कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ई–पाटीको सिकाइ प्रभावकारी

विभिन्न बटममार्फत विद्यार्थीले पाठ्यपुस्तकअनुसारकै पाठ पढ्न सक्छन्
कृष्णप्रसाद गौतम

नेपालगन्ज — महादेवपुरी ६ वालापुरस्थित जनशक्ति आधारभूत विद्यालयको पठनपाठन पछिल्ला वर्ष गुणस्तरीय बन्दै गएको छ । परम्परागत विधिबाट पठनपाठन हुने उक्त विद्यालयमा ई–पाटी सञ्चालनमा ल्याइएपछि विद्यार्थीको पाठ्यक्रमअनुसार ज्ञान र सीपमा गुणस्तरीयता बढेको हो ।

ई–पाटीको सिकाइ प्रभावकारी

६ कक्षासम्म पढाइ हुने विद्यालयमा प्रत्येक दिन एक घन्टी ई–पाटीबाट कक्षा सञ्चालन गरिन्छ । यसमा विद्यार्थीले उसै दिन पढेका विभिन्न विषयको शिक्षण अभ्यास र अतिरिक्त त्रियाकलाप प्रयोगात्मक विधिबाट गर्ने गरेका छन् । ई–पाटीमा सबै कक्षाको विषय र पाठसँग सम्बन्धित सबै गतिविधि राखिएको हुन्छ । शिक्षकको सहायताबिनै विद्यार्थीले आफैं ई–पाटीमा पढ्न सक्छन् । यसमा राखिएका विभिन्न वटममार्फत विद्यार्थीले पाठ्यपुस्तकअनुसारकै पाठ पढ्न सक्ने कक्षा ३ का सौरभ केसीले बताए ।
पाठसँग सम्बन्धित अभ्यासहरू पनि विद्यार्थी आफैंले गर्न सक्ने व्यवस्था छ । ‘हामीहरू यसैमा सबै बिषयका पाठ पढ्न सक्छौं । अभ्यास पनि ई(पाटीमै गर्ने गरेका छौँ । पाठ्यपुस्तकसँग सम्बन्धित प्रयोगात्मक सामग्री राखिएको हुँदा बुझ्न पनि सजिलो भएको छ,’ कक्षा ५ का आधार ओलीले भने, ‘पाठसँग सम्बन्धित विभिन्न प्रश्नको हल पनि ई–पाटीमै गर्ने भएकाले सजिलो हुन्छ ।’ शिक्षकहरूका अनुसार ई–पाटी मद्दतले शिक्षण क्रियाकलाप प्रभावकारी हुँदै गएको छ । विद्यालयमा विभिन्न चित्र, गीत, खेलको माध्यमबाट ई–पाटीमा पढाइ हुने गरेको छ । यसमार्फत विद्यार्थीले कम्प्युटर विषयको अभ्याससमेत गर्दै आएका छन् । यो विधिको शिक्षणमार्फत अंग्रेजी, गणित र विज्ञानमा बिद्यार्थीको ज्ञान र सीप वृद्धि हुँदै गएको शिक्षकहरू बताउँछन् ।
बालापुरसहित यहाँका कन्दी मावि, घरबारीटोलस्थित नेपाल राष्ट्रिय मावि, खजुरामा रहेको ज्ञानोदय उच्च माविमा ई–पाटीबाट पढाइ हुने गरेको छ । एकैपटकमा ४० विद्यार्थीलाई शिक्षण गर्ने व्यवस्था मिलाइएको छ । यो विधिबाट शिक्षण गर्दा बालबालिकाको अतिरिक्त क्रियाकलापमा पनि सहयोग पुगेको अभिभावकले बताए । ई–पाटीमै शैक्षिक सामग्री र पाठसँग सम्बन्धित विषयका अन्य अतिरिक्त सामग्री राखिएको हुँदा यसमार्फत विद्यार्थीलाई छिटो बुझ्न सजिलो हुने गरेको छ ।
सहायक जिल्ला शिक्षा शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार ई–पाटीमार्फत विद्यार्थीको पढाइ र सिकाइमा गुणस्तरीयता बढिरहेको छ । ‘यो शिक्षणले विद्यार्थीको पठन सीपका साथै गुणस्तरीयतामा वृद्धि भइरहेको छ,’ थापाले भने, ‘ई–पाटीमार्फतको शिक्षणले खेल, प्रयोगात्मक सीप र अभ्यासका कारण विद्यार्थीको पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि बढिरहेको छ । यस्तो शिक्षण क्रियाकलाप अन्य सामुदायिक विद्यालयमा पनि सञ्चालन गर्न आबश्यक छ ।’ शिक्षा कार्यालय विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा यो विधिअनुसारको पठनपाठन अरूमा पनि क्रमश: लागू गर्दै जाने योजना उनले सुनाए । 

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?