उद्यमी बन्ने पढाइ

मकर श्रेष्ठ

स्वदेशमा रोजगारी नपाइने भन्दै उच्च शिक्षा अध्ययन गर्न बर्सेनि ३० हजारभन्दा बढी युवा विदेश जान्छन् । विदेशमा पनि अध्ययन पूरा गर्न नसक्ने कैयांै छन् । स्वदेशका विश्वविद्यालयले स्नातक र स्नातककोत्तर तह अध्ययनपछि अरूको कम्पनीमा जागिर खोज्नेभन्दा पनि उद्यमी बनाउने कार्यक्रम सुरु गरिसकेका छन् ।

उद्यमी बन्ने पढाइ

कुन विषय किन पढ्ने, कहाँ पढ्ने, कति खर्च लाग्छ, त्यसको विस्तृत विवरण मकर श्रेष्ठले खोतल्ने प्रयास गरेका छन् । 

बीबीए
व्यावहारिक ज्ञान दिइने बीबीएमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । ८ सेमेस्टर पढाइ हुने बीबीएमा सैद्धान्तिक ज्ञानसँगै व्यवस्थापनका मुद्दामा सामूहिक छलफल, प्रतिष्ठित संस्थामा इन्टर्नसिप, प्रोजेक्टवर्कसमेत गराइन्छ । बीबीए सकेपछि मध्यम तहको व्यवस्थापकीय जनशक्ति तयार हुन्छ । यसले नेपालमा विस्तार हुँदै गएको व्यावसायिक क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति गर्न सघाउँछ । उद्योग, व्यापार, कम्पनी, बैंक, बिमा, कन्सल्टेन्सी, अस्पताल, होटल, एनजीओ/आईएनजीओ, म्यानपावर कम्पनी लगायतको कार्यकारी तहमा व्यवस्थापन विज्ञलाई राख्ने क्रम बढेको छ । 
नेपालमा स्वदेशी विश्वविद्यालयहरू त्रिभुवन, काठमाडौं, पोखरा र पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलको आंगिक र सम्बन्धन लिएका धेरै कलेजले बीबीए पढाइरहेका छन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएरसमेत धेरै कलेजले यसको पढाइ सञ्चालन गरिरहेका छन् । मोफसलमा पनि बीबीए पढाइ हुन्छ । 
अमेरिकी शिक्षा प्रणालीलाई पछयाउँदै नेपालमा बीबीएलाई ६ महिनाको एक सेमेस्टर गरेर ४ वर्ष पढाउने गरिन्छ । बीबीएको पढाइ निकै व्यवस्थित छ । हरेक कलेजले एक सेमेस्टरमा कोटाअनुसार मात्र भर्ना लिन पाउँछन् । प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्छ । हरेक सेमेस्टरको अन्त्यमा परीक्षा लिइन्छ । परीक्षा र त्यसको नतिजा तोकिएकै समयमा हुने भएकाले विद्यार्थीले अरू विषयमा जस्तो लामो समय पर्खनुपर्दैन । बीबीए सामान्य विषयभन्दा केही महँगो छ । कलेजअनुसार बीबीए सक्न साढे तीनदेखि ६ लाख रुपैयाँँसम्म तिर्नुपर्छ । 

बीआईएम
व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाइ हुने विषय हो, बीआईएम । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाइ हुन्छ । जुनसुकै संकायबाट स्नातक गरेकाहरूले यो विषय अध्ययन गर्न पाउँछन् । यो सेमेस्टरमा आधारित ४ वर्षे कोर्स हो । यसले विद्यार्थीलाई बिजनेस इन्फर्मेसन सिस्टम, त्यसको विश्लेषण, डाटा प्रोसेसिङ, नेटवर्क विस्तार, सफ्टवेयर निर्माणलगायतका ज्ञान दिन्छ । त्रिविले दशकअघिदेखि यो विषय पढाउन कलेजहरूलाई सम्बन्धन दिँदै आएको छ । यो विषय पढ्नेहरू बीबीए र बीआईटी पढ्नेजत्तिकै प्रतिस्पर्धी हुने कलेज सञ्चालकहरूको दाबी छ । प्राक्टिकलमा आधारित कोर्स भएकाले विद्यार्थीले कोर्स अवधिको तीन लाखदेखि ६ लाख रुपैयाँसम्म तिर्नुपर्छ । यो विषय पढेकाले स्वरोजगार या बजारमा सीप बिकाउने झन्झट व्यहोर्नु पर्दैन । यो कार्यक्रम त्रिविमा अध्ययन हुन्छ । 

