कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आठ महिनामा १५.५ अर्बको मोबाइल आयात

विष्णु पोखरेल

काठमाडौं — चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन् ।

आठ महिनामा १५.५ अर्बको मोबाइल आयात

भन्सार विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी छ । यस अवधिमा साढे २० अर्बका दूरसञ्चार उपकरण आयात भएका छन् । महँगा मोबाइल फोनको प्रयोग बढ्दै गएकाले आयात वृद्धि भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ११ अर्ब ४३ करोड बराबरका मोबाइल फोन आयात भएकामा यसपालि भने आयात बढेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनाभित्र ४० लाख २३ हजार ८ सय ५८ मोबाइल नेपाल भित्रिएका छन् । गत वर्षको यसै अवधिमा भने ३३ लाख ७६ हजार १ सय ९१ मोबाइल सेट नेपाल भित्रिएका थिए ।
भन्सारमा घोषित मूल्यका आधारमा गत आठ महिनामा साढे १५ अर्बका मोबाइल फोन नेपाल भित्रिएको देखिए पनि बजार मूल्यका आधारमा भने मोबाइल कारोबार धेरै हुने आयातकर्ता बताउँछन् ।
मोबाइल फोन आयातकर्ता संघका महासचिव अमित अग्रवालका अनुसार साढे १५ अर्बका फोन आयात भए पनि नेपाली बजार मूल्यका आधारमा कारोबार भने ८ महिनामै २० अर्बभन्दा माथि भइसकेको बताउँछन् । ‘भन्सार मूल्यमा नाफा र कर जोडेर हेर्दा यस वर्ष मोबाइलको बजार ३० अर्बभन्दा बढीको हुने देखिन्छ,’ उनले भने ।
नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएका छन् । गएको आठ महिनामा चीनबाट मात्र ३४ लाख ९० हजार मोबाइल फोन आयात भएका छन् । चीनपछि धेरै मोबाइल आयात हुने मुलुकमा भियतनाम पर्छ । त्यहाँबाट ८ महिनायता २ लाख ८८ हजार मोबाइल सेट आयात भएका छन् । भारतबाट भने २ लाख ३५ हजार थान मोबाइल आयात भएको विभागको तथ्यांक छ ।
विश्वस्तरीय सबै ब्रान्डका मोबाइलको उत्पादन हुने चीनबाट आयात धेरै देखिएको संघका अध्यक्ष एवं सामसङ मोबाइलका बिक्रेता दीपक मलहोत्रा बताउँछन् ।
‘सबैखाले ब्रान्ड चीनमा बन्छन्, हाम्रोमा आयात गर्न नजिक पनि छ, त्यसैले चीनबाट नै धेरै आउँछ,’ उनले भने । पछिल्लो समयमा नेपालमा स्मार्टफोनका प्रयोगकर्ता बढेकाले पनि आयात वृद्धि हुँदै गएको हो ।

प्रकाशित : चैत्र १८, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?