पूर्वकी रुवी

पर्वत पोर्तेल

रुबिना क्षत्री १०, ११ वर्षकी टेक्दै थिइन् । दाजु पवन र उनका साथीहरू घरअगाडिको खुला मैदानमा बिहान–बेलुका क्रिकेट खेल्थे । रुबिना सधैं घरबाटै नियाल्थिन् । हेर्दाहेर्दै क्रिकेटप्रति अनौठो मोह जाग्यो । घरबाटै हेर्ने उनी पछि त मैदानसम्म जान थालिन् ।

पूर्वकी रुवी

क्रिकेटप्रति यिनको आकर्षण यस्तो भएछ कि भोकप्यास बिर्सिएर बिहानदेखि साँझसम्म मैदानमै बस्न थालिन् । यति भएपछि अब नखेली नछाड्ने निधो गरिन् । दाजुलाई भनिन्, ‘म पनि तपाईंहरूसँगै खेल्छु ।’ नभन्दै उनले खेल्ने मौका पाइन् । त्यो पनि बलिङ मात्रै गर्ने सर्तमा । बलिङमा तिखारिँदै गइन् । यिनको बलिङ देखेर सबैले जिब्रो टोक्थे । ‘दाइहरूले चोट लाग्ला भनेर ब्याटिङ गर्ने चान्सचाहिँ दिँदैनथे,’ झापा काँकडभिट्टाकी रुबिनाले बाल्यकाल सम्झिइन्, ‘बरु कहिलेकाहीँ फिल्डिङको मौका पाउँथें ।’
केटाहरूसँग खेल्दाखेल्दै रुबिनाले अप्रत्यासित अब्बल खेल देखाउन थालिन् । यिनको खेलकौशल देखेर छिमेकीले आमा मुनालाई सुझाव दिएछन्, ‘रुबिनाको खेल राम्रो छ, राम्रो प्रशिक्षण पाइन् भने भविष्य उज्ज्वल हुन सक्छ ।’ नभन्दै मुनाले भर्खरै सञ्चालनमा आएको मेची क्रिकेट एकेडेमीमा रुबिनालाई भर्ना गरिदिइन् । राष्ट्रिय क्रिकेटर मनोज कटुवाल, लाक्पा लामाहरूको अगुवाइमा एकेडेमी खुलेको थियो । ‘एकेडेमीको प्रशिक्षणले रुबिनाको खेलकला खारियो,’ पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटुवाल सम्झन्छन्, ‘त्यसपछि रुबिनालाई जिल्ला, क्षेत्र हँ‘दै राष्ट्रियस्तरमा अवसर हात लाग्न थाल्यो ।’
प्रशिक्षण सुरु गरेकै वर्ष जिल्लास्तरीय छनोटमा परिन् । त्यसपछि क्षेत्रीय टिममा । नेपालगन्जको पाँचौ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि यिनी अचानक उदाइन् नयाँ स्टार भएर । त्यही वर्ष राष्ट्रिय टिमबाट खेल्ने मौका पाइन् । सन् २००९ मा मलेसियामा भएको ट्वान्टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा डेब्यु गरेकी रुबिनाले सिंगापुरविरुद्ध लगालग ५ विकेट लिएपछि त उनको चर्चा सगरमाथाझैं चुलियो । उनको उत्कृष्ट प्रदर्शनमा सिंगापुर पराजित भयो । ‘त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन,’ रुबिनाले सुनाइन्, ‘अहिलेसम्म देशका निम्ति राम्रै खेलिराखेकी छु भन्ने लाग्छ ।’ कक्षा ६ मा पढ्दादेखि नै रुबिनाको क्रिकेटमोह बढेको थियो । स्कुल पढ्दा भलिबल राम्रो खेल्थिन् उनी । भलिबल र क्रिकेट दुवै राम्रो खेले पनि उनले कालान्तरमा क्रिकेट नै रोजिन् । धूले मैदानबाट बल र ब्याट समात्न सिकेकी रुबिनाको ख्याति अहिले सबैतिर छ । पाँच वर्षयता महिला क्रिकेट टिमको कप्तानी सम्हालेकी रुबिनाले सुनाइन्, ‘क्रिकेटप्रति मेरो बग्लै माया बस्यो, जुन माया ब्रेकअप गर्नै सकिइरहेकी छैन ।’
०००