बीबीएस
व्यवस्थापनमा अधिक विद्यार्थीले रोज्दै आएको विषय हो– बीबीएस । त्रिविका आंगिक क्याम्पसमा न्यून शुल्कमा बीबीएस पढ्न पाइन्छ । निजी कलेजमा समेत धेरै खर्चिनु पर्दैन । यसमा सैद्धान्तिक पढाइ हुन्छ । व्यावहारिक ज्ञान पढाइसकेपछि मात्र बटुल्न पाइन्छ । वार्षिक परीक्षा प्रणालीअनुसार यो चारवर्षे कोर्स हो । पहिलो, दोस्रो र तेस्रो वर्ष अनिवार्य विषय अध्ययन गर्नुपर्छ । चौथो वर्ष विशेषज्ञता हासिल गर्न आफूले छानेको विषय पढ्नुपर्छ । विद्यार्थीले एकाउन्ट, फाइनान्स, मार्केटिङ, म्यानेजमेन्टलगायत छान्ने अवसर पाउँछन् । अन्तिम वर्ष प्रोजेक्ट वर्क तयार गर्नुपर्छ । यो कार्यक्रम अध्ययन गर्न वार्षिक ६ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च लाग्छ । 

बीबीए अनर्स 
बीबीए अनर्समा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सकिने विषयहरू पढाइ हुन्छ । बीबीए मात्रै पनि अध्ययन गर्न सकिन्छ । कुनै विश्वविद्यालयले बीबीएसँगै कुनै क्षेत्रमा ‘स्पेसलाइज’ समेत गराउँछ । काठमाडौं विश्वविद्यालयले पछिल्लो समय बीबीए अनर्स सुरु गरेको छ । यो जनरल बीबीएभन्दा फरक छ । भर्ना हुँदा आवश्यक प्रक्रिया र पास हुन ल्याउनुपर्ने सीजीपीएसमेत फरक छ । बीबीए अनर्समा भर्ना हुन पनि मापदण्ड कडा छ । बीबीए अनर्समा ३.२५ सीजीपीए ल्याउनै पर्छ । चारवर्षे यो कोर्स अध्ययन गर्न काठमाडौं विश्वविद्यालयमा ६ लाख ६० हजार रुपैयाँ लाग्छ । जनरल बीबीए गरेपछि एमबीए अध्ययन गर्ने र विदेश अध्ययनमा जाने दुई विकल्प हुन्छ । यसबाहेक केहीले रोजगारी पनि सुरु गर्छन् । बीबीए अनर्स गरेपछि आफैं बिजनेस सेटअप गर्न सकून् भन्ने उद्देश्य राखिएको हुन्छ । एमबीए नपढे पनि आफैंं बिजनेस सुरु गर्ने हैसियत बन्छ । 

बीबीएम 
यो कार्यक्रम बीबीएको विकसित रूप हो । यो कार्यक्रम त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयमा पढाइ हुन्छ । यसमा आठ सेमेस्टर हुन्छ । विभिन्न क्षेत्रका जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरिएको हो । इन्स्योरेन्स, फाइनान्स, एनजीओ, आईएनजीओ र सरकारी सेवाका लागि विशिष्ट ज्ञान भएका जनशक्ति उत्पादन गर्न यो कार्यक्रम उपयोगी मानिन्छ । त्रिविका आंगिक र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको प्रमाणपत्र पाएका सामुदायिक क्याम्पसमा यो कार्यक्रम पढाइ हुन्छ । यो कार्यक्रम अध्ययन गर्न तीन लाखदेखि साढे चार लाखसम्म लाग्छ । 

