२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अमानवीय अपराधमा सजाय कमी

पछिल्ला वर्षहरूमा एसिड अर्थात तेजाब छर्केर अपराध गर्नेहरू बढ्दो छ । पहिला विशेषगरी तराई क्षेत्रमा विवाहित महिलाले भनेजस्तो दाइलो नल्याएको वा नपाएको झोँकमा यस्ता घटना सुनिन्थ्यो ।

त्यो बाहेक छिटफुट मनपरेको केटीले विवाह गर्न राजी नहुँदा पनि आक्कल—झुक्कल सुनिए । राजधानी सहरमै पनि केही वर्ष पहिले स्कुले किशोरीलाई यसरी नै प्रेम प्रस्ताव अस्वीकारसँगै दलित भनेर होच्याएको प्रतिशोधमा एसिड छरेर छेउमा साथै बसेका अर्का साथीलाई समेत पर्नगएको थियो । एक समय बढीजसो सार्वजनिक सवारी चालकले पैदल यात्रु वा जोकसैलाई सडकमा किच्दा नमरेको अवस्थामा पनि गाडी ‘ब्याक’ गरेर मारेका धेरै घटना सुनियो । अंगभंग भए जिन्दगीभर पाल्नुपर्ने, मारेमा सामान्य खर्च वा क्षतिपूर्ति रकम दिँदा उन्मुक्ति पाउँथे । अहिले बिमाले रकम परिपूर्तिसँगै चालकलाई समेत गम्भीर लापरबाहीमा कडा सजाय हुने भएकोले कमी आयो । त्यसरी नै अपहरण र फिरौतीका खबर बेलाबखत आउँथे । हुन त यो कर्ममा माननीयका पगरी गँुथेका कानुन बनाउने सांसदसमेत सप्रमाण मुछिएर सजाय पाएको अवस्था छ । त्यसरी नै ठाउँ—ठाउँमा बलात्कार गरी बालिकादेखि वृद्धासम्मको हत्या भएका समाचार आउँछन् । यी सबैको प्रमुख कारण भनेको हाम्रो फितलो कानुनले गर्दा हो ।
समयानुकूल सजायको दफालाई फेर्न जरुरी छ । मैले नबुझेको हो वा कानुनी शब्द नै उस्तै हुन् । जन्मकैद भनेका हुन्छन्, २० वर्षमा छुट्छन्, मान्छे मारेकालाई ‘केस’ हेरेर १०—२० वर्ष सजाय तोक्छन्, आधा वा चौथाइ कैद भुक्तान गरी छुटेको सुन्छु । जेलभित्र आचरण राम्रो भएमा नाइके, मूल नाइकेलाई जेलर, गृह मन्त्रलाय या मन्त्रिपरिषदले छुट सिफारिस गरी पहिला राजाको जन्मोत्सवमा अहिले राष्ट्रपतिले गर्नसक्ने पढेको थिएँ । हामीकहाँ छुटको नाममा सबैले यो छुट पाउने त होइन ? हुन त सर्वोच्च अदालतले सजाय तोकेका कतिपय मानिस लामो समयदेखि फरार भएको सुनिन्छ । पहुँचवालाले निस्फिक्री घुमफिर गरेको समाचार आउँछ । जे होस्, साँचो सज्जनका लगि भनेजसरी कानुन पनि अपराध नगर्न वा गर्नेलाई बढीभन्दा बढी सजाय दिनका लागि हुनुपर्छ । कम्तीमा यस्ता जघन्य अपराधीलाई सर्वस्वहरणसहित आजीवन काराबासको सजाय तोक्नुपर्छ ।
– श्रीकृष्ण राजवंशी
सिन्धुली 
०००
