वैदेशिक रोजगारमा सावधानी

चालु आर्थिक वर्षको सुरुका महिनामा रेमिट्यान्स आप्रवाह अपेक्षाअनुरूप आएन । यसको असर सबैतिर पर्‍यो । आक्रामक कर्जा विस्तार गरेका बैंकहरू अपेक्षाकृत रेमिट्यान्स नआउँदा अत्तालिए । मुलुकको व्यापार घाटा दैनिक २ अर्ब रुपैयाँ हाराहारी छ ।

निर्यातभन्दा आठ गुणा बढी आयात भएको मुलुकमा रेमिट्यान्स नभइदिएको भए मुलुक टाट पल्टिसक्थ्यो । रेमिट्यान्समा रोजगारीका लागि मध्यपूर्व र मलेसिया जानेहरूको सबैभन्दा बढी योगदान छ । तर मुलुक बाहिर गएर कमाउनु त्यति सजिलो छैन । परिवार छोडेर जानेहरूलाई पाइला–पाइलामा जोखिम छ । केही सावधानी अपनाए सजिलो हुनेछ । 

विदेश जानुअघि ध्यान दिऔं

  • केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका बारेमा, पाउने तलबका बारेमा राम्ररी जानी बुझी मात्र जानुपर्छ ।
  • लाग्ने खर्च, प्राप्त हुने आम्दानीका बारेमा तुलना गरी लाभ हुने काममा मात्र जानुपर्छ ।
  • वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्छ ।
  • वैदेशिक रोजगारमा जाँदा अनिवार्य विमा गर्नुपर्छ । 
  • वैदेशिक रोजगारमा जाँदा विश्वासिलो र भरपर्दो म्यानपावर कम्पनीमार्फत जानुपर्छ । व्यावसायिक वा भिजिट भिसामा जानु हुँदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।
  • वैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनुपर्छ । कति खर्च लाग्छ राम्ररी बुझ्नुपर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगी कै नियत भएको बुझ्नुपर्छ ।
  • स्वदेशी विमानस्थलवाट मात्र जानुपर्छ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।
  • आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहनसहन, धर्म, कानुन, काम गर्ने वातावरण आदिबारेमा सामान्य जानकारी लिनुपर्छ । यसका लागि प्रस्थानपूर्व अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्छ ।
  • वैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरूको एक–एक प्रति आफू र परिवारको साथमा राख्नुपर्छ ।
  • वैदेशिक रोजगारको क्रममा ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।
  • आम सञ्चार माध्यमले प्रकाशन गरेको वैदेशिक रोजगारको सूचना र विज्ञापन सही भए नभएको बुझ्नुपर्छ । गलत विज्ञापन गरी पैसा उठाई ठगी गर्न सक्छन् ।
  • सरकारले निषेध गरेको देशमा र काममा जानु हुँदैन ।

विदेश पुगेपछि पनि सचेत रहौं

  • काम गर्न जाने मुलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैरआवासीय नेपाली एवं नेपाली संघसंस्था आदिको सम्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नुपर्छ । साथै परिवार र यी निकायसंग नियमित सम्पर्कमा रहनुपर्छ । 
  • काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुँदैन । कतिपय देशमा यस्तो गरेमा गैरकानुनी भइन्छ, जेल सजाय पनि हुन सक्छ ।
  • करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन: बिमा गराई श्रम स्वीकृति लिएर जानुपर्छ, अन्यथा दुर्घटना पर्दा बिमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन ।
  • सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ । आफूखुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
  • कोठामा बस्दा वा सुत्दा एसीको सही किसिमबाट प्रयोग गर्नुपर्छ । थाहा नभएको कामकुरा सिकेर जानेर मात्र गर्नुपर्छ ।
  • कमाएको पैसाको फजुल खर्च गर्नु हुँदैन, बचाएको पैसा बैंकिङ च्यानलबाट पठाउनुपर्छ, व्यक्तिगत तबरबाट र हुन्डीबाट पठाउँदा रकम डुब्ने जोखिम (खतरा) हुन्छ ।
  • आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमताभन्दा बढी ओभरटाइम काम गर्नु हुँदैन ।
  • खासगरी खाडी मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तीजन्य पदार्थ, मदिरा लैजान र सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिबन्ध छ । यस्ता सामान लुकाई लगेमा, बिक्री गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थजस्ता कुलतमा लाग्नु हुँदैन ।
  • सम्बन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नुपर्छ, अरूको धर्म संस्कृतिको सम्मान गर्नुपर्छ । अनावश्यक झैझगडा र अरूको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
  • सम्बन्धित देशको ट्राफिक नियम बुझेर पालना गर्नुपर्छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?