बीएचएम 
होटल क्षेत्रमा बढ्दै गएको लगानीका कारण सिपालु जनशक्तिको माग पनि अत्यधिक छ । पछिल्लो दशक होटल/हस्पिटालिटी/टुरिजम म्यानेजमेन्ट व्यवस्थापन संकायभित्र धेरैको आकर्षण बन्दै गएका छन् । नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले त्रिविबाट सम्बन्धन लिएर चार लाख ७५ हजार रुपैयाँँमा यो कार्यक्रम अध्ययन गराउने गरेको छ । अन्य निजी कलेजले पनि यो कार्यक्रम अध्ययन गराउँदै आएका छन् । प्लस टुमा ४५ प्रतिशतभन्दा माथि ल्याएका विद्यार्थीले यो कार्यक्रम अध्ययन गर्न पाउँछन् । बीएचएम अध्ययन गरिसकेपछि जागिर पाइएन भन्ने हुँदैन । स्वदेशमा मात्रै होइन, विदेशमा पनि यो कार्यक्रम अध्ययन गरेका जनशक्ति खपत हुँदै आएको छ । यो कार्यक्रम सकिएपछि होटलको डिपार्टमेन्ट हेड/म्यानेजर तहसम्म सजिलै जान सकिन्छ ।

बीटीटीएम 
बीटीटीएम कार्यक्रम अरूको कम्पनीमा काम गर्नेभन्दा पनि आफंै व्यवसाय गर्नका लागि अध्ययन गर्ने हो । चारवर्षे यो कार्यक्रम अध्ययन गरेपछि ट्राभल एजेन्सी, टिकेटिङ, समूहगत यात्राको प्याकेज बनाउनेजस्ता कम्पनी खोल्न सकिन्छ । एयरलाइन्स, ट्राभल एन्ड टुरिज्म क्षेत्रमा यो जनशक्ति खपत हुन्छ । नाथममा यो कार्यक्रम गर्न दुई लाख ४९ हजार रुपैयाँँ लाग्छ । पूर्वाञ्चलमा बीटीटीएसको नाममा कार्यक्रम सञ्चालन भइरहेको छ । 

एमबीए 
एमबीबीए म्यानेजमेन्टमा उच्च तहको म्यानेजर र सफल उद्यमी बनाउने कार्यक्रम हो । एमबीए पढेका व्यक्ति व्यावसायिक र गैरव्यावसायिक क्षेत्रमा सफल म्यानेजर, लिडर बन्न सक्छन् । उद्यमी बनाउन पनि यो कार्यक्रमले सहयोग गर्छ । एमबीए गरेका विद्यार्थीले समस्याको मूल्यांकन, चुनौतीको समाधान गर्न सक्छन् । यो विषय पढेकाले विश्वमा भइरहेको व्यापारिक क्षेत्रमा देखिएका समस्या विश्लेषण गरेर समाधानमा सक्षम हुन्छन् । चार सेमेस्टरमा दुई वर्षमा पूरा हुन्छ । एमबीएले उद्योग, व्यवसाय, बैकिङ क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छन् । आफंै व्यवसाय गर्ने उद्यमी पनि बनाउँछ । 
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा र मध्यपश्चिम विश्वविद्यालयमा एमबीए पढाइ हुन्छ । त्रिविले यस वर्षदेखि एमबीए इन इन्टरप्रेनरसिप कैलाली बहुमुखी क्याम्पस कैलालीमा र एमबीए इन बैंकिङ एन्ड फाइनान्स लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा सुरु गरेको छ । अन्य विश्वविद्यालयले पनि एमबीएको फोकस कार्यक्रम सुरु गरिसकेका छन् । त्यसमध्ये एमबीए फाइनान्स पनि हो । एमबीए फाइनान्स विशेष गरी स्नातक तह गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन् । वित्तीय क्षेत्रका लागि जनशक्ति उत्पादन गर्न यो कार्यक्रम ‘फोकस’ गरिएको छ । यसले प्रोफेसनल म्यानेजर उत्पादन गर्छ । यो कार्यक्रम अध्ययन गरेपछि आफैं उद्यमी पनि बन्न सकिन्छ । 
अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्न एमबीए ग्लोबल बिजनेस पढाइ हुन्छ । यो कार्यक्रम पोखरा विश्वविद्यालयमा पढाइ हुन्छ । नयाँ प्रविधिको ज्ञान दिनुका साथै वास्तविकताको विश्लेषण गराइन्छ । पोखरा विश्वविद्यालयमै मेडिकल क्षेत्रमा स्नातक गरिसकेका वा हेल्थ साइन्सका विषयमा स्नातक गरी एक वर्ष पीजी गरेका व्यक्तिलाई व्यवस्थापनको ज्ञान दिन मास्टर इन हेल्थ केयर म्यानेजमेन्ट पनि पढाइ हुन्छ । हस्पिटल क्षेत्रको व्यवस्थापनमा ज्ञान हुनका लागि यो विषय पढ्नुपर्ने हुन्छ । यो विषय पढेका व्यक्ति मात्रै अस्पतालमा प्रशासक बन्न योग्य हुन्छन् । 