रूपन्देही, काठमाडौं र दाङमा गरी ३ वर्षमै ३ वटा एसिड आक्रमणका घटना भए । रूपन्देहीमा त तुलसा सापकोटाले ज्यानै गुमाउन पुगिन् । ३ वटै केशमा महिलामाथि प्रहार भएको छ र पनि कानुन बनाउने हाम्रा नीति निमार्ताको ध्यान कडा कानुन बनाउनेतिर गएको छैन । सर्वोच्च अदालतले आजभन्दा ७ वर्षअघि अर्थात २०६६ साउन २८ गते नै सरकारको नाममा एसिड लगायत जघन्य अपराधमा कारबाही गर्न छुट्टै कानुन बनाउन आदेश दिएको थियो । तथापि सरकारले आजसम्म पनि त्यो आदेशको पालन गरेको छैन । यसले गर्दा यस्ता जघन्य अपराधीहरूलाई उही मुलुकी ऐनको पुरानो कानुन ज्यानसम्बन्धी महलको १६ नं. मुताबिक मुद्दा चलाउँदा कम सजायमै छुट्ने गरेका छन् । उक्त महल बमोजिम कारबाही थाल्दा मानिस मरेमा बढीमा १० देखि १५ वर्ष र नमरेमा ५ देखि १२ वर्षमात्र सजाय तोकिएको छ । त्यो पनि आचरण सुधार गरेको भन्दै त्यसको आधा सजायमै मुक्त हुने परिपाटी छ । सजाय कम र फितलो हुँदा पनि एसिड आक्रमणजस्ता जघन्य अपराध बढिरहेको छ । तुलसा जस्ताले अनाहकमा ज्यान गुमाउन परिरहेको छ । कडा कानुनले मात्र अपराधीको मनमा डर पैदा गर्न सक्छ । साथै स्कुल तहमा पनि यी यस्ता काम गरेमा कडा सजाय हुन्छ है भन्ने सचेतना कार्यक्रम चलाउनुपर्छ । ताकि अर्को तुलसाहरूको ज्यान जान नपाओस् । यो मानवता विरुद्धको जघन्य अपराध हो । यसर्थ यस्तोमा जन्मकैदको व्यवस्था हुनुपर्छ ।
– गोपाल देवकोटा
चाबहिल, काठमाडौं
०००
‘बिहे गर्न नमान्दा प्रेमिकालाई एसिड’ समाचार पढेपछि केही लेख्न मन लाग्यो । प्रेमपीडाले गर्दा आत्महत्या, प्रेमी वा प्रेमिकाको हत्या वा प्रेमिकामाथि एसिड प्रहारका घटना नयाँ होइन । विभिन्न समयमा विभिन्न सञ्चार माध्यममा यस्ता घटनाहरू आइनै रहन्छन् । यसले के कुराको पुष्टि गर्छ भने मानिस प्रेमको प्राप्तिको नाममा वा प्रेम गर्ने नाममा मानसिक रूपमै यति विचलित र विक्षिप्त भैदिन्छ कि ऊ कसैको लागि प्रेमको पात्र हुँ भन्ने कुरा त के सामान्य मान्छे हुँ भन्ने कुरा नै बिर्सन्छ । मान्छे अचेत र पागल बन्छ । आफूले सोचेजस्तो प्रेम सम्बन्धमा सफल भएन भने उसको हृदयबाट प्रेममात्र होइन, मानवीय संवेदनशीलता समेत हराउँछ । परिणामस्वरूप एसिड प्रहारदेखि आत्महत्यासम्मको सिकार बन्न पुग्छ । यसैको नतिजा हो, यो घटना पनि ।
– कृष्णप्रसाद शर्मा
तुलसीपुर, दाङ 
०००
बिहे गर्न नमान्दा एसिड/तेजाब प्रहार गरी प्रेमिकाको हत्या गरिएको समाचारले मन नै स्तब्ध हुनपुग्यो । व्यक्तिले व्यक्तिलाई सिध्याउनपरेको खण्डमा हतियार प्रहार गरेर, विष खुवाएर सिध्याउने प्रपञ्च गर्ने गरेको त सुनिएकै हो । तर एसिड प्रहार गरी व्यक्तिको जीवन नै समाप्त पार्ने घटना बढ्दैछ । यसैले कुनै पनि व्यक्तिको व्यक्तिगत जीवन अरू कसैको लागि प्रतिशोध लिनुपरेको खण्डमा या ज्यानमाथि खेलवाड गर्न मनलागेकोमा एसिड प्रहार गरी तहसनहस तुल्याउने घटना बढ्दैछ । एक वर्षअघि पनि प्रवेशिका परीक्षा दिने तयारीमा रहेका केही युवतीहरू ट्युसन पढेर घर आउने क्रममा बाटैमा कुनै अपराधीको नजरबाट उम्किन नसकी एसिड प्रहारबाट अनुहार तसहनहस भएर विक्षिप्त हुनपुगेका थिए । चिकित्सकको