देखाएको तदारुकताप्रति अक्सफामका विकास च्यारेटी प्रमुख मार्क गाल्ड्रिनले भन्छन्, ‘वास्तविक आर्थिक प्रगति, राम्रो तयारी र सही समयमा सरकारको बलियो दृढ इच्छाशक्ति तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगले समस्यालाई धेरै हदसम्म न्यूनीकरण गर्न इथियोपिया सफल भयो ।’
खडेरीको प्रभावलाई न्यूनीकरण गर्न त्यहाँको सरकारले सुरुमै जिल्लागत ‘वार्निङ’ प्रणाली अपनायो । खाद्यान्न जम्मा गर्ने राष्ट्रिय नीति बनाएर अघि बढ्यो । एक अर्ब अमेरिकी डलर सहयोगमा ७ सय ३५ मिलियन अमेरिकी डलर उसले आफ्नै लगानी गर्‍यो, जुन रकम उसको कुल जीडीपीको ६१.६४ अर्ब अमेरिकी डरलको १० प्रतिशत हो । इथियोपियाले देखाएको चासोलाई अन्तर्राष्ट्रिय समुदायले खुबै प्रशंसा गर्ने गरेका छन् । नेपालमा शक्तिशाली भूकम्प गएको दुई वर्ष भइसक्यो, पीडितहरूको पुनस्थापना अझै पनि हुन सकेको छैन । 
मुलुक यतिमै सन्तोष भने छैन । इथियोपिया अब स्पेस सेन्टर निर्माण गर्ने योजनामा समेत बनाएको छ । यसका लागि अभियानै सुरु गरिसकेको छ । ‘दी इकोनोमिस्ट’ अखबारका अनुसार मुलुकको प्राचीन धार्मिक सहर लालिवेला स्पेस सेन्टर निर्माण गर्ने योजना बनाएको छ । चिली र हवाईमा भएको ‘अब्जभेटरी’ भन्दा ठूलो र संसारकै विशाल स्पेस सेन्टर बनाउने सपना उसले हेर्न थालिसकेको छ । आफ्नै उपग्रह छाड्ने तयारी पनि उसले गरेको छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : चैत्र ३१, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

वित्तीय संस्थाको क्षमता अभिवृद्धि

प्रतिकूल परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले राम्रो मुनाफा आर्जन गर्दै आएका छन् । गत वर्ष पनि त्यसकै निरन्तरता देखियो । यसको एउटा कारण नियामक निकाय राष्ट्र बैंकले कर्जा निक्षेपबीचको ब्याज अन्तर(स्प्रेड) ५ प्रतिशत कायम गर्नु पनि हो ।

शोभनदेव पन्त
(पूर्वबैंकर)

अन्य विकासशील र विकासोन्मुख मुलुकहरूको तुलनामा यो स्प्रेड दर बढी हो । यही कारण बैंकहरूको नाफा बढीे छ । यसले परिमाणात्मक रूपमा वित्तीय संस्थाको व्यावसायिक विस्तार होला तर उनीहरूको गुणस्तर तथा प्रतिस्पर्धी क्षमतामा सुधार आउन सक्दैन । यसकारण बैंकहरूले अझ क्षमता तथा दक्षता अभिवृद्धि गर्न जरुरी छ । अन्यथा मुनाफाको प्रमुख स्रोत निक्षेपकर्तालाई न्यून ब्याज दिनु तथा ऋणीबाट चर्को ब्याज उठाउने मात्र हुनेछ । यसका अर्थ हाम्रो वित्तीय क्षेत्रको क्षमताको स्तर धेरै बढाउन जरुरी छ । 
यसका लागि नियामक निकायले कार्यान्वयनमा ल्याएको ‘ब्याजदर करिडोर’ प्रभावकारी रूपमा लागु गर्नुपर्छ । कार्यान्वयन नभएकै कारण वित्तीय क्षेत्रको क्षमता अपेक्षित रूपमा बढन सकेको छैन । आशा गरौं आउँदा दिनमा प्रभावकारी रूपमा आउनेछ र यसले ब्याजदर र तरलता वाञ्छित सीमामा राख्न सहयोग पुर्‍याउनेछ ।
गत फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती खाताको अंश ६.९ प्रतिशत, बचतको ३७.६ प्रतिशत र मुद्दती ३८ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ९.१ प्रतिशत, ४४.१ प्रतिशत र २८.५ प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा ०७३ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९.३ प्रतिशतले बढेको छ ।
यस्तै, वार्षिक बिन्दुगत आधारमा गत फागुनमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा लगानी गरेको कर्जा २८.९ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको साढे १७ प्रतिशतले र विकास बैंकहरूको साढे ६ प्रतिशतले बढेको छ । तर, वित्त कम्पनीको ३.६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । 