ईएमबीए 
काम गरिरहेका म्यानेजर, सञ्चालकलाई लक्षित गरेर एक्जुकेटिभ एमबीए सुरु भएको हो । कुनै संस्थाको जिम्मेवारी लिइरहेका म्यानेजरले यो कार्यक्रम अध्ययन गर्न सक्छन् । यो कार्यक्रम अध्ययन गर्न तीन वर्ष काम गरेको अनुभव हुनुपर्छ । विद्यार्थीले यसमा नेतृत्वको क्षमता विकास, फाइनान्स, एचआर, मार्केटिङलगायत क्षेत्रको ज्ञान हासिल गर्छन् ।
दुईवर्षे यो कार्यक्रम काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्न चार लाख ९५ हजार लाग्छ । पोखरा विश्वविद्यालयले पनि यो कार्यक्रम सञ्चालन गरेको छ । आफैंं बिजनेस सुरु गरेका सञ्चालकहरू पनि यो कार्यक्रम अध्ययन गर्न विश्वविद्यालयमा भर्ना हुन्छन् । अरूको कम्पनीमा म्यानेजर तहमा न्यूनतम तीन वर्ष काम गरेका व्यक्ति स्वत: भर्ना पाएजस्तै आफ्नै कम्पनीको सञ्चालक वा लगानीकर्ता भएको पुष्टि हुनुपर्छ । यस्ता व्यक्तिहरू आफ्नो संस्थाको गुणस्तर सुधार गर्न ईएमबीए अध्ययन गर्छन् । संस्थाको व्यवस्थापन कसरी गर्ने, बजार कसरी विस्तार गर्ने, लगानी सुरक्षा कसरी गर्ने, प्रोजेक्ट कसरी व्यवस्थापन गर्ने भन्ने सिक्न ईएमबी अध्ययन गर्न जान्छन् । अरू विषयमा डिग्री छ तर व्यवस्थापन सीप छैन भने यो कार्यक्रम पढिन्छ । कतिपयले आफ्नो कम्पनीमा ईएमबीए गरेका जनशक्ति राखेका हुन्छन् । तर ती कर्मचारीले भनेका एप्रोच र विधि सञ्चालकले बुझ्दैनन् । त्यसैले यस्ता व्यक्ति ईएमबीए अध्ययनमा जान्छन् । 

एमएफसी 
मास्टर अफ फाइनान्स एन्ड कन्ट्रेल व्यावसायिक ज्ञान बढाउने कार्यक्रम हो । यो विषय पढेका विद्यार्थीले वित्तीय संस्थाको सफल व्यवस्थापन गर्न सक्छन् । व्यावसायिक संस्थाको वित्तीय सूचनाहरू कसरी प्राप्त गर्ने, प्राप्त सूचनालाई कसरी विश्लेषण गर्ने, सूचनालाई व्यावसायिक क्रियाकलाप गर्दा कसरी प्रयोग गर्ने भन्ने यो कार्यक्रम अध्ययन गरेपछि थाहा पाइन्छ । यसले फाइनान्सियल म्यानेजर उत्पादन गर्छ । यो विषय पढेका विद्यार्थीले आफैंं पनि बिजनेस सुरु गर्न सक्छन् । यसले वित्तीय क्षेत्रको समस्या समाधान र नियन्त्रण गर्ने जनशक्ति तयार गर्छ । यो विषय त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा मात्रै पढाइ हुन्छ । एउटा संस्थाको फाइनान्सियल चुस्तदुरुस्त राख्न जनशक्ति तयार गर्छ । बैंकिङ, फाइनान्सियल र उद्योगमा प्रयोग हुन्छ । यो फाइनान्स र एकाउन्टलाई संयोजन गरेर तयार गरिएको कार्यक्रम हो । यो विषय अध्ययन गर्न स्नातकमा न्यूनतम दोस्रो श्रेणी वा २ सीजीपीए ल्याउनुपर्ने हुन्छ । दुईवर्षे यो कोर्स अध्ययन गर्न तीन लाख ६० हजार रुपैयाँ लाग्छ । 