अथक उपचारपछि अनुहार सामान्य अवस्थामा फर्किन नसके पनि यसको दागले जीवनभरिलाई पुग्नेगरी विरूप पारेको अवस्था सबैले थाहा पाएकै घटना हो । यो घातक रसायन एसिड भन्ने पदार्थ यति घातक हुँदोरहेछ कि त्यो रसायन शरीरमा प्रवेश गरेपछि यसले छालालाई डढाउने, पोल्ने र छालाको आकार—प्रकार नै विक्षिप्त तुल्याउने गर्दाेरहेछ । एक पटक एसिड छालामा परेपछि त्यो छालाको रङ्गलाई डढाएर प्वालै—प्वाल पार्दाेरहेछ र छालाको रूपलाई बिगारेर तहसनहस पारी वरिपरिको भागमा दागैदाग बस्दोरहेछ । त्यसैले चिकित्सकको सिफारिसबिना या सम्बन्धित कामको प्रयोजनका लागिबाहेक अरू अवस्थामा यस्तो पदार्थ जहाँतहीँ बेचबिखन गर्न नपाइनेगरी राज्यले पूर्ण—पमा प्रतिबन्ध लगाउनु आवश्यक छ । एसिड प्रहार गर्नेलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नु जरुरी भइसकेको छ ।
– बोधनाथ पौडेल
नयाँबानेश्वर, काठमाडौं
०००
आइतबार राति बुटवलको एक रेस्टुरेन्टमा गैंडाकोटकी युवती तुलसा सापकोटामाथि धादिङका युवकले एसिड प्रहार गरी वीभत्स मृत्यु भएको घटनाले अत्यन्त दु:खित बनायो । आफ्नो चाहना पूरा नहुने भएपछि कतिसम्मको कठोरता पुरुषले देखाउँछ भन्ने कुरालाई यो घटनाले पुष्टि गर्छ । सुगम भनिएको ठाउँका नारीहरूले त यस्तो ज्यादती सहनुपर्ने बाध्यता छ भने दुर्गममा भएकाहरूको अवस्था कस्तो होला, आफैं विश्लेषण गर्न सकिन्छ । पश्चिम क्षेत्रका महिलाहरू ४० वर्ष बाँच्नुलाई धेरै बाँचेको संज्ञा किन दिन्छन्, विश्लेषण हुन जरुरी छ । बुटवल घटनालाई पुरुषप्रधान समाजको अवशेषका रूपमा लिन सकिन्छ । नेपाली समाज क्रमश: रूपान्तरणको संक्रमणबाट उन्मुक्त भैसकेको छैन । महिला हिंसा समाजमा अझै व्याप्त छ । आरक्षण वा सीमित सुविधाको प्रबन्धले होइन, मनभित्रैबाट नारीलाई सम्मान गर्ने वातावरणको सिर्जना हुनसकोस् । नारी माथिको हिंसा गराउनेहरूलाई हदैसम्मको कारबाही हुनसकोस् । देशले काँचुली फेरेको आभाष दिने अनि महिला र बालबालिका माथिको हिंसा नरोकिने हो भने साँच्चै हामीले आत्मसमीक्षा गर्नैपर्ने हुन्छ । कुरा एसिड खन्याउने धादिङका सुनिल कोइरालाको मात्र होइन । कोइराला प्रवृत्ति र त्यसको अन्त्यको लागि कडा सजायको व्यवस्था हुनुपर्छ । केही वर्षपछि सीमित धरौटीमा उन्मुक्ति दिने प्रावधानले पनि यस्ता हिंसाको शृङखला बढ्दै गएको आभाष गर्न सकिन्छ ।
– गोविन्द रिमाल
गैंडाकोट–५, नवलपरासी

 निर्वाचन नगर्ने षड्यन्त्र