भारतमा जागिरे बावु क्यान्सरले बित्दा रुबिना डेढ वर्षकी मात्रै थिइन् । दाजु थिए ५ वर्षका । काखे छोराछोरी हुर्काउन मुनालाई ज्यादै सकस पर्‍यो । माइती गाउँ काँकडभिट्टामा बसेर उनले संघर्ष सुरु गरिन् । पतिको पेन्सनबाट आउने २ हजार रुपैयाँले जेनतेन पुग्थ्यो । आफू भोकै बसेर पनि छोराछोरीलाई हुर्काइन्, बढाइन् र अंग्रेजी स्कुलमै पढाइन् । आमाले गरेको त्यो दु:खकै कारण आफूले प्रगति गर्न सकेको रुबिना सुनाउँछिन् । ‘घरमा दु:ख नभएको भए आज म केही गर्न सक्दिनँ थिएँ,’ उनले भनिन्, ‘बाल्यकालमा पाएको दु:खले ईखालु बनायो मलाई ।’ पहिला त मुनालाई रुबिनाले खेलेको देख्दा दिक्क लाग्थ्यो रे । क्रिकेट, त्यसमाथि छोरी मान्छेले खेल्दा समाजले खिसिटयुरी पो गर्ला कि भन्ने डर पनि थियो उनमा । तर, रुबिनाले अब्बल प्रदर्शन गर्दै देश–विदेशमा खेलेर नाम कमाएपछि भने उनलाई ढुक्क लागेको छ । ‘समाजले कुरा काटेको छैन,’ उनी भन्छिन्, ‘छरछिमेकले पनि सम्मान र माया दर्साएका छन् ।’
राष्ट्रिय टिममा छानिएर मलेसिया उड्नु थियो । तर, साथमा पासपोर्ट थिएन । पासपोर्ट बनाउन भनेर गृहजिल्ला आइन् । तर, बाबु नभएका कारण आमाको नागरिकताबाट नागरिकता बनाउन प्रशासन राजी भएन । ‘जिल्ला प्रशासन कार्यालयमा पाएको सास्ती त जीवनभर भुल्नै सक्दिनँ,’ रुबिनाले त्यो क्षणको सम्झना गरिन्, ‘हप्ता दिनसम्म धाउँदा पनि पासपोर्ट बनेन ।’ पछि रविन कोइराला, उषा गुरुङ, दीपक कार्कीलगायत काँकडभिट्टा क्षेत्रका राजनीतिक दल तथा संघसंस्थाका व्यक्तिहरूको पहलमा परराष्ट्र मन्त्रालयबाट सोझै पासपोर्ट बन्यो । हातमा पासपोर्ट परेको क्षण रुबिनाको जीवनकै सबैभन्दा खुसीको क्षण थियो ।
०००
महिला क्रिकेटप्रति सरकार र सम्बद्ध निकाय गम्भीर नबनेको देख्दा रुबिनालाई दिक्क मान्छिन् । कहिलेकाहीँ त सोच्छिन्, ‘क्रिकेटलाई चटक्कै छाडेर विदेश पलायन होऊँ कि !’ तर, अर्को मनले भन्छ, ‘यत्रो वर्षको लगानी किन खेर फाल्नु ?’ लामो समयसम्म कुनै प्रतियोगिताहरू नभएपछि गत वर्ष यिनी झन्डै फ्रस्टेड भइन् । तर, आफूले आफैंलाई सम्हालिन् ।
नेपाली महिला क्रिकेटप्रति नेपाल क्रिकेट संघ (क्यान) र सरकारले चरम उपेक्षा गरेको ठान्छिन् यिनी । कुनै सेवा सुविधा नपाउँदा बेक्कारमा क्रिकेटमा छिरेछु भन्ने पनि लाग्छ कहिलेकाहीँ ।
आफ्नो भित्री इच्छाका कारण मात्रै रुबिना क्रिकेटमा टिकिरहेकी छन् । ‘निल्नु न ओकल्नु भएको छ,’ रुबिनाले भँडास पोखिन् । अहिलेसम्म न तलब छ, न त सुविधा नै केही पाएका छैनन् महिला क्रिकेटरहरूले । परिवारको सपोर्टले मात्रै अहिलेसम्म खेलिरहेको उनले बताइन् । ‘नबुझ्ने परिवारका धेरै महिला क्रिकेटरले राम्रो खेल्दाखेल्दै छाड्न बाध्य छन्,’ उनी सरकारलाई सुझाउँछिन्, ‘महिला क्रिकेटलाई विकास गर्ने हो भने यो पाराले हुँदैन । लगानी बढाउनुपर्‍यो । नत्र भविष्य अन्धकार छ ।’