एमबीएआईटी 
मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन इन–आईटी अध्ययन गर्न स्नातक तहमा कम्प्युटरसम्बन्धी अध्ययन गरेको हुनुपर्छ । अन्य इन्जिनियरिङ कार्यक्रम अध्ययन गरेका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न सक्छन् । व्यवस्थापनमा ब्याच्लर इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) अध्ययन गरेका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । इन्जिनियरसँग प्राविधिक ज्ञान हुन्छ । एमबीएमा व्यवस्थापकीय ज्ञान हुन्छ । तर, दुवैको संयोजन नै एमबीए आईटी हो । कुनै कार्यालयलाई दुवै ज्ञान भएको जनशक्ति चाहियो भने एमबीए आईटी अध्ययन गरेका जनशक्ति भए हुन्छ । यो विषय पढेपछि व्यवस्थापन र प्राविधिकमा दक्षता हासिल गर्छन् । यो विषय त्रिविको स्कुल अफ म्यानेजमेन्टमा मात्रै पढाइ हुन्छ । दुई वर्षको अध्ययन पूरा गर्न चार लाख ६० हजार रुपैयाँ तिर्नुपर्छ । आईटीको ज्ञान भएकालाई व्यवस्थापनको ज्ञान पनि दिने कार्यक्रम हो यो । एमबीएआईटी पढे आफैं उद्यम चलाउन पनि सकिन्छ । यो विषय पढिसकेपछि विद्यार्थीले नै नयाँ ‘प्रोडक्ट’ तयार गर्छन् । यसले कुनै संस्थाको व्यवस्थापकीय पक्ष चुस्त बनाउन सहयोग पुर्‍याउँछ । 

एमबीए जीएलएम 
यो कार्यक्रम ग्लोबल लिडरसिप म्यानेजमेन्टमा केन्द्रित छ । नेपालजस्तो पहाड भएको र विकासोन्मुख, प्राकृतिक स्रोत धेरै भएको मुलुकमा यसको व्यवस्थापन गर्ने जनशक्ति आवश्यक छ । यो समाजमा उद्यमी उत्पादन गर्ने कार्यक्रम हो । यसले विद्यार्थीलाई उद्यमी बनाउँछ । यस्ता विषय अध्ययन गरेका विद्यार्थीले समाजको आवश्यकता बुझेर व्यक्तिको आम्दानी वृद्धि गर्दै आफूले पनि नाफा कमाउन सिकेको हुन्छ । व्यवसाय गरेर समाजको समस्या समाधान गर्दै त्यही समाजका सदस्यहरूलाई आम्दानीको स्रोत पनि चिनाउँछ । 
त्यस्तै व्यवसाय गर्ने व्यक्तिले पनि नाफा कमाउने गर्छन् । यो अरूको जागिर खानेभन्दा आफैं उद्यमी बन्ने कार्यक्रम हो । यो पनि टीयूको स्कुल अफ म्यानेजमेन्टमा मात्रै पढाइ हुन्छ । यो विषय अध्ययन गर्न पाँच लाख ९० हजार रुपैयाँ लाग्छ । कोरियाको हाङडुङ ग्लोबल विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम चलिरहेको छ । समाजमा कस्तो स्रोतसाधन छ, त्यो स्रोतसाधनबाट समाजको आर्थिक उन्नतिका लागि कस्तो किसिमको उद्यम सञ्चालन गर्न सकिन्छ भन्ने पत्ता लगाएर समाजलाई उत्प्रेरित गराउने कार्यक्रम हो यो । यो कार्यक्रममा प्रोजेक्ट वर्क गराउन दक्षिण कोरिया, थाइल्यान्डलगायत देशका प्राध्यापक र व्यवसायीसमेत आउँछन् । यो विषय अध्ययन गरेका विद्यार्थी बहुअन्तर्राष्ट्रिय कम्पनीमा काम गर्न पनि सक्षम हुन्छन् । 

एमबीएम 
दुईवर्षे सेमेस्टरमा आधारित कार्यक्रम हो एमबीएम । यो कार्यक्रमले देशलाई चाहिने अति विशिष्ट किसिमका जनशक्ति तयार गर्छ । यस कार्यक्रममा व्यवस्थापनका उदाउँदा विषयवस्तुको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । एमबीएम अध्ययन गरेका विद्यार्थीले राष्ट्रको प्राथमिकतामा रहेका क्षेत्रहरूमा अनुसन्धान गर्छन् । यो कार्यक्रम त्रिवि र सुदूपश्चिमाञ्चल विश्वविद्यालयमा छ । एमबीएम अध्ययन गर्न तीन लाखदेखि साढे तीन लाख रुपैयाँ भए पुग्छ । 

एमएचएच 
बीएचएम र ब्याचलर अफ ट्राभल एन्ड टुरिजम अध्ययन गरेकाले विशेष गरी यो कार्यक्रम अध्ययन गर्छन् । अन्य संकाय अध्ययन गरेकाले पनि पढ्न पाउँछन् । तर, होटल र पर्यटन क्षेत्रमा काम गरेको अनुभव हुनुपर्छ । यो पढ्नुको उद्देश्य अरूको कम्पनीमा जागिर खाइओस् भन्ने होइन । स्नातकोत्तर सकाएर कुनै कम्पनीमा जागिर खाइरहेको छ भने माथिल्लो पदमा पुगोस् र आफ्नै कम्पनीको पनि राम्रोसँग प्रवद्र्धन गरोस् भन्ने हो ।


“पढ्दापढ्दै व्यवसाय थालेँ” 
 - सौरव बस्नेत, सञ्चालक, हुप्पी ल्यान्ड 

मेरो घर कीर्तिपुर–१३ चोभारमा पर्छ । चार वर्षअघि अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक सकाएर नेपाल फर्किएको हुँ । अमेरिकामै स्नातकोत्तर गर्ने तयारीमा थिएँ । स्वदेशमा साथीहरूले व्यापार गरिरहेको देखेँ । मैले पनि स्वदेशमै व्यवसाय गर्ने सोच बनाएँ । बुबा जगत बस्नेतको एचटुओ कम्पनीको मिनिरल वाटर कम्पनी चलिरहेकै थियो । फरक व्यापार गर्ने र व्यवसायमा सहयोग पुग्ने गरी एमबीए अध्ययन गर्न परिवारसँग सल्लाह गरें । 
पोखरा विश्वविद्यालयअन्तर्गतको कलेजबाट एमबीए गरें । एमबीए अध्ययन गरिरहँदा बिजनेस प्लान बनाएँ । अनि परिवारका र थप लगानीकर्ता खोजेर चोभारमा हुप्पी ल्यान्ड फन पार्क खोलेँ । जहाँ पानीसम्बन्धी विभिन्न गेम खेलाइन्छन् । एमबीए सकिएपछि स्वदेशमै केही गर्छु भन्ने सोचेको थिएँ । पढाइ नसक्दै आँट बढ्यो । पढ्दापढ्दै परिवार र अरू साथी मिलेर यो व्यवसाय सुरु गर्‍यौं । एमबीए पढ्ने साथी स्वदेशमै सफल व्यवसायी बनेको नदेखेको भए अहिले अमेरिकामा पढिरहेका हुन्थेँ । 
हुप्पी ल्यान्डमा उनका बुबा, दाइको लगानी छ । अरू लगानीकर्ता मिङमा शेर्पा, सुनीता सिलवाल, अनुप वज्राचार्य र लक्ष्मी बस्नेत छन् । यसमध्ये शेर्पाले एमबीए सकाइसकेका छन् र सिलवाल एमबीए अध्ययनरत छन् । एमबीए अध्ययनले कम्पनी सुरु गर्नुअघिदेखि सञ्चालन भएपछिसम्मको योजना बनाउन सहयोग पुगेको छ । व्यवस्थापनको सिद्धान्तलाई आफैं बिजनेस सुरु गरेर एप्लाई गरिरहेको छु । व्यवस्थापनको पढाइले कम्पनीको रणनीति बनाउनेदेखि गलत बाटोमा जान रोकेको छ । स्नातक पढ्दाको प्राविधिक र स्नातकोत्तरमा व्यवस्थापन ज्ञानले व्यवसायलाई सफल बनाउन सहयोग पुग्ने ठाउँमा छु । 
कम्पनी सुरु गर्नुअघि नै कति लगानी आवश्यक पर्छ, बजारको आवश्यकता के हो, उपभोक्ता के चाहन्छ, आफ्नो प्रतिस्पर्धी को हुन्, कति मूल्य राख्नेलगायतको अध्ययन गर्न एमबीएले सिकायो । स्वदेश र अन्तर्राष्ट्रिय कम्पनीको सफलताको कथा अध्ययनको क्रममा सिकेँ । त्यस्ता कम्पनीमा कस्ता समस्या आइपर्छन्, कसरी समाधान गर्ने भन्ने पनि सिकेँ । 
फन पार्कमा उपभोक्ताले चाहेको सम्पूर्ण पक्षलाई समेटेको छ । काठमाडौं उपत्यकाका सर्वसाधारणलाई रमाइलो गर्ने ठाउँको अभाव थियो । ६० रोपनी क्षेत्रफलमा २५ करोड लगानी छ । विश्वका चलेका राम्रा उपकरण जडान गरेर रमाइलो दिइरहेका छौं । एमबीए नगरेको व्यक्तिसँग आइडिया भए पनि त्यसलाई सही तरिकाले प्रयोग गरेर सफल हुन भने व्यवस्थापनको ज्ञान हुनु जरुरी छ । 
फन पार्कमा गर्मीमा मात्रै उपभोक्ता आउँछन् । त्यसैले १२ महिना पार्क सञ्चालन गर्न आवश्यक पर्ने मनोरञ्जनका सामान ल्याउने योजनासमेत बनाइसकेका छौं । 
(कुराकानीमा आधारित)