निक्षेपमा अपेक्षकृत वृद्धि नभएको अवस्था 
वित्तीय बजारमा कर्जा तथा निक्षेप र ब्याजदरबीच निकै उतारचढाव छ । लामो समयसम्म निक्षेपकर्तालाई ऋणात्मक ब्याजदरको अवस्थामै राख्यौं । विगतमा मूल्य वृद्धिदरभन्दा ४/५ प्रतिशत कम ब्याजदर दिएकै कारण धेरै निक्षेपकर्तालाई आकर्षित गर्न सकेनौं । हामी खुलाबजार अर्थतन्त्रमा रहे पनि बैंकहरूबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण सर्वसाधारण निक्षेपकर्ताले कहिले पनि बढ्दो ब्याजदरको लाभ लिन पाएनन् । अर्थशास्त्रको आधारभूत सिद्धान्तभन्दा पनि बाहिर गएर निक्षेपमा अति न्यून ब्याज दिइरह्यौं । न्यून ब्याजकै कारण रेमिट्यान्सबाट आएको पैसा बचत र लगानीका लागि राष्ट्रिय पुँजीमा सञ्चित हुनुपर्नेमा उपभोग केन्द्रित बन्न पुगेको छ ।
यसैबीच रेमिट्यान्सको घट्दो वृद्धिदर र भारु पाँच सय तथा हजार दरको नोटमाथिको प्रतिबन्धले ऋणको वृद्धि अनुकूल निक्षेप बढ्न सकेन । यसैकारण बैंकहरूको पुजी कर्जा निक्षेप अनुपात (सीसीडी) अनुपात राष्ट्र बैंकको निर्देशित अनुपातसीमा (८० प्रतिशत) नाघ्यो । निक्षेप र तरलताको अस्थिरताले केही महिनाअघिसम्म वित्तीय क्षेत्र अति न्यून ऋण ब्याजदरबाट ग्रसित थियो । यहाँसम्म कि बैंकहरूले ५/६ प्रतिशत ब्याजदरमा १०/१५ वर्ष सम्मकालागि सवारी कर्जा दिएका छन् । तर, पछिल्ला तीन महिनामै ब्याजदरमा धेरै उतारचढाव देखियो, मुद्दती निक्षेप १२ प्रतिशत पुग्यो । सोहीअनुसार ऋणको ब्याजदर समायोजन हुँदा कर्जाको ब्याजदर निकै महँगो बन्यो । यसकारण ऋण विस्तारमा प्रतिकूल प्रभाव पर्‍यो । पटकपटक तरलता र ब्याजदरमा आउने उतारचढाव वाञ्छित सीमामा राख्न अर्थतन्त्रका सबै पक्षको न्यायसंगत स्रोत परिचालन गर्ने वातावरण बनाउन आवश्यक छ । बचतकर्तालाई निरुत्साहित गरेर निक्षेपमा वृद्धि हुँदैन ।

