‘आर्मी हुँ’ भन्दै ठग्ने पक्राउ- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

‘आर्मी हुँ’ भन्दै ठग्ने पक्राउ

कान्तिपुर संवाददाता

ओखलढुंगा — ‘आर्मीको मेजर हुँ’ भन्दै ठगी गरेको आरोपमा स्थानीय मानेभन्ज्याङ ९ का धनबहादुर परियार पक्राउ परेका छन् । पीडितको उजुरी र सुराकीको आधारमा प्रहरी चौकी मानेभन्ज्याङले परियारलाई सोमबार नियन्त्रणमा लिएको हो ।

परियारले ठगी गरेका चार पीडित मानेभन्ज्याङ प्रहरी चौकीमा आइपुगेका छन् । उनले नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ३ लाखभन्दा बढी ठगेको आरोप छ । परियारले सेनामा जागिर लगाइदिने भन्दै सोल्पा १, सिन्धुलीका भवानी खडाको ५० हजार, रत्नावती ३, सिन्धुलीका सन्तोष पौडेलको ३५ हजार लिएको आरोप छ ।
त्यसैगरी दोलखाकी मनीषा खडकाको ८० हजार र कल्पना ओलीको १ लाख ७५ हजार लिएका थिए । उनले नेपाली सेनाको मेजर तहकै बर्दीसमेत लगाएको फोटो देखाई प्रभाव पार्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । पल्सर २२० सीसीको बाइक, एक थान आइफोन, एक थान सामसुङ मोबाइलसहित पक्राउ गरिएको मानेभन्ज्याङ चौकीका प्रहरी नायब निरीक्षक गजेन्द्र राईले बताए ।
प्रारम्भिक अनुसन्धानमा परियारमात्र नभएर संगठित रुपमै उनीहरूले लामो समयदेखि ठगी गर्दै आएको देखिएको छ । उनलाई मानेभन्ज्याङ ९, दुम्खिम गाउँकै हाल प्रहरीमा कार्यरत हवल्दार रीतु थापा, नेपाली सेनाको सिपाहीमा कार्यरत ठगबहादुर राना मगरले साथ दिएको देखिन्छ । त्यसैगरी कपिल पौडेल भन्ने गाडी चालकसमेतको ठगीमा संलग्नता रहेको राईले बताए ।
पीडितकै सुराकीका आधारमा उनलाई हर्कपुर–मानेभन्ज्याङ सडकबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि मुद्दा चलाउने तयारीमा रहेका बेला अभियुक्तविरुद्ध हनुमानढोका प्रहरीमा विभिन्न ठगी मुद्दा दर्ता भएकाले राजधानी पठाउने तयारी गरेको राईले बताए । ‘यसअघि नै यी व्यक्तिविरुद्ध धेरै मुद्दा हनुमानढोकामा दर्ता भएका छन् ।’ प्रनानि राईले भने, ‘त्यसैले मंगलबार नै काठमाडौं पठाउने तयारीमा छौं ।’

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

तेन्जिङ ६ स्ट्रोक अगाडि

सेन्ट्रल ओपन गल्फ
कान्तिपुर संवाददाता

काठमाडौं — एमेच्योर गल्फर तेन्जिङ छिरिङले दुई अन्डर ७० स्कोर गर्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन मंगलबार ६ स्ट्रोकको अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६/१७ को चौथो प्रतियोगितामा दोस्रो चरणको स्कोर अन्डरमा राख्ने उनी एक्लो गल्फर हुन् । ३६ होल समाप्तिमा उनको कुल स्कोर ८ अन्डर १ सय ३६ भएको छ । ६ स्ट्रोक पछाडि परेका प्रो सञ्जय लामा (२ अन्डर १ सय ४२) दोस्रो स्थानमा छन् । उनले दोस्रो दिन इभन पार ७२ खेलेका थिए ।

एक ओभर ७३ स्कोर गरेका रवि खड्का कुल इभन पार १ सय ४४ सहित तेस्रो स्थानमा छन् । यो सिजनमा सुरुका तीनै उपाधि जितेका शिवराम श्रेष्ठले इभन पार ७२ खेले । उनी समग्रमा एक ओभर १ सय ४४ सहित चौथोमा छन् । चार ओभर ७६ स्कोर गरेका भुवन नगरकोटी पाँचौंमा रहे । उनको कुल स्कोर दुई ओभर १ सय ४६ थियो ।

एक ओभर ७३ खेलेका धनबहादुर थापा (कुल चार ओभर १ सय ४८), तीन ओभर ७५ को कार्ड बनाएका दीपक आचार्य (कुल ५ ओभर १ सय ४९) र पाँच ओभर ७७ को प्रदर्शन गरेका बलभद्र राई (कुल ६ ओभर १ सय ५०) शीर्ष आठमा छन् । एमेच्योर टंकबहादुर कार्की र प्रो जयराम श्रेष्ठ समान सात ओभर १ सय ५१ सहित शीर्ष दसमा अटाए । दुवैले दोस्रो दिन चार ओभर ७६ को कार्ड बनाएका थिए ।

तेन्जिङले बर्डी बनाउँदै खेल सुरु गरेका थिए । पाँचौं र सातौं होलमा पनि बर्डी बनाए तर आठौं होलमा बोगीमा परेपछि सुरुका नौ होलमा उनको स्कोर दुई अन्डर ३४ भयो । उनले ११ र १७ औं होलमा एक–एक स्ट्रोक जोगाए पनि १४ र १५ औंमा बोगी खेपेका थिए । त्यसैले पछिल्ला नौ होलमा उनको स्कोर इभन पार ३६ रह्यो ।

कुल ६ लाख रुपैयाँ पुरस्कारको प्रतियोगिताको दोस्रो चरणसम्म १४ ओभर १ सय ५८ सम्म रहेका २१ प्रो र ६ एमेच्योर ‘कट’ बनाएर फाइनल चरण पुगेका छन् । उनीहरूले बाँकी ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×