बजार प्रवद्र्धनका उपाय

उत्पादन गरेर मात्रै हुँदैन । ती उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउनु पनि चुनौतीपूर्ण छ । आफ्नो उत्पादनअनुसारको उपयुक्त विधि छनोट गर्नु आवश्यक हुन्छ । प्रतिस्पर्धीको जानकारी, बजारको सम्भाव्यता र ग्राहकको चाहना हेरेर नै व्यवसाय गरिएको हुन्छ । आफ्नो योजनामा भएको विषयलाई प्रभावकारी रूपमा पस्केर ग्राहक आकर्षित गर्न बजारीकरणको मुख्य भूमिका हुन्छ । यसका लागि यी केही उपाय अवलम्बन गर्न सकिन्छ ।

  • कुनै उत्पादनको आधिकारिक मितिअगाडि नै केही जानकारी बाहिर ल्याउनुपर्छ । यसले नयाँ उत्पादनका बारेमा समाचारहरू आउन थाल्नेछन् । जसले सुधार गर्न सकिने अवस्था रहन्छ भने विज्ञापन भइरहन्छ । तर अरूले नक्कल गर्न सक्ने सम्भावना नरहने गरी आधिकारिक मितिभन्दा केहि अघिमात्रै यो काम गर्न सकिन्छ । आफ्ना प्रतिस्पर्धीका गतिविधिका बारेमा जानकारी राख्नुस् ।
  • समाज र बजारमा प्रभाव पार्ने व्यक्तिहरूलाई आफ्नो उत्पादन उपलब्ध गराउने वा त्यसका बारेमा जानकारी दिनुपर्छ । त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सहज हुन्छ ।
  • सार्वजनिक गर्दा पनि धेरै तामझामले सधैं काम नगर्न सक्छ । त्यसतर्फ सचेत रहनुपर्छ । प्रभावकारी र सर्वसाधारणसम्म धेरै पहुँच भएको सञ्चारमाध्यम तपाईंको छनोट हुन सक्छ । आफ्नो बजार र सम्भावित ग्राहकको पहिचान पहिले नै भएको छ भने कम खर्चमा प्रभावकारी रूपमा सार्वजनिक गर्न सकिन्छ ।
  • सार्वजनिक गर्दा केही विशेष र पृथक् आयोजना गर्नुपर्छ । वस्तुसँगै त्यसको सार्वजनिकीकरण पनि नवीन हुन सके पत्रिकाहरूमा स्थान पाउन सजिलो हुन्छ ।
  • सामाजिक सञ्जालको प्रयोगले पनि बजार विस्तारमा सहयोग पुग्छ । यी माध्यमबाट ग्राहकसँग नजिकिन सहयोग पुग्नेछ । 
  • आफ्नो उद्योगमा लगानीकर्ताहरूलाई सार्वजनिकीकरणमा समावेश गराउनुपर्छ । यसले मनमुटाव कम हुनुका साथै प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

प्रकाशित : फाल्गुन ६, २०७३ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?