निक्षेप कर्जा अनुपातमा आएको विचलन 
अधिक तरलातकै कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा धेरै ऋण प्रवाह गरे । तीमध्ये अधिकांश ऋण अनुत्पादक क्षेत्रमा प्रवाह भयो । निक्षेपको वृद्धिदरभन्दा कर्जा प्रवाह धेरै भएपछि सीसीडी अनुपातमा विचलन आयो । यसैकारण अधिकांश बैंकहरूको सीसीडी अनुपात ८० प्रतिशत माथि पुग्यो । मूल्यवृद्धि दर ८/१० प्रतिशत भएको समयमा निक्षेपमा १ देखि ३ प्रतिशत ब्याज दिनु न्यायसंगत थिएन । यस्तै दीर्घकालीन प्रकृतिको कर्जा ५/७ प्रतिशत ब्याजदरमा प्रवाह पनि धान्न सक्ने अवस्थै थिएन । बैंक तथा वित्तीय संस्थाले नाफा वृद्धिको दबाबमा राष्ट्र बैंकको निर्देशन बेवास्ता गर्दै ऋणमा भएको वृद्धिले कर्जा निक्षेप दरमा विचलन ल्यायो । र राष्ट्र बैंकबाट कारबाहीमा पर्न सक्ने अवस्था सिर्जना भयो । तत्कालीन समस्या समाधानका लागि राष्ट्र बैंकले सीसीडी रेसियो गणना विधिमा केही सुविधा दियो । यो सुविधा ०७४ असारसम्मका लागि मात्र हो । त्यसपछि पुन: पुरानै व्यवस्था लागू हुनेछ । यसको संदेश के हो भने विगतमा मनपरी ढंगले कर्जा विस्तार गरेका वित्तीय संस्थाले ०७४ असारसम्म आफूलाई सुधार गरी सही बाटोमा लागून् भन्ने हो । यसकारण तत्काल देखिएको लगानीयोग्य रकमको कमीलाई प्रणालीगत जोखिम (सिस्टेमिक रिस्क) मा जानुबाट रोक्नका लागि निक्षेप र कर्जाबीच सन्तुलन कायम सामान्य अवस्थामा ल्याउनुपर्ने चुनौती खडा भएको छ । 

कर्जाको गुणस्तर र पुँजी वृद्धिको तरंग 
पुँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयावधि ०७४ असारमा सकिँदै छ । दुई वर्षअघि राष्ट्र बैंकले चार गुणा पुँजी बढाउन निर्देशन दिएको थियो । उक्त निर्देशनले छोटो समयमा बैंक तथा वित्तीय संस्थाले ठूलो धनराशि थप्नुपर्‍यो । त्यसका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर र थप निष्कासन (एफपीओ) को विकल्प रोजे । यसकारण पुँजीको गुणस्तर र पुँजीको गुणस्तरमा दबाब पर्न गयो । प्रतिफल बढाउन कर्जाको व्यापक वृद्धि बाध्यता बन्यो । तर, ऋण लगानी गर्ने उत्पादनशील क्षेत्रको वृद्धि तत्कालै सम्भव नभएपछि उपभोग, सवारी साधन, सेयर, घरजग्गालगायत क्षेत्रमा ठूलो रकम ऋण प्रवाह भयो । असुरक्षित कर्जा विस्तारले ऋणको गुणस्तरमा शंका उठ्न थाल्यो र राष्ट्र बैंकको टाउको दुखाइ बन्यो । यसपछि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेका खराब कर्जाका तथ्यांकहरूमाथि शंका उब्जिन थाले । 
त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नैतिक दबाब दिँदै सचेत बन्न र अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दियो । यस्तो अवस्थामा नियामक निकायले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के भने बैंैकहरूले छोटो समयमा धेरै ऋण प्रवाह गर्नुको प्रमुख कारण पुँजी वृद्धि नै थियो । छोटो समयमा धेरै पुँजी थप्नुपर्दा बैंकहरूलाई प्रतिफल वृद्धिको दबाब पर्छ र अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन्छ भन्ने कुरा राष्ट्र बैंकले आकलन गर्न सक्नुपथ्र्यो ।
सम्पत्ति र दायित्वबीचको असमानता हाम्रो वित्तीय बजारको एउटा गम्भीर वास्तविकता छ । छोटो अवधिको निक्षेपबाट वासलातमा दीर्घकालीन सम्पत्ति सिर्जना गरिएको छ । दायित्व शीर्षकमा बचत निक्षेपको एउटा ठूलै अंश दीर्घकालीन स्रोतका रूपमा नराखीकनै सम्पत्ति दायित्वको मिलान कागजी रूपमा गर्न सम्भव हुँदैन । सम्पत्ति दायित्व मिलानको अवस्थामा बैंकहरूले कत्तिको दबाब थेग्न सक्छन् भन्ने परीक्षण गर्ने औजार दबाब परीक्षण(स्ट्रेस टेस्टिङ) हो । तर, हामीकहाँ यो पनि एउटा औपचारिकता मात्रै रहेको देखिन्छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको विकल्प खोज्न बैंक तथा वित्तीय संस्थाले दबाब परीक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । 
संख्यात्मक रूपमा मौलाएको वित्तीय बजार र पँजी वृद्धिले हौसिएको सेयर बजारकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहरू आत्मरतिमा रमाएको देखिन्छ । यसरी भ्रममा रमाउनुभन्दा यसमा अन्तरनिहित जोखिम, त्यसको गम्भीरता र तथ्यको सही मूल्यांकन गरी जोखिम न्यूनीकरणको उपाय खोज्नु आजको प्रमुख आवश्यकता हो ।