भोजपुरीमा एउटा भनाइ छ, ‘चोर—चोर मौसेरा भाइ’ । यतिखेर नेपाली राजनीतिमा यस्तै पारा देखिएको छ । सबै नेताको सोच एउटै दिशामा हिँडेको हुनाले निर्वाचन तुहाउने षडयन्त्र भइरहेको छ । जेठ १० गते निर्वाचनको मिति तोक्ने सहकार्य भइरहेको अवस्थामा फेरि संसद्को ढोका फागुन १० गतेसम्म नखुल्ने निर्णयले सबैको मिलिभगत देखिएको छ । ‘चोर—चोर मौसेरा भाइ’को रणनीति अपनाएजस्तो बुझिन्छ । नेताहरूले भाषण गर्दा एकअर्कालाई आरोप लगाउँछन्, तर हामी जनता उनीहरूको भाषणमै रमाउन खोज्छौं । नेपाली कांग्रेसका नेताहरूको भाषण सुनेर ताली बजाउँछौं, माओवादी नेताहरूको भाषण सुनी आफ्नो जीउमा रक्तसञ्चार बढेको महसुस गर्छौं, एमाले नेताहरूको भाषण सुनी मख्ख पर्छौं । कहिलेसम्म हामी यस्तो खोक्रो भाषण सुनी मुर्ख बनिबस्ने ? जनताले विभिन्न कालखण्ड पार गर्दै विभिन्न तन्त्रलाई आत्मस्वीकारोक्ति दिँदै आएका छौं । बल्ल—बल्ल संविधान निर्माण भयो, तर संविधान कार्यान्वयन नहुँदा नेपाली राजनीतिको मोड कतातिर लम्केको छ, कसैले बुझ्नसकेको छैन । सबै दल निर्वाचन चाहँदैन । त्यसैले सहमति पनि हुनसक्दैन । त्यसकारण जनताले राजनीतिक दलहरूलाई निर्वाचन लगायत संविधान कार्यान्वयनका लागि दबाब दिनुपर्छ । यसका लागि जनता एकढिक्का हुनुपर्छ । 
– प्रमोद पौडेल
श्रीपुर–१४, वीरगन्ज

 विकृत राजनीतिको फल
संग्लिन लाग्यो वाग्मती र विष्णुमती बरु, तर मेरो देशको राजनीति संग्लिने सुरसारै छैन । देश बदल्न हिँडेका नेताहरू आफै बदलिए । उनीहरूले भेष बदले, वर्ग बदले, सङ्गत बदले, बसाइ बदले, चप्पल बदले, महल र पजेरो बदले, विडम्बना सुसंस्कार र सोच कहिल्यै बदल्न चाहेनन् । राजनीतिलाई व्यवसायीकरण गरियो यहाँ, कथित जनवाद सकियो, धनवाद मौलायो । समयले नेटो काट्दैछ, पञ्चायत, बहुदल हुँदै लोकतान्त्रिक व्यवस्थासम्म आउँदा राजनीतिले धेरै कोल्टे फेर्‍यो । भिड थुप्रियो, मात्रा बढ्यो । गुण, चरित्र हराउँदै गयो । राजनीतिक मन भड्कियो, विचार धमिलियो, खालि सोच सत्ता र शक्तिमा अर्जुनदृष्टि गयो । राजनीतिज्ञमा स्वाभिमान, निष्ठा, राष्ट्रिय स्वार्थ, नैतिकता हरायो । फलस्वरूप अधिकांश ऊर्जाशील युवा युगले थुपारेको फोहोरी, विकृत राजनीतिलाई जित्न नसकेर खाडीमा ज्यादै न्युन मूल्यमा पसिनासँग श्रम बेच्न विवश पारिएका छन् । सरोकारवालाहरू विप्रेषणमा पौडी खेल्दै उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भरताका कुरा छाँट्दै तारेहोटलमा गफिन्छन् । व्यवहारमा लागु गर्नेतर्फ पहलकदमी रत्तिभर गर्दैनन् । यति हुँदाहुँदै पनि नकारात्मक दृष्टिले मात्रै पनि नहेरांै । अँध्यारोपछि उज्यालो अवश्य आउँछ, प्रतिकूलतापछि आउने अनुकूलता नै हो । बाढीले खोलानाला धमिल्याउँछ, आखिर बग्दै दुबै किनारमा ठोक्किँदै जाँंदा समुद्रमा पुग्दा नदी पनि सफा हुन्छ । त्यसैले समयको प्रवाहसँगै राजनीतिक वातावरण चाँडै संग्लिनेछ, सबैले दम्भ र हठ छाड्नेछन् र देशलाई निर्वाचनतर्फ अघि बढाउन पहल गर्नेछन् ।
– अर्जुन पराजुली
हर्मी–७, गोरखा

 जनताका कुरा पनि सुन्ने कि ?
