विद्यालय पुनर्निर्माणमा ढिलाइ

कुम्भराज राई

ओखलढुंगा — भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा जिल्लाको दर्जनांै विद्यालयमा पठनपाठन अझै सहज हुन सकेको छैन । जाडो महिनाभरि चिसो ठिहीमा टहरामुनि पढ्नुपर्‍यो । अब गर्मीको सुरुवात हुँदैछ । फेरि घामको चर्कोमा बस्नुपर्ने बाध्यता आएको छ ।

विद्यालय पुनर्निर्माणमा ढिलाइ

अझ कक्षाकोठा अभावले गर्दा कतिपय विद्यालयमा बहुकक्षा विधि अपनाएर सञ्चालन गर्नुपरेको छ, शिक्षा कार्यालयले अस्थायी शिक्षण केन्द्रसमेत पहुँचका आधारमा वितरण गरेपछि दुर्गममा जस्ता र चित्राका भरमा विद्यालय सञ्चालन भइरहेका छन् । ०७२ वैशाख १२ को भूकम्पमा २ सय ६७ विद्यालयका ८ सय १० कक्षामा क्षति पुगेको थियो । तर भौतिक सुविधा वितरण दलीय भागबन्डा र नेता शिक्षकको पहुँचका आधारमा वितरण भए । 
अस्थायी शिक्षण केन्द्रमा जाडोयाममा शीत चुहिने, गर्मीमा कक्षामा बस्न नसकिने अवस्थाले पठनपाठन कष्टकर बन्यो । कक्षा अभावले बहुकक्षा शिक्षणमार्फत कक्षा सञ्चालन गर्दै आएको तिनपिप्ले आधारभूत विद्यालय तलुवाकी व्यवस्थापन समिति अध्यक्ष राधा निरौलाले बताइन् ।
तिनपिप्लेमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालयमा १ सय २० विद्यार्थी छन् । तर शिक्षक संख्या ६ जनामात्र छन् । तीनमात्र स्थायी दरबन्दीमा कार्यरत छन् । निजी तथा राहत दरबन्दीमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्नुपर्दा भत्किएका भवन तथा कक्षाकोठा निर्माण गर्न सकेका छैनन् । कोठा अभावमा तीन वटासम्म कक्षा एकै ठाउँमा राखेर पठाउनुपरेको अध्यक्ष निरौलाले बताइन् । भवन नहुँदा पात्ले गाविसको जनकल्याण आधारभूत विद्यालयमा उत्तिकै समस्या छ । अस्थायी टहराभित्र बहुकक्षा शिक्षण गर्नुपर्छ । शौचालयसमेत छैन । भवन बन्ने नबन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको शिक्षिका मनीषा तामाङले बताइन् ।
बहुकक्षा शिक्षण विधिमा सबैभन्दा समस्या भनेको एकैपटकमा दुईवटा कक्षा एउटै शिक्षकले सञ्चालन गर्नु हो । यसरी पढाउँदा प्राय: बाँसको चित्रा र जस्तापाताले बारेकाले हल्ला हुने गर्छ । यसरी सयौंको संख्यामा विद्यालय भवन नहुँदासमेत पुनर्निर्माण प्रक्रिया ढिला भएको छ । जसले गर्दा पठनपाठन प्रभावित भएको दुई वर्ष बितिसकेको छ ।
शिक्षा कार्यालयले भने सबै विद्यालयलाई एकैपटक पुनर्निर्माणको काम सुरु गर्न नसकिएको जनाएको छ । कार्यालयका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) मार्फत पुनर्निर्माणका लागि ११ उमावि र १० मावि गरी २१ वटाको सर्वे भएको थियो । त्यसमध्ये २ उमावि र ४ मावि गरी ६ वटाको पुनर्निर्माणका लागि ठेक्का आहवान भइसकेको छ । त्यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाई (डीएलपीआईयू) मार्फत १ उमावि, ६ मावि, ८ निमावि र ८ प्रावि गरी ४७ वटा पुनर्निर्माणको प्रक्रियामा छन् ।
सहास नेपाल नामक संस्थाले १ उमावि, ६ मावि, ८ निमावि र ८ प्रावि गरी २३ विद्यालय निर्माण गरिरहेको छ । अन्य संघसंस्थाले पनि केही विद्यालय बनाइरहे पनि पर्याप्त छैन । 
विद्यालय भवन मर्मततर्फ शिक्षा विभागको नियमित कार्यक्रमअन्तर्गत २५ विद्यालयलाई ५० हजारका दरले बजेट प्राप्त भएको शिक्षा कार्यालयका सूचना अधिकारी खगेन्द्र श्रेष्ठले बताए । अन्य १० विद्यालयको रेट्रो फिटिङका लागि १५ लाखका दरले बजेट आउने भनिए पनि अझै प्राप्त भइनसकेको उनले बताए । बाँकी क्षतिग्रस्त विद्यालयको भवन भने प्राथमिकता निर्धारणको आधार क्रमश: आगामी आवमा पुनर्निर्माण गरिने श्रेष्ठले बताए । 

प्रकाशित : फाल्गुन २०, २०७३ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?