अबको बाटो 
अर्थतन्त्रका प्रमुख सूचकहरूजस्तै– मूल्यवृद्धि दरमा गिरावट, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वृद्धि, जीडीपीमा सार्वजनिक ऋणको अनुपात कमीलगायत सकारात्मक पक्ष हुन् । तर, स्वदेशी उत्पादनको आधारशिला कमजोर हुनु, कृषिप्रधान मुलुक भए पनि ठूलो परिणाममा कृषि उपज आयात हुनु, राजस्वको अधिकांश हिस्सा अनुत्पादक वस्तुको आयातमा निर्भर रहनु राम्रो परिदृश्य होइन । यस्तो अवस्थामा रेमिट्यान्स आप्रवाहमा कमी आउनासाथ समग्र वित्तीय असन्तुलन, मौद्रिक व्यवस्था र बैंकिङ क्षेत्रलाई नै प्रतिकूल असर पार्ने भएकाले त्यो समाधानका लागि उपयुक्त विकल्प खोज्नुपर्छ । 
रेमिट्यान्समा आउनसक्ने गिरावटबाट आउने समस्या समाधान गर्न स्वदेशी उत्पादनको वृद्धि र निर्यात प्रोत्साहनका विकल्प खोज्न ढिलो भइसकेको छ । यसका लागि वित्तीय र मौद्रिक नीतिमा संयोजन हुनुका साथै संरचनात्मक सुधार र सरकारको सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्न जरुरी छ । यसको जग मुलुकको राजनीतिक स्थिरतामा निर्भर रहन्छ । कृषि र औद्योगिक उत्पादनको आधार/वातावरण तयार नगरीकनै बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न बाध्यात्मक निर्देशन दिँदा प्रत्युत्पादक पनि हुन सक्छ । परिणाम भविष्यमा खराब कर्जा बढ्न गई वित्तीय क्षेत्रमा ठूलो समस्या आउनेछ । 

संविधानको पूर्ण रूपमा कार्यान्यवनपछि मुलुक संघीय संरचनामा जाने भएकाले देशको संरचनामा आउने परिवर्तनसँगै सरकारको क्षमता र सुशासनमा सुधार ल्याउनुपर्छ । मौलाएको आर्थिक चुहावट र भष्ट्राचारलाई न्यूनीकरण गर्दै सकारात्मक बाटोमा लगाउन जरुरी छ । बंैकिङ र वित्तीय क्षेत्रको स्थायित्व र उत्पादनशील क्षेत्रको लगानी वृद्धितर्फ हुने संरचनात्मक सुधारले सुदृढ वित्तीय क्षेत्र स्थापित हुन सक्छ । नत्र सवारी, पेट्रोलियम पदार्थलगायत वस्तुको आयात, घरजग्गा, सेयरमा गएको लगानीले दीर्घकालीन रूपमा वित्तीय क्षेत्र बलियो र सुदृढ नरहने अवस्था आउन सक्छ । यसतर्फ सचेत बन्नुपर्नेछ । 
गत वर्षको फागुनमा १५ दशमलव २ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर ०७३ को सोही अवधिमा ५ दशमलव ३ प्रतिशत छ । यसरी रेमिट्यान्स वृद्धिदर उच्च दरले घट्नु हाम्रो जस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रका लागि ठूलो चुनौती हो । जीडीपीको आकार २५ खर्ब पुग्दै गर्दा रेमिट्यान्स आप्रवाह वृद्धिदरमा आएको कमीले समग्र व्यापार व्यवसायदेखि वित्तीय र मौद्रिक स्थितिलाई असन्तुलन बनाउने खतरा छ । यसको प्रत्यक्ष असर निक्षेपमा पर्नेछ । अपेक्षाकृत रूपमा निक्षेप नबढ्दा कर्जा प्रवाहमा दबाब पर्नेछ । यसको असर न्यूनीकरणका लागि सोच्नुपर्ने बेला आएको छ ।

प्रकाशित : चैत्र ३१, २०७३ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×