माघ २५ गते प्रकाशित ‘ठूलाबडाको भाषा’ लेख सान्दर्भिक र यथार्थ लाग्यो । कम्तीमा मुख्य नेताहरूमा राजनेतामा हुनुपर्ने गुण हुनुपर्ने हो । तर अधिकांश नेतामा यस्तो गुण पाइँदैन । जनकराज सापकोटाले भनेजस्तै हाम्रा ठूला नेताहरूले सार्वजनिक सभा—समारोहमा बोल्ने भाषा, शैली र प्रस्तुतिमा शालीनता, सौम्यता र बौद्धिक आकर्षण छैन । सार्वजनिक भाषण जनतामा उत्तेजना बढाउने, भ्रम फैलाउने र आवेगपूर्ण हुन्छन् । के ठूला नेताहरूको यस्तो प्रवृत्तिमा सुधार हुनुपर्दैन ? के उनीहरूको लामो राजनीतिक अनुभवले यस्ता कुरामा परिमार्जन ल्याउँदैन ? के आजको सभ्य समाजको यो आवश्यकता हैन ? उनीहरू हाम्रा अभिभावक पनि हुन् र हामीलाई यस्ता कुरामा चासो राख्ने अधिकार पनि छ । केही अध्ययनशील दोस्रो तहका भनिने नेताहरू भने यस्ता कुरामा केही सजग छन्, तर उनीहरूले उच्च तहको पालो पाएका छैनन् । लेखक सापकोटाले आंैल्याए जस्तो हाम्रो प्रशासनिक क्षेत्रका उच्च पदाधिकारीमा पनि निखार छैन । यो पनि राजनीतिक प्रभावको असर हो । सापकोटाले जोजसको नाम उल्लेख गरेर प्रस्तुत कुराहरूमा टिप्पणी गरेका छन्, ती त हालका ताजा पात्र मात्र हुन् । अधिकांश नेतामा यो प्रवृत्ति संस्कारजस्तै बनिसकेको छ ।
– रुद्रराज पोखरेल
भरतपुर उपनगरपालिका–७, चितवन

 हुलाकको बहुमुखी उपयोग
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले माघ २३ गते संसद्को बैठकमा विकास समितिले प्रस्तुत गरेको अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनमाथि छलफलको क्रममा आफ्नो मन्त्रालय अन्तर्गतको ‘हुलाकलाई सामुदायिक सूचना केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको’ बताएका छन् । यदि यस्तो हुनसके सराहनीय फड्को मानिनेछ । सञ्चारका नवीनतम प्रविधि, विशेषत: इन्टरनेट, इमेल, फेसबुक आदि माध्यमको प्रयोग हुनथालेपछि हुलाकबाट साधारण चिठीपत्र आदान–प्रदान गर्ने क्रम प्रशस्त घटेको छ । वैदेशिक पुलिन्दाको काम गर्ने वैदेशिक हुलाकबाहेक अन्य हुलाकको कामै छैन भनेजस्तो गरिन्छ । तर जानेबुझेमा हुलाकलाई बहुमुखी कार्यमा उपयोग गर्न सकिन्छ । हालै म अस्ट्रेलिया भ्रमणमा रहँंदा ‘अस्ट्रेलियन पोस्ट’ले नेपालको गोश्वारा हुलाकले गरेझैं पोस्ट बक्स, मनी अर्डरजस्ता परम्परागत कार्यका अतिरिक्त अन्य विविध बहुमुखी सेवामूलक काम गरिरहेको देखेंँ । सहरी क्षेत्रका ठूला बजार आसपास हुलाकले आफ्नै पसल सञ्चालन गरी मसलन्द, कार्यालय सामान, उपहारका सामग्री, मोबाइल फोन, मोबाइल रिचार्ज कार्ड, पेन ड्राइभ, यात्राका लागि आवश्यक वस्तु सरल मूल्यमा बिक्री गर्ने गरेका छन् । साथै विदेशी मुद्रा सटही गर्ने, राहदानीको लागि आवश्यक फोटो तत्काल खिचिदिने र राहदानी फारम भरिदिने पनि गर्छन् । हुलाक मार्फत आदेश गरेर मोबाइल खरिद गर्दा घर—ठेगानामा भोलिपल्टै आइपुग्छ । यसैगरी हुलाकबाट पठाइएका अन्य पार्सलहरू पनि समयमै सुरक्षित प्राप्त हुन्छन् ।
यस्तै केही वर्षअघि बेलायतको लन्डन सहरमा रहंँदा अर्काे सहरका मेरा मित्रले हुलाकद्वारा पठाएको लुगाको पार्सल ज्यादै छिटो र दुरुस्त अवस्थामा पाउनसकेको थिएँ । अमेरिकाको शिकागो पुग्दा अर्काे सहरमा बस्ने नेपालीलाई नेपालबाट लगिदिएको सुपारी, तितौरा, मस्यौरा र किताबहरू स्वयंले पुर्‍याउन जान नसक्दा हुलाकबाट पार्सल गरिदिएकोमा समयमै ठिक स्थितिमा पुगेको थियो । यस प्रकार अन्य विकसित राष्ट्रहरूले हुलाकलाई विभिन्न प्रयोजनमा सुरक्षित, भरपर्दाे र विश्वसनीय तवरमा उपयोग गरिरहेका दृष्टान्तबाट हाम्रा नीति निर्माताले पाठ सिकी उपयुक्त पाइला चाल्ने हो कि ?
– विदुर केसी
स्युचाटार, काठमाडौं

 अवैध सम्बन्धको परिणाम
लोग्ने विदेशमा रहेको बेला पर—पुरुषगमन र भाइसँग अवैध संसर्गबाट जन्मेका शिशुहरूको हत्याका दोषी महिला सम्बन्धी प्रकाशित समाचारले ध्यानाकर्षण गरेको छ । सल्यान र तनहुँमा घटित दुइटा घटनामा बाबुलाई उन्मुक्ति दिइएको र आमालाई सजाय दिइएको भनी समाचार आएको छ । उक्त घटनाले अपराधीको शून्य मानवीय संवेदनालाई दर्शाउँछ । आपसी सहमतिमा, अवैध सम्बन्ध कायम गरी आफैले जन्माएको शिशुको यति क्रूर ढंगले हत्या गर्नु जघन्य अपराध हो । अपराध गर्नेले नै सजायको भागी हुनुपर्छ । अवैध सम्बन्ध नभई जबर्जस्ती करणीबाट बालकको जन्म भएको खण्डमा बलात्कारी बाबुलाई सजाय हुनुपर्ने हो । उल्लेखित घटनाहरू विषम परिस्थितिमा सिर्जित भएका हुन सक्छन् । सामाजिक सचेतनामा अभिवृद्धिका साथै घटना र परिस्थितिको विवेचना गरी पुरुषलाई पनि सामाजिक रूपमा जिम्मेवार बनाउने हो भने यस्ता अपराधमा निश्चित रूपमा कमी आउनेछ ।
– महेन्द्रसिंह बम
टीकापुर–९, कैलाली

प्रकाशित : माघ २६, २०७३ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?