पुरुष क्रिकेट र महिला क्रिकेटलाई बराबर प्रवद्र्धन गरिनुपर्ने उनको मत छ । पुरुषका लागि व्यावसायिक रूपमा आयोजना हुने डीपीएललगायतका प्रतियोगिताहरू बाक्लै छन् । महिलाका लागि पनि त्यही शैलीका प्रतियोगिताहरू आवश्यक रहेको उनले बताइन् । ‘पुरुष क्रिकेटको भविष्य राम्रै छ,’ रुबिनाले भनिन्, ‘तर, महिला क्रिकेटप्रति न कसैको चासो छ न चिन्ता ।’ लगानीचाहिँ सुको नगर्ने अनि नतिजा मात्रै खोज्ने परिपाटी त्याग्न उनी सम्बद्ध निकायलाई अनुरोध गर्छिन् । ‘लगानी बढाउनुस्, वर्षभरि टुर्नामेन्टहरू गर्नुस् न अनि थाहा भइहाल्छ महिला क्रिकेट कहाँ पुग्छ भनेर,’ सरकारलाई आग्रह गर्छिन् ।
०००
क्रिकेटप्रति यिनी ‘एडिक्ट’ नै भएकी छन् । अब चाहेर पनि छाड्न सक्ने अवस्थामा छैनन् । सकुन्जेल क्रिकेट खेल्ने यिनको मनसाय छ । ‘सकुन्जेल खेल्छु,’ रुबिना बोलिन्, ‘नसकेको दिन देखा जाएगा !’
क्रिकेटलाई हेर्ने सामाजिक दृष्टिकोण बिस्तारै परिवर्तन हुँदै आएकोमा यिनलाई औधि खुसी लाग्छ । पहिला महिलाले पनि क्रिकेट खेल्छन् र π भन्ने समाजले अहिले महिला क्रिकेटलाई प्रोत्साहन गरिरहेको छ । एसिया कपअघि हङकङमा भएको आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा उपविजेता बनेर आएपछि गृहजिल्लाका संघसंस्थाले सम्मान गरेका थिए । यसअघि उत्कृष्ट प्रदर्शनका बावजुद पनि यिनले गृहजिल्लामा कुनै सम्मान पाएकी थिइनन् ।
रुबिनाले हालै अस्ट्रेलियाको बिगवास क्लबमा उच्चस्तरीय प्रशिक्षणको मौका पाइन् । न्युजिल्यान्ड, इङल्यान्ड, अस्ट्रेलियाजस्ता क्रिकेटका महारथी मुलुकका खेलाडीसँग यिनले करिब दुई साता क्रिकेट प्रशिक्षण लिइन् । यो प्रशिक्षण लिएर आएपछि उनलाई लागेको छ, ‘नेपाली महिला क्रिकेटको अवस्था त बिजोग पो रहेछ ।’ त्यहाँका महिला क्रिकेटलाई सरकारले उपलव्ध गराएको सेवा र सुविधा देखेर उनी चकित भइन् । ‘उनीहरू सधैं किन अब्बल भएका रहेछन् भन्ने त्यहाँ पुगेपछि थाहा भो,’ रुबिनाले भनिन्, ‘सरकारले जे भन्यो त्यही पुर्‍याइदिएको रहेछ, हामी त्यस्तो सुविधा कल्पना पनि गर्न सक्दैनौं ।’ यद्यपि नेपाली महिला क्रिकेटप्रति ती देशको सद्भाव रहेको सुनाइन् । उनीहरूले नेपाली क्रिकेटको भविष्य राम्रो देखिरहेका छन् । हामी भने महिला क्रिकेटको विकासप्रति प्रतिबद्ध हुन नसकेको रुबिनाको गुनासो छ ।
रुबिनाले क्रिकेट खेल्न थालेयता तीन पटक चरम खुसीको क्षण महसुस गर्न पाइन् । पहिलो त अन्तर्राष्ट्रिय डेब्यु म्याचमा पाँच विकेट लिँदा धेरै खुुसी लाग्यो । यो क्षणलाई उनी जीवनकै सबैभन्दा खुसीको समय मान्छिन् । त्यसपछि थाइल्यान्डमा भएको एसीसी यू–१९ वुमेन्स च्यम्पियनसिपका बेला थियो । प्रतियोगिताकी कप्तान उनले १३ विकेट र ८० रन बनाउँदै वुमेन्स अफ द टुर्नामेन्ट भएकी थिइन् । पछिल्लो खुसीचाहिँ उनले भारत बिहारको पूर्णियामा ‘पीपीएल’ टुर्नामेन्टमा प्लेयर्स अफ द सिरिज बन्दै पुरस्कारबापत स्कुटी पाउँदा सँगालिन् । यिनले त्यो म्याचमा तमाम भारतीय खेलाडीलाई पछि पार्दै स्कुटी जितेकी थिइन् । ‘नेपाली क्रिकेटरले यो पुरस्कार पाउलिन् भन्ने कसैले सोचेकै रहेनछ,’ रुबिनाले खुसी साटिन्, ‘मैले पाएपछि सबै छक्क परे, मचाहिँ दंग ।’

प्रकाशित : फाल्गुन ७, २०७३ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?