कैदीबन्दी सीप सिक्दै- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीबन्दी सीप सिक्दै

कान्तिपुर संवाददाता

मोरङ — कैदीबन्दी जीवन बिताइरहेका महिला आयआर्जनका लागि शृंगारका सामान बनाउने सीप सिक्न थालेका छन् । एक्सन एडको सहयोगमा महिला सीप विकास केन्द्र इटहरीले क्रिस्टलका सामग्री बनाउने २२ दिने सीपमूलक तालिम दिएको हो । उनीहरूले बुटिक, सिलाइ कटाइलगायतका तालिम प्राप्त गरेको बताए ।

चौकीदार जन्नत खातुनले तालिम प्राप्तपछि आफूहरूले पोते, नाक, कानमा लगाउने विभिन्न सामग्री, क्रिस्टलको साँचो, रिङलगायत उत्पादन थालेको बताइन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

‘आर्मी हुँ’ भन्दै ठग्ने पक्राउ

कान्तिपुर संवाददाता

ओखलढुंगा — ‘आर्मीको मेजर हुँ’ भन्दै ठगी गरेको आरोपमा स्थानीय मानेभन्ज्याङ ९ का धनबहादुर परियार पक्राउ परेका छन् । पीडितको उजुरी र सुराकीको आधारमा प्रहरी चौकी मानेभन्ज्याङले परियारलाई सोमबार नियन्त्रणमा लिएको हो ।

परियारले ठगी गरेका चार पीडित मानेभन्ज्याङ प्रहरी चौकीमा आइपुगेका छन् । उनले नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ३ लाखभन्दा बढी ठगेको आरोप छ । परियारले सेनामा जागिर लगाइदिने भन्दै सोल्पा १, सिन्धुलीका भवानी खडाको ५० हजार, रत्नावती ३, सिन्धुलीका सन्तोष पौडेलको ३५ हजार लिएको आरोप छ ।
त्यसैगरी दोलखाकी मनीषा खडकाको ८० हजार र कल्पना ओलीको १ लाख ७५ हजार लिएका थिए । उनले नेपाली सेनाको मेजर तहकै बर्दीसमेत लगाएको फोटो देखाई प्रभाव पार्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । पल्सर २२० सीसीको बाइक, एक थान आइफोन, एक थान सामसुङ मोबाइलसहित पक्राउ गरिएको मानेभन्ज्याङ चौकीका प्रहरी नायब निरीक्षक गजेन्द्र राईले बताए ।
प्रारम्भिक अनुसन्धानमा परियारमात्र नभएर संगठित रुपमै उनीहरूले लामो समयदेखि ठगी गर्दै आएको देखिएको छ । उनलाई मानेभन्ज्याङ ९, दुम्खिम गाउँकै हाल प्रहरीमा कार्यरत हवल्दार रीतु थापा, नेपाली सेनाको सिपाहीमा कार्यरत ठगबहादुर राना मगरले साथ दिएको देखिन्छ । त्यसैगरी कपिल पौडेल भन्ने गाडी चालकसमेतको ठगीमा संलग्नता रहेको राईले बताए ।
पीडितकै सुराकीका आधारमा उनलाई हर्कपुर–मानेभन्ज्याङ सडकबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि मुद्दा चलाउने तयारीमा रहेका बेला अभियुक्तविरुद्ध हनुमानढोका प्रहरीमा विभिन्न ठगी मुद्दा दर्ता भएकाले राजधानी पठाउने तयारी गरेको राईले बताए । ‘यसअघि नै यी व्यक्तिविरुद्ध धेरै मुद्दा हनुमानढोकामा दर्ता भएका छन् ।’ प्रनानि राईले भने, ‘त्यसैले मंगलबार नै काठमाडौं पठाउने तयारीमा छौं